फेसनप्रतिको सचेतना बढ्दै छ
२०५७ सालमा खाद्यान्न व्यापारबाट सुरु भएको आरपी ग्रुपको व्यवसाय विस्तारको क्रममा छ। ‘जय अम्बे साडी’ को सोरुमबाट लत्ताकपडाको व्यापारमा हात हालेको आरपी ग्रुप फेसन वेयरमा स्थापित नाम हो। फेसन वेयरमा आरपी ग्रुपले ४० अन्तर्राष्ट्रिय ब्रान्डलाई नेपाल भित्त्याइसकेका छन्। आरपी ग्रुपले अहिले व्यवसाय विविधीकरणलाई प्राथमिकतामा राखेको छ। आरपी ग्रुपका प्रबन्ध निर्देशक रुपेश पाण्डेसँग अन्नपूर्ण पोस्ट्ले गरेको कुराकानीः
आरपी ग्रुपको व्यवसाय विस्तारलाई कसरी समीक्षा गर्नुहुन्छ?
मैले सानो पुँजीबाट व्यवसाय सुरु गरेको हुँ। विद्यालयको प्रधानाध्यापकको छोरा भएकाले मसँग पुँजी अभाव थियो। एकैपटक ठूलो लगानी गरेर काम गरेको होइन। दुई दशकअघि स्नातक तहको पढाई सकेर मैले व्यापारमा हात हालेँ। खाद्यान्न व्यवसायबाट काम सुरु गरेको थिएँ। आयातित खाद्यान्नलाई नेपालमा फैलाउन सहयोग गरेँ। चाँडै नै हामी एक प्रतिष्ठित व्यावसायिक समूहको रूपमा स्थापित भयौं। यसअघि स–सानो टेन्डरमा पनि मैले व्यक्तिगत रूपमा हात हालेको थिएँ। व्यवसायमा सफलता मिल्दै गएकाले मलाई अहिलेको अवस्थामा आइपुग्न धेरै समय लागेन। त्यसपश्चात केही समय मैले रियल स्टेट व्यापारमा पनि लगानी गरेँ। खाद्यान्न व्यवसायमा प्रवेश गरेपछि भने मैले समूहकोरूपमा नै काम अघि बढाएँ। भारतबाट सामान आयात गरेर नेपालमा बजारीकरण गर्ने क्रममा तयारी पोसाकमा हात हालेँ। करिब १२ वर्षअघि मैले भारतका प्रतिष्ठित कपडाका ब्रान्ड नेपाल भित्त्याएँ। अहिले संसारभरिका प्रतिष्ठित ब्रान्ड नेपाली उपभोक्तासमक्ष प्रस्तुत गर्न सफल छौं। इन्द्रचोकमा जय अम्बे साडी सोरुम स्थापना गरेको २०६४ सालमा हो। त्यसपछि, धेरै स्थानमा सोरुम स्थापना हुँदै गएका हुन्।
आरपी ग्रुपले नेपालमा लोकप्रिय फेसन ब्रान्ड भित्त्याउँदै आएको छ। अहिलेसम्म कति ब्रान्ड भित्त्याउनुभयो?
हामीले अहिलेसम्म विश्वका धेरै ब्रान्ड नेपाल भित्त्याएका छौं। कतिपय ब्रान्ड नेपालीमाझ बलियो उपस्थिति बनाउन सफल भएका छन् भने कतिपय ब्रान्ड अझै नेपालीमाझ चिनिन बाँकी छ। कतिपय त यहाँको बजारका लागि उपयुक्त नभएका कारण आयात गर्न बन्द गर्यौं। त्यसैले अहिलेसम्म कति ब्रान्ड ल्यायौं भन्ने ठोस हिसाब छैन। कम्तीमा ४० वटा अन्तर्राष्ट्रिय ब्रान्ड नेपालमा छिराएका छौं। अहिले भने हामी मुख्यतः २३ वटा ब्रान्डको बजारीकरण गर्दै छौं र यसमा आफूलाई सशक्त रूपमा उभ्याउन सफल भएका छौं।
नेपाली उपभोक्ताको रोजाइ कस्तो ब्रान्डमा छ?
नेपालमा सबै थरिका उपभोक्ता छन्। यहाँका पारम्परिक चाड, पर्व, बिहे, व्रतबन्धमा पुराना चलनचल्तीका साडी, धोती आदी नै लगाइन्छ। एउटा युवती कुनै जात्रा वा पर्वको समयमा एकदमै पारम्परिक भेषभुषामा सजिन्छिन् भने कुनै पारिवारिक पार्टीमा जाने बेलामा त्यहीअनुसार कुर्ता सुरुवाल वा ड्रेसमा जान्छिन्। त्यस्तै कुनै डान्स पार्टीमा जाँदा सोही युवती कुनै पनि युरोप वा अमेरिकी महिलासँग प्रतिस्पर्धा गर्ने छोटो ड्रेस र अत्यन्त आकर्षक पहिरनमा जान्छिन्। यो हाम्रो देशको विशेषता हो। हामी समय अनुसार आफूलाई परिवर्तन गर्न सक्छौं र फेसनको वास्तविकता त्यहीँ हो। सधैं छोटो र पारदर्शी लुगामा मात्र फेसनेबल होइँदैन। समय र अवस्थाअनुरूप कपडा आकर्षक ढंगले लगाउनुलाई नै फेसन भनिन्छ। कपडा मात्र होइन जुत्ता, ब्याग आदीमा यहीँ कुरा लागू हुन्छ। मय, मौसम, चाड–पर्व आदीका आधारमा फरक फरक फेसन गर्न सकेकाले नै अहिले नेपालका युवा संसारभर आकर्षणको केन्द्र बन्दै गएका छन्। नेपाली युवामा उच्चस्तरीय ब्रान्डको विषयमा राम्रो ज्ञान छ। नेपालमा नआएका ब्रान्डका कपडा खोज्दै फेसनप्रेमी आइपुग्छन्। साधारणतया महिला र पुरुष दुवैमा उच्च कोटीको कपडा र लगाउनमा सहज हुने पहिरनमा रुची देखेको छु। तर, संसारमा फेसन ब्रान्डले कसरी नयाँ प्रकार, डिजाइनका फेसन वेयर प्रचार गर्छन् त्यही अनुरूप यहाँका युवा र सभ्रान्त परिवारले आफ्नो रुची परिवर्तन गरेको मैले पाएको छु।
अहिले आरपी ग्रुपले प्रवद्र्धन गरेका मुख्य–मुख्य ब्रान्ड कुन कुन हुन्?
हामीले महिला र पुरुष पहिरनका धेरै ब्रान्डको प्रवद्र्धन गरेका छौं। तर, मुख्यतः अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा स्थापित ब्रान्डको कुरा गर्दा हामीसँग २३ वटा ब्रान्ड अहिले रहेका छन्। यी सबै ब्रान्डको नेपालका लागि आधिकारिक विक्रेता आरपी ग्रुप मात्र हो। यी ब्रान्डमा मुख्यतः दा मिलानो, लुई फिलिप, रोस्सो ब्रुनेलो, इन्डियन टेरेन, सेलियो, एपी, डब्लू अउरेलिया, सत्यपउल, जिन्स डिल आदी हुन्। माथि उल्लेखित ब्रान्डमा दा मिलानो इटलीको प्रख्यात ब्रान्ड हो। यो ब्रान्डले लेडिज तथा जेन्ट्स ब्याग, वालेट, बेल्ट, ह्यान्ड ब्याग, कम्प्युटर ब्याग, लगेज आदी निर्माण गर्छ। लुई फिलिप भारतको आदित्य बिरला समूहले प्रवद्र्धन गरेको अन्तर्राष्ट्रिय ब्रान्ड हो। यसमा पुरुष फेसनका सर्ट, पाइन्ट, टी सर्ट, सुट, जिन्स, चिनोज आदी पर्छन्। रोस्सो ब्रुनेलो महिला तथा पुरुषका जुत्ताका लागि प्रख्यात छ। त्यस्तै इन्डियन टेरेनले उच्चस्तरीय पुरुष वेयर उत्पादन गर्छ भने सेलियो पनि पुरुष फेसनका लागि प्रख्यात फ्रेन्च ब्रान्ड हो।
ब्रान्डेड फेसन वेयरको बजार कस्तो छ?
ब्रान्डेड फेसन वेयरको बजार क्रमशः बढ्दो छ। पहिले विदेश जाने र विदेशबाट सामान ल्याउन सक्नेले मात्र ब्रान्डेड कपडा लगाउँथे भने अब विस्तारै मध्यम आय भएका समूह पनि ब्रान्डेड फेसन वेयरमा पसेका छन्। सस्तो कपडा तीनवटा किन्नुभन्दा अलिकति महँगो तर धेरै टिक्ने र आफ्नो व्यक्तित्व बढ्ने कपडा, जुत्ता, ब्याग आदीमा धेरैको ध्यान गएको देखिन्छ। हाम्रा सोरुमको व्यापार बढेर गएको छ। यस्तो सोरुममा दुईवटा कुराको ग्यारेन्टी हुन्छ। विदेशमा गएर पनि जुनसुकै पसलमा किनेर ल्याएको सामान नक्कली हुन्छ र महँगो हुनसक्छ, तर हाम्रोमा नक्कली हुँदैन। त्यसमाथि हामी मूल्यमा पनि तलमाथि गर्दैनौं। हाम्रा उत्पादकले नेपालका लागि भनेर बजार मूल्यसमेत लेखेको ट्यागमा हामी सामान बेच्छौं। यसले गर्दा मूल्य घटाउन समय खेर पनि फाल्नु पर्दैन। अझ, हाम्रो सामानको बजार मूल्य ट्यागमा नै आउने हुँदा भन्सार पनि पुरै तिरेका हुन्छौं र भन्सारलाई पनि हाम्रो सामानको मूल्यांकनमा झन्झट हुँदैन।
काठमाडौंबाहिरको बजार कस्तो छ?
काठमाडौंबाहिर पनि पोखरा, बुटवल, भैरहवा, इटहरी, विराटनगर आदी सहरमा पनि उच्चस्तरीय लुगामा युवाको ध्यान तानिएको छ। बजारमा पाइने नक्कली सामानमा ठूला ब्रान्डको स्टिकर हुनु र सक्कली सोही कपडा, जुत्ता लगाउनुको फरक धेरैले थाहा पाइसकेका छन्। हामी विस्तारै नेपालका प्रमुख सहरमा आफ्नो उपस्थिति बढाउँदै जाने क्रममा छौं।
यो व्यवसायमा मुख्य चुनौती के के छन्?
कुनै पनि व्यवसायको मुख्य चुनौती भनेको बजारमा हुने प्रतिस्पर्धा नै हो। हामीले पनि उच्चस्तरको सामान सकभर कम मूल्यमा बेचेर उपभोक्ताको मन जित्नुपर्छ। महँगो सामान हो उपभोक्ताले जति पनि तिर्छ भन्ने सोच बनाएर हुँदैन। सकभर राम्रो र सकभर कम मूल्यमा बेच्नु मुख्य चुनौती हो। तर, त्यसबाहेक पनि धेरै प्रकारका चुनौती छन्। जस्तो राम्रो सोरुम राख्न संरचना नै बनेका छैनन्। जति बनेका छन् तिनमा ग्राहक जाने वातावरण अझै बन्न सकेका छैनन्। अधिकांश मलमा सामान खरिद गर्ने व्यक्ति पुग्दैनन्। त्यसमाथि सोरुम भाडा र कर्मचारीको तलब व्यवस्थापन पनि चुनौती हुन्। व्यापार नभए पनि खर्च चलाउनु पर्छ तर प्रतिस्पर्धाले गर्दा मूल्य बढाउन सकिँदैन। हाम्रो व्यापारमा अलिकति नक्कली सामानको बिगबिगीले पनि ठूलो असर पुर्याउँछ। कतिपय अवस्थामा बाहिर रिजेक्ट भएका माल नेपाली बजारमा ब्रान्ड नेमसहित आएर पनि बजार बिगार्ने काम हुन्छ। त्यसबाहेक नियम, कानुन र यहाँको आर्थिक, व्यापारिक वातावरणले अरु सबैलाई जस्तो असर पारेको हुन्छ त्यो हामीलाई पनि परेकै हुन्छ। तथापि, राम्रो सामान ल्याएर उचित मूल्यमा बेच्दा सबै चुनौती परास्त हुँदै जाँदा रहेछन् भन्ने मेरो अनुभवले सिकाएको छ। सरकारले नक्कली सामानको बेच विखनमा कडाई गर्यो भने उपभोक्ताले सक्कली सामान उचित मूल्यमा पाउन सक्छन्। यस विषयमा सम्बद्ध निकायले ध्यान पुर्याउनुपर्छ।
तपाईंको सफलताको रहस्य के हो?
व्यापारिक इमान्दारी नै मेरो अहिलेसम्मको उन्नतिको कारण हो भन्ने मैले मानेको छु। कुनै पनि व्यवसायमा व्यावसायीले धेरै प्रकारका निकायसँग समन्वय हुनुपर्छ। बैंकदेखि सरकारी कर्मचारी, कामदार, उपभोक्ता, आउटलेट भाडामा लिनेदेखि, सोरुम निर्माता, अरु व्यापारी, प्रतिस्पर्धी आदी। यी सबैसँगको सम्बन्धमा इमान्दारीले ठूलो भूमिका खेल्छ। व्यवसायमा माथि उल्लेखित सबै समूहको विश्वास र भरोसा चाहिन्छ जुन मैले अहिलेसम्म पाएको छु जस्तो लाग्छ। त्यसपछि कामप्रतिको लगन सफलताको कारक हो भन्ने मलाई लाग्छ। घाम, पानी, गर्मी, जाडो केही नभनी हरेक दिन बिहान उठेर नित्य कर्म र भगवानको पूजासँगै मेरो दिन सुरु हुन्छ। म दिनभरजसो स्टोरतिर हुन्छु। सबैको व्यवसाय र समस्या सुनिरहेको हुन्छु। भन्सार र सरकारका अन्य निकायसँग सम्पर्कका हुन्छु। हरेक दिनजसो बैंकमा ऋण लिन र भाका बुझाउन गइरहेको हुन्छु। यो निरन्तरतालाई कहिल्यै टुट्न दिन्नँ। साथीभाइ र मान्यवरसँग म निरन्तर सम्पर्कमा रहन रुचाउँछु। सकभर निकटका इष्टमित्र र सल्लाहकारसँग कफी पिउनु पनि मेरो नित्यकर्म जस्तै हो। उनीहरूको साथ र सुझावले धेरै कुरा समयमै सुधार्न पाइन्छ। त्यसले पनि व्यवसायमा निकै ठूलो आड र भरोसा दिएको छ।
आरपी ग्रुपअन्तर्गत नयाँ भर्टिकल्स विस्तारको योजना के छ?
नेपालको विकास र आर्थिक उन्नतिका लागि रोजगारीका अवसर सिर्जना गर्नुपर्छ। म र मेरो परिवारका लागि मैले काम गर्नु पर्दैन। तर मेरो कामले मेरो समाज र राष्ट्रलाई सहयोग पुर्याउँछ भने म निरन्तर खटिन तयार हुनुपर्छ। अहिले हाम्रो समूहमा करिब ५०० व्यक्तिले रोजगारी पाउनुभएको छ। तर, सँगसँगै के पनि बुझेको छु भने आयात मात्र गरेर देशको अर्थतन्त्र बलियो हुँदैन। हामी आफैले उत्पादन र निर्यात गर्नुपर्छ। अब मेरो समूह क्रमशः उद्योग स्थापना गर्ने क्रममा योजना बनाउँदै छ। सेवा उद्योगजस्तो होटल आदीमा जाने सोच छ। साथै खाद्यान्नमा पनि हाम्रो संलग्नता रहेकाले प्याकेजिङ उद्योगमा पनि लगानी गर्दै जाने तयारी भइसकेको छ। अहिले ठूलो रूपमा कुनै पनि भर्टिकल्समा हाम्फालेको छैनौं, तर निकट भविष्यमा मैले माथि भनेकामध्ये कुनै क्षेत्रमा लगानी आउँछ। सकभर देशमा रोजगारी सिर्जना र निकासी उद्योगमा लगानी गर्ने योजना बनाएका छौं।