जाडो छल्न उपल्लो मुस्ताङका स्कुल बेसी झरे

जाडो छल्न उपल्लो मुस्ताङका स्कुल बेसी झरे

जोमसोम : समुन्द्री सतहदेखि करिव ५ हजार मिटरको उचाइमा अवस्थित उपल्लो मुस्ताङमा सञ्चालित शैक्षिक संस्थाहरु घुम्ती कक्षा सञ्चालन गर्न बेसी झरेका छन् ।हिउँदसँगै उपल्लो मुस्ताङमा चिसो ह्वात्तै बढेकाले जाडो छल्न यी सामुदायिक तथा गुम्बा स्कुल बेसी झर्न बाध्य भएका हुन् ।

उपल्लो मुस्ताङको उत्तरी लोमान्थाङमा १० वटा सामुदायिक स्कुल र ४ वटा गुम्बा स्कुल छन् । शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय मुस्ताङका अनुसार लोमान्थाङ गाउँपालिकाका पूरै स्कुल कार्तिक १३ गते घुम्तीका लागि बेसी झरेका हुन् ।

लोमान्थाङबाट झरेका स्कुलले २ समूह बनाएर विद्यार्थी अस्थायी मर्ज गरी घुम्ती कक्षाको व्यवस्थापन गरेका हुन् । जसअन्तर्गत दिव्यदीप मावि छोसेर, बालकल्याण आबि  न्यानोल र सम्जुङ आबि सम्जुङ गरी ३ वटा स्कुलले कार्तिक १४ गतेबाट संयुक्त घुम्ती कक्षा सुरु गर्न पोखरा झरेका छन् ।

यस्तै, सोही पालिकाको दिव्यज्ञान आबि चुम्जुङ, सरस्वती न्याम्डो, भकृटी किम्लिङ, बिरेन्द ठिङ्गर, जनप्रभात फुवा र बुद्ध आबि न्याङडोल गरी ६ स्कुलले विद्यार्थी मर्ज गरी पोखराको हेम्जामा घुम्ती कक्षाको पढाइ सुरु गरेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख टंकराज बरालले जानकारी दिए । उनका अनुसार लोमान्थाङबाट झरेका २ घुम्ती समूह स्कुलले हिउँदे कक्षा सञ्चालन गर्न पोखरामा भवन समेत बनाइसकेका छन् ।

यस्तै, लोमान्थाङ पालिकामा रहेका मञ्जुश्री गुम्बा, निफुक नाम्डोल गुम्बा, पाल नाम्ग्याल गुम्बा र महाकरुणा शाक्यापा गुम्बा गरी ४ वटा गुम्बा स्कुल पनि घुम्तीका लागि बेसी झरेको बरालले जानकारी दिए ।

उपल्लो मुस्ताङकै लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका ८ सामुदायिक स्कुलमध्ये ६ वटा स्कुल घुम्तीमा झरेका छन् । चराङ आबि चराङ, मराङ आबि मराङ, ढाक्मर आबि ढाक्मर, शालिग्राम आबि ताङ्ग्या, यारा आबि यारा र घारा आबि घारा गरी ६ वटा स्कुलका विद्यार्थी एकै ठाउँमा मर्ज गरी घुम्ती कक्षा सञ्चालन गर्न बेसी झरेका हुन् ।

संयुक्त घुम्ती कक्षा सुरु गर्न कार्तिक १३ गते ६ वटा स्कुल बेसी झरेका हुन् भने जनज्योति आबि घिलिङ र घमी आबि भने मंसिर १२ गते बेसी झर्ने घमी आविका प्रअ अमन धितालले जानकारी दिए । घुम्तीमा रहेका सबै स्कुलले पुस १ गते नयाँ शैक्षिक सत्रको पढाइ सुरु गर्ने जनाएका छन् ।

मुस्ताङका घुम्ती कक्षा सञ्चालन गर्ने स्कुललाई स्थानीय तहले समेत आवश्यक रकम छुट्याउने गरेको छ । नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेका गुम्बा स्कुललाई सरकारले अनुदान वापत बर्सेनि बजेट बिनियोजन गर्ने गरेको छ ।

यी गुम्बा स्कुललाई पाठ्यपुस्तक खरिद तथा शिक्षक व्यवस्थापन गराउन सरकारले रकम उपलब्ध गर्ने गरेको हो । जिल्लाका ८ गुम्बा स्कुलले सरकारी मान्यता प्राप्त गरेका छन् । यी स्कुलले सरकारले निर्धारण गरेको ५ वटा पाठ्यक्रम समावेश गर्नुपर्ने मापदण्ड तोकिएको छ ।

मुस्ताङमा ५४ वटा सामुदायिक स्कुल छन् । जसमा हिउँदयामको जाडो छल्न उपल्लो मुस्ताङका शैक्षिक संस्था बेसी झरे पनि बाँकी स्कुल पुसदेखि माघ मसान्तसम्म बन्द हुन्छन् । थासाङ र घरपझोङ र वारागुङ गाउँपालिकाका स्कुललाई हिउँदे बिदा दिने गरिएको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.