बालकथा : फुर्लुङ

बालकथा : फुर्लुङ

इच्छाकामना गाउँपालिका चितवन जिल्लाकै अप्ठ्यारो भूगोलमा पर्छ। तल फराकिलो बेंसी माथि चुचुराको काउले गाउँ छ। त्यही गाउँबाट एक घण्टा ओरालो झरेर आएका रत्नबहादुर चेपाङ रातापिरा देखिँदैनन्।

जीवनको उकालो चढ्दै गरेका रत्नसँग रिमाले सोधिन्, ‘ए दाइ ! त्यो कम्मरमा के भिर्नुभा हँ ? ’ उनी दंग परेर हत्केलाले परेला छेक्दै यताउता हेरे।

नजिकै उभिएकी रिमालाई छाडेर पर पर आँखा डुलाएका रत्नले अन्तिममा लगेर आफ्ना आँखा छेउमै उभिएकी रिमामा बिसाए। रिमाले पनि दोहोर्‍याइन्, ‘म यही नजिकै छु, किन पर पर हेर्नुभा नि।’ रत्न दाइ मुसुक्क हाँस्दै भने, ‘मलाई त आवाज अलिक परबाट आए जस्तो लाग्यो। त्यही भएर को रहेछ भनेर हेरेको।’ उनले छोटो उत्तर दिए।

रिमाले भनिन्, ‘मलाई तपाईंले कम्मरमा भिरेको के हो ? जान्न मन लायो।’ उनी कल्सौदो अनुहार भित्रबाट सेता दाँत देखाउँदै अलिकति मुस्कुराए। उनले हातले कम्मर छामे। अघिदेखि झुन्डिएको चोयाको भाँडोमा हात राखे। असजिलो माने कि कुन्नि ! बोलेनन्। रिमाले साथी निकेसको अनुहार हेरिन्।

निकेस उभिएको ठाउँबाट अघि बढेर रत्नबहादुरको नजिक पुगे। उनले भने, ‘किन दाइ ! यसको नाम के हो भनेको बताउनु भएन नि !’ यसपालि भने रत्न दाइलाई नबोली हुन्न भन्ने लाग्यो। उनले भने, ‘ए, यो चोयाको भाँडो ? ’ उनी प्रतिप्रश्नतिर लागे। तर निकेसले छाडेनन्। उनले भने, ‘हो दाइ, यो तपाईंले कम्मरमा भिरेको के हो ? यसलाई के भनिन्छ, किन भिर्नु भएको, के छ यसमा ? ’ यसपालि रत्नबहादुर सामु झन् धेरै प्रश्न तेर्सिए। उनी फेरि अकमकाए।

रिमाले असजिलो मानेकी भन्ठानेर रत्नबहादुरलाई खोलाको ढुंगामा बसौं दाइ भनिन्। उनी हिँड्न खोजे। ‘यी कहाँबाट आएका केटाकेटी मलाई किन अल्मलमा पार्दै छन् ? ’ उनले मनमनै भने। उनले आफ्नै मनले अर्काे तर्क गरे, ‘कतै यिनीहरूले मलाई खोलामा माछा नमार भन्न त खोजेका होइनन्।’ रत्नबहादुर बोल्न चाहेनन्। उता रिमा भने प्रश्न सोधेको सोध्यै गर्छिन्, छाड्दै छाड्दिनन्।

केही सिप नलागेपछि रत्नबहादुरले मन बलियो पारे र मनमनै भने, ‘जे त होला हाम्रै गाउँघरको खोला हो। फेरि बाउबाजेका पालादेखि हामीले यही खोलामा माछा गँगटा छोप्दै आएका छौं। म किन डराउने ? ’ चेपाङ पछाडि परेको जाति हो भनेर केही सहयोग गरौं भन्ने विचारले पो उनीहरूले जान्न खोजेका हुन् कि भन्ने उनलाई लाग्यो। उनले तर्कहरू गरेर मनलाई सकारात्मक बनाए।

रिमाले फेरि ‘बसौं न दाइ’ भनेर ढुंगो देखाइन्। निकेस अलिक पर थिए। रत्न ढुंगामा बसे। रिमा नजिक गइन्। उनले ढडिया समाउँदै भनिन्, ‘त्यो कम्मरमा भिरेको र यो के–के हुन् ? तपार्इंहरू यिनीहरूलाई के भन्नुहुन्छ ? नाम भन्दिनु न दाइ ! ’ रत्नबहादुरले ‘ढडिया’ भने। यता निकेस पनि नजिकै आइपुगे। रिमाले यसको काम के हो त दाइ ? भनेर पुन प्रश्न गरिन्। ‘यसमा घाँस दाउरा बोक्न मिल्दैन होला, सानो छ’, जिज्ञासा बढाइन्।

रत्नबहादुर अलिकति हाँसे। उनले भने, ‘यो ढडिया हो। यसलाई खोलाको ससानो भँगालोमा थापेर माछा छोप्न सकिन्छ।’ उनको कुरा सुनेर अचम्म मान्दै ‘ए, यो माछा छोप्ने पासो हो, यसलाई ढडिया भनिन्छ, है !’ निकेसले अचम्म माने। रिमाले कम्मरतिर देखाउँदै भनिन्, ‘त्यो कम्मरमा भिरेको के नि।’ ‘फुर्लुङ’, रत्नबहादुरले छोटो उत्तर दिए। ‘यसको काम के नि ? ’ निकेसले अर्को प्रश्न अघि सारिहाले।

रत्नबहादुर अलि सजिलो मान्दै थिए। आफूहरूलाई ती भाँडा देखेर रमाइलो लागेको रिमाले बताइन्। ‘यी के–के रहेछन्। यिनको के–के काम रहेछ ? जान्ने मन लागेर हो, अरु त्यस्तो केही होइन, अप्ठ्यारो नमान्नु न’, रिमाले सम्झाइन्।

रत्नबहादुरले भने, ‘छैन, अप्ठ्यारो मान्नुपर्ने केही छैन, भन्नु न के जान्न खोज्नुभा हो ? ’ निकेसले ठुलो ढडिया र सानो फुर्लुङको काम के के हो त भनेर जिज्ञासा राखे। रत्नबहादुरले बसाइ अलि सजिलो पारेर भने, ‘अघि भनेँ नि यो ढडिया माछा छोप्न काम लाग्छ र फुर्लुङ छोपेको माछा राख्न काम लाग्छ। यी दुवै माछा छोप्ने र राख्ने भाँडा हुन्।’

रिमा र निकेस अति खुसी भएर मुखामुख गरे। रिमाले फेरि सोधिन्, ‘यी कसले बुनेर बनाको त ? ’ रत्नबहादुरले आफैं बुनेको बताए। ‘तपाईंहरूले कहिलेदेखि यसरी माछा छोपेर खाने गर्नुभएको ? ’ रिमाले जान्न चाहिन्। रत्नबहादुरले बेलिबिस्तार लगाउँदै भने, ‘ए, यो त उहिले मेरो हजुरबा, बाले पनि यसरी नै माछा छोप्थे रे।’ आफूले पनि दिनहुँजसो माछा छोपेर गुजारा गर्दै आएको रत्नबहादुरले बताए। आफूले जान्न चाहेको सबै कुरा बुझेर उनीहरू खुसी भए। आफ्ना झोलाबाट खाने कुरा झिकेर रत्नबहादुरसँगै बसेर खान थाले।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.