मन्त्री फेर्न ‘सघन वार्ता’

मन्त्री फेर्न ‘सघन वार्ता’

काठमाडौं : मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेकपामा सघन छलफल सुरु भएको छ । भदौयता मन्त्री हेरफेरको चर्चा चल्दै आए पनि प्रधानमन्त्री केपी ओलीले ‘एक्सन’ लिएका थिएनन् । अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भने ‘गम्भीर छलफल’ भएको बालुवाटार स्रोतले बतायो ।

स्रोतका अनुसार कम्तीमा आठ मन्त्री फेर्ने तयारी छ । शिवमाया तुम्बाहाङ्फेलाई उपसभामुख पदबाट राजीनामा गराएर मन्त्री बनाउन दुवै अध्यक्ष एकमत देखिएका छन् । प्रधानमन्त्रीले प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू फेरबदलको संकेतसमेत गरेको स्रोत बताउँछ ।

सरकारलाई नयाँ शिराबाट जनअपेक्षाअनुसार अगाडि बढाउने आफ्नो चाहना प्रधानमन्त्री ओलीले सुनाएका थिए । सरकारलाई नयाँ गति दिन पनि मन्त्री हेरफेरको समय आएको र त्यसको तयारीमा आफू रहेको उनको भनाइ थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षसँग गृहमन्त्री रामबहादुर थापा पनि सहभागी थिए । उनीहरूबीच झन्डै तीन घण्टा छलफल भएको थियो ।

ओली ३ फागुन २०७४ मा प्रधानमन्त्री नियुक्त भएका थिए । ओलीले हेलिकप्टर दुर्घटनामा निधन भएका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको स्थानमा योगेश भट्टराईलाई नियुक्त गरे । तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङ विवादमा आएपछि उनको ठाउँमा भानुभक्त ढकाललाई ल्याइएको थियो । यसबाहेक ओलीले २१ महिनामा कुनै पनि मन्त्री हेरफेर गरेनन् ।

नेकपाले सोमबारका लागि सचिवालय बैठक बोलाएको छ । सचिवालय सदस्यलाई पार्टीको संगठनात्मक एकता मुख्य एजेन्डा रहेको जानकारी गराइएको छ । ‘मन्त्रिपरिषद् पुनर्गठनका विषयमा खासै जानकारी छैन । त्यो प्रधानमन्त्रीको स्वविवेकको कुरा हो’, प्रवक्ता नारायाणकाजी श्रेष्ठले अन्नपूर्णसँग भने, ‘सोमबार बिहान सचिवालय बैठक बोलाइएको छ । बैठकमा संगठनात्मक एकताको विषयलाई मुख्य एजेन्डा बनाइएको जानकारी हामीलाई गराइएको छ ।’

महासचिव विष्णु पौडेलले संगठनात्मक एकतालागायत समसामायिक राजनीतिक विषयमा पनि छलफल हुने बताए । उनले समसामायिक विषय के हुने भनेर थप खुलाएनन् ।

ओलीले नयाँ शिराबाट काम गर्न र मिर्गौला डायलासिस प्रक्रियापछि स्वस्थ अनि सक्रिय रहेको देखाउन चाहिरहेको जनाइएको छ । त्यसका लागि उनले बालुवाटारमै बसेर प्रदेश प्रमुखमा नयाँ नियुक्तिदेखि अन्य निर्णय लिँदै ‘फास्ट ट्र्याक’मा सरकारको काम अगाडि बढाउन लागेका छन् । मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालदेखि सचिवालयका सबै सदस्यलाई उनले राजीनामा दिन निर्देशनसमेत दिएका छन् ।

पार्टीमा छलफलपछि मात्रै कूटनीतिक पहल

भारतले मिचेको नेपाली भूमि फिर्ता सम्बन्धमा सरकारले गर्ने कूटनीतिक संवादका विषयमा पनि नेकपा सचिवालय बैठकमा छलफल हुने भएको छ । सचिवालयमा छलफलपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष कूटनीतिक पहल थाल्ने तयारी सरकारको छ ।

भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई पारेपछि नेपालमा त्यसको विरोध भइरहेको छ । सरकारले ती भूमि नेपालको भएको बताएको छ । प्रधानमन्त्री ओलीले यस विषयमा सरकारको धारणा बनाउन शनिबार सर्वपक्षीय बैठक बालुवाटारमा राखेका थिए । राष्ट्रिय एकतालाई आधार बनाएर भारतीय पक्षसँग वार्ता अगाडि बढाउने सरकारले बताएको थियो । कूटनीतिक माध्यमबाटै निकास निकाल्न विभिन्न दलका नेता, पूर्वप्रधानमन्त्रीदेखि विज्ञसम्मले सुझाव दिएका थिए । ‘सर्वपक्षीय बैठकमा आएका सुझावलाई ध्यान दिएर पार्टीमा छलफलपछि प्रधानमन्त्रीले कदम चाल्नुहुन्छ’, सचिवालयका एक सदस्यले भने, ‘यस विषयमा पार्टीमा पनि छलफल हुन लागेको छ ।’

आयोग गठनमा छलफल

नेकपाले संगठनात्मक एकताका विषयमा पनि सचिवालय बैठकमा छलफल गर्दै छ । नेकपाले पार्टीका केन्द्रीय आयोगहरू गठन गर्न सकेको छैन । विधानमा अनुशासन, निर्वाचन र लेखा आयोग गठनको व्यवस्था छ । केन्द्रीय विभागहरू गठन गरिए पनि अझै पूर्णता पाएका छैनन् । पोलिटब्युरोसमेत गठन हुन सकेको छैन । आयोग गठनको विषयले प्राथमिकता पाउने नेताहरूको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.