धार्मिक जागरण यात्रा गर्दै राप्रपा संयुक्त
काठमाडौं : दुई पार्टी एकतापछि हिन्दु राष्ट्रको माग अघि सार्दै आएको राप्रपा (संयुक्त)ले हिन्दुराष्ट्र स्थापनाका लागि धार्मिक जागरण अभियान गर्ने भएको छ । नेपाललाई हिन्दुराष्ट्र बनाउने उद्देश्यसहित राप्रपा (संयुक्त) ले कार्तिक २८ गतेबाट मंसिर ४ गतेसम्म धार्मिक जागरण यात्रा गर्ने भएको छ ।
पार्टीका अध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी र पशुपतिशम्शेर जबराले संयुक्त विज्ञप्ती जारी गर्दै सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रका लागि अभियान गर्न लागिएको जनाएका हुन् ।
पार्टीले दिएको जानकारीअनुसार माता सीताको जन्मभूमि जनकपुरधामबाट माता सीताको समाधिस्थल चितवनको वाल्मिकी आश्रम हुँदै भगवान बुद्धको जन्मस्थल लुम्बिनी पुगेर जनकपुर-लुम्बिनी धार्मिक यात्रा सम्पन्न हुनेछ ।
नेपालको मौलिक धर्म, परम्परा, सांस्कृतिक सम्पदा र संस्थाको संरक्षण एवं निरन्रता आजको आवश्यकत्ता भएको पनि राप्रपा (संयुक्त) को भनाइ छ । 'जनताको रायबिना लादिएको धर्म निरपेक्षता हाम्रो मुलुक, देश काल परिस्थिति अनुकुल छैन ।
अतः नेपाललाई संविधानमै सर्वधर्म समभावसहितको सनातन हिन्दराष्ट्र उल्लेख गर्ने लक्ष्य अवलम्बन गरेको यस पवित्र अभियानमा ९४ प्रतिशत ओमकार परिवारलगायतमा आम नेपालीलाई सहयोग, सद्भाव र सक्रिय सहभागिताका लागि पुनः राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) हार्दिक आह्वान गर्दछ,' विज्ञप्तिमा भनिएको छ ।