भारतीय नक्सामा नेपाली भूमि : महावाणिज्य दुतावास घेराउ
वीरगन्ज : नेपाली भूमि भारतले आफ्नो नक्सामा राखेको भन्दै वीरगन्जमा आइतबार छुट्टा-छुटटै संगठनले विरोध प्रदर्शन गरेका छन्। नेकपा निकटको विधार्थी संगठन अनेरास्ववियु र देश बनाउन संघर्ष समितिले भारतको विरोधमा प्रदर्शन गरेको हो। उनीहरूले वीरगन्जमा रहेको भारतीय महावाणिज्य दुतावास घेराउ गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर जलाएका छन्। दुतावासकै मुल प्रवेशद्वारमा धर्ना दिएका युवाले मोदीको विरोध गर्दै तस्वीर पनि जलाए।
उनीहरूले ‘गो ब्याक इण्डिया, भारतीय विस्तारवाद मुर्दावाद, कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रै हो, नेपाली सीमा मिच्न पाइँदैन, छिमेकीले नेपाललाई हेप्न पाइदैन, मिचिएको भूमि फिर्ता गर’ लगायतका नारा लगाएका थिए। दुतावास घेराउका क्रममा प्रदशकारीमाथि प्रहरीले हस्तक्षेप गरेको थियो। अनेरास्ववियुका नेता हेमन्त तमाङले रोटी-बेटीको सम्बन्धको बाहनामा भारतले नेपालमाथि गिद्धेनजर राखेर हेप्दै आएको बताए।
उनले भने, ‘नेपाल र भारतबिच रोटी-बेटीको सम्बन्ध छ यो हामी पनि मान्छौ, तर यहि बाहनामा हामीले हाम्रो भूमि गुम्न दिँदैनौं।’ सत्तारुढ नेकपाका युवा नेता उमेश गुप्ताले मिभिएको भूमि फिर्ता गराउन संघीय सरकारले प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाए। यस्तै, देश बनाउन संघर्ष समितिको अगुवाइ गरेका युवा नेता महमुद अन्सारीले नेपालको सार्वभौमसत्ता र राष्ट्रियतामाथि धावा बोल्ने छिमेकी मुलुकको हेपाहा प्रवृति नेपाली युवाहरूलाई सह्य नभएको बताए।