‘नेविसंघप्रति नेतृत्व उदासीन’
काठमाडौं : नेपाल विद्यार्थी संघका नेताहरूले माउ पार्टी कांग्रेसले संगठनप्रति उदासीनता देखाएको आरोप लगाएका छन्। १० महिनासम्म नेतृत्वविहीन हुँदा पनि पार्टीले बेवास्था गरेको भन्दै नेताहरूले आपत्ति जनाएका हुन्।
काठमाडौंस्थित पद्मकन्या क्याम्पसमा सोमबार आयोजित ‘माउ पार्टीको प्रवृति र नेविसंघको विधान’ विषयमा अन्तक्रिया सहभागी विद्यार्थी नेताले पार्टी नेतृत्वप्रति आक्रोश व्यक्त गरे।कार्यक्रममा पार्टी नेता कृष्णप्रसाद सिटौलानिकटका विद्यार्थी नेताको सहभागिता थियो।
कार्यक्रमका संयोजक तथा नेविसंघ निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले संगठनमा ३२ वर्ष मुनिको उमेर हदबन्दीसहितको विधान पार्टीले नै बनाएको तर, नेतृत्वले आफ्नो सहजताको लागि विधान मिच्न खोजेको आरोप लगाए। उनले नेताहरूलको यस्तै प्रवृत्तिले समग्र संगठनिक अवस्थामा ठूलो असर पर्ने बताए।
कार्यक्रममा सहभागी विद्यार्थी नेताले १४ मंसिरमा हुने उपनिवार्चनमा कांग्रेसका उम्मेदवारलाई जिताउन अभियान चलाउने निष्कर्ष निक्लिएको विद्यार्थी नेता निरञ्जन थापाले जानकारी दिए।
कार्यक्रममा नेविसंघ पूर्वउपाध्यक्ष रामप्रसाद अधिकारी, पूर्वसहमहामन्त्री डिल्लिराम सुवेदी,बलदेव तिमल्सिना, विद्यार्थी नेताहरू निरञ्जन थापा, भगवत रेग्मीलगायतको सहभागिता थियो।
विद्यार्थी नेताहरूले सत्याग्रही डा.गोविन्द केसीका मागहरूमा समर्थन गर्दै उनले उठाएका मागहरू सम्वोधनका लागि सरकारलाई दबाब सृजना गर्न आन्दोलन गर्ने निर्णय भएको थापाले जानकारी दिए।