सात एल्बम, आठ उपन्यास एकसाथ

सात एल्बम, आठ उपन्यास एकसाथ

काठमाडौं : २०७५ साल मंसिरमा एकसाथ सात गीति एल्बम सार्वजनिक गरेर विश्व रेकर्ड राखेका विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायका पुनः ७ एल्बम एकसाथ सार्वजनिक गरिएको छ।

राजधानीको कमलपोखरीस्थित रसियन सांस्कृतिक केन्द्रमा सोमबार एक विशेष कार्यक्रमबीच डा. डीआर उपाध्यायका सात गीति एल्बम ‘अञ्जान तिर्खा’, ‘सुधारस’, स्वर्गघर, ‘नजरको तीर’, ‘सेभेन्थ कड्स’, ‘सौभाग्यको सिन्दूर’ र ‘अनुभूतिको मझेरीमा’ सार्वजनिक गरिएको हो। कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले डा. उपाध्यायका सात गीतिएल्बम, एक उपन्यास ‘सपनाकी रानी’ र आठ उपन्यास सँगालो सार्वजनिक गरेका हुन्।

यसअघि कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको हातबाट एल्बम सार्वजनिक गरिने भनिए पनि राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थताका कारण उपस्थिति हुन नसकेपछि राष्ट्रकविकै निवासमा एल्बम सार्वजनिक तथा अभिनन्दनपछि रसियन सांस्कृतिक केन्द्रमा एल्बम सार्वजनिक तथा अभिनन्दन गरिएको थियो। दुवै शताब्दी पुरुषलाई ५१ हजार नगदसहित दोसल्ला र ताम्रपत्र प्रदान गर्दै सम्मान गरिएको थियो।

एल्बम सार्वजनिक कार्यक्रममा हास्यसम्रागी वसुन्धरा भुसाल र वरिष्ठ गायिका ज्ञानू राणालाई पनि अभिनन्दन गरिएको थियो। त्यस्तै युथ क्रिएसन म्युजिक प्रालिबाट डा. डीआर उपाध्यायलाई म्युजिक क्रिएसनका अध्यक्ष रमेश थापा र सल्लाहकार कृष्ण भुसालले दोसल्ला र ताम्रपत्रले सम्मान गरेका थिए।

संगीतकार सन्तोष श्रेष्ठले स्वागत भाषण तथा कार्यक्रम माथि प्रकाश पारेका थिए भने साहित्यकार सञ्चारकर्मी अच्युत घिमिरेले डा. डीआर उपाध्यायका उपन्यासका बारेमा बोलेका थिए।

डा. डीआर उपाध्यायका यसअघि ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नशालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेँली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक्’ गरी ११ एल्बम सार्वजनिक भएका थिए। यसैगरी उनका हालसम्म ‘वज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’ र ‘सपनाकी रानी’ प्रकाशित छन्।

गीत लेखेर एकपछि अर्को कीर्तिमान कायम गरेका डा. डीआर उपाध्यायले आज सार्वजनिक गीतमार्फत पनि आठ वल्र्ड रेकर्ड कायम भएका छन्। सार्वजनिक कार्यक्रममा एभरेस्ट वल्र्ड रेकर्डका फाउन्डर निर्देशक मथुरा श्रेष्ठले डा. डीआर उपाध्यायलाई आठवटा वल्र्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका थिए। आज कायम भएका वल्र्ड रेकर्डमा २४ फरक गीत १२ मेजर १२ माइनर स्केलमा एउटै एल्बममा, पाँच फरक संगीतकारले संगीत गरेको एउटा गीत, अधिकांश हिन्दु देवीदेवताको नाम राखेर बनाइएको गीत, एउटा एल्बममा सबै गीत सेभेन्थ कड्स, सबैलाई स्वस्थ राखौं भन्ने योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत जसमा ७१ वर्ष र पाँच वर्षकी गायिकाको स्वर, अत्यधिक हिमाललाई समेटेर पर्यटन वर्ष २०२० लाई लक्षित गीत र १६ महिनामा १८ एल्बम सार्वजनिक रहेका छन्। उपाध्यायले मिराकल वल्र्ड रेकर्ड, इन्डिया स्टार वल्र्ड रेकर्ड, एक्सक्लुसिभ वल्र्ड रेकर्ड, जिनस वल्र्ड रेकर्ड, एभरेस्ट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.