कास्की-१ मा २१ उम्मेदवार : एकजनाले लिए उम्मेदवारी फिर्ता
पोखरा : कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि १४ मंसिरमा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये १ जनाले मनोनयन फिर्ता लिएका छन्। २५ जनाले उम्मेदवारी दर्ता गराएकामा अरु ३ जनाको खारेज भएको छ। स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले मनोनयन फिर्ता लिएका हुन्। अब चुनावी मैदानमा २१ उम्मेदवार हुनेछन्।
२१ मध्ये ११ जना दलीय र बाँकी स्वतन्त्र उम्मेदवार हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले ३ जनाको नाम समानुपातिक बन्द सूचीमा रहेको हुँदा खारेजीमा परेको जनाएको छ। कार्यालयले उम्मेदवारको अन्तिम नामावली आइतबार निकालेको छ। अन्तिम नामावली अनुसार दलका ११ र स्वतन्त्र १० उम्मेदवार भएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की विद्या भट्टराई, नेपाली कांग्रेसका खेमराज पौडेल, साझा पार्टीकी रजनी केसी, समाजवादी पार्टीका धर्मराज गुरुङ, राप्रपा नेपालका रोमबहादुर भण्डारी, राप्रपा संयुक्तकी गंगा मल्ल, नेकपा मालेका टेकनाथ भण्डारी, नेपाली कांग्रेस बिपीका चन्द्रबहादुर रानाभाट, मंगोल नेपाल अर्गनाइजेसनका रियाज गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना र देशभक्त समाजका वीरबहादुर विश्वकर्मा उम्मेदवार छन्।
विवेकशील नेपाली दलकी जमुना शर्माले स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गराएकी छन्। संघीय लोकतान्त्रिकका गजेन्द्र संवो लिम्बु, राष्ट्रिय नागरिक पार्टीका नवराज घले र मुक्ति आन्दोलन नेपाल पार्टीका जयवन्त विक्रम शाहको उम्मेदवारी दर्ता खारेज भएको हो।
संरक्षणको क्षेत्रमा काम गरेर हालै अवकास पाएका कमलजंग कुँवरलेसमेत स्वतन्त्र उम्मेदवारी दिएका छन्। उमानाथ गौतम, दीपक रेग्मी, नवराज बास्तोला, यज्ञप्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनीलबहादुर कोइराला, सुनील भुसाल स्वतन्त्र उम्मेदवार छन्।
गएको निर्वाचनमा विजयी रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते निधन भएको थियो। विद्यार्थी राजनीति गरेकी उनकै पत्नी विद्यालाई सत्तारुढ नेकपाले उम्मेदवार बनाएको हो। कांग्रेस नेता खेमराज पौडेल पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र र समकालीन हुन्।
राजनीतिमा इमान्दार छवि बनाएका उनलाई पार्टीले यसअघि कुनै पनि चुनावमा उम्मेदवार बन्ने मौका दिएको थिएन। उक्त निर्वाचन क्षेत्रमा २०७४ सालमा तत्कालीन एमाले उम्मेदवार रवीन्द्रले कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४२ मतान्तरले पराजित गरेका थिए। यो क्षेत्रमा अहिले ७१ हजार ८ सय ७१ मतदाता छन्। पछिल्लो समय झन्डै २ हजार मतदाता थपिएका हुन्।