समृद्धिको बाधक सिकाइ पद्धति
कुनै पनि समाजका बालबालिका, युवायुवती, प्रौढ अथवा हरेक नागरिकले जे सिक्छन्, ज्ञान पाउँछन्, ती सबै समाजको सिकाइ पद्धति तथा देशले विगत र वर्तमानमा अभ्यास गरेको शिक्षा पद्धतिले निर्धारण गर्छ। असल सिकाइ पद्धतिले राष्ट्रमा असल नागरिक जन्माउँछ, सामाजिक व्यक्ति जन्माउँछ, भविष्यको कर्णधार जन्माउँछ, कुशल शिक्षक जन्माउँछ, जिम्मेवार राष्ट्रसेवक जन्माउँछ, राष्ट्रिय जनशक्ति जन्माउँछ र राष्ट्रको समृद्धिको संवाहक जन्माउँछ। तर हाम्रो देशभित्र हरेक पक्षमा समस्याले जरा गाडेर बसेको छ अनि विश्व मानचित्रमा गरिब मुलुकका रूपमा सूचीकृत छ। हाम्रो देश अनि समाजको सिकाइ पद्धतिमा भएका त्रुटिले समृद्ध नेपाल निर्माणमा बाधक छ भनेर प्रश्न उठाउने आधारका विषयमा विश्लेषण गरौं-
मौलिक अधिकार हनन
शिक्षा-ज्ञान पाउनु व्यक्तिको मौलिक अधिकार हो भने शिक्षाको पहुँचमा आफ्ना सम्पूर्ण नागरिकलाई समान अवसर दिनु राज्यको कर्तव्य हो। नेपालमा यो कर्तव्य समाज र राज्यको गलत सिकाइ पद्धतिका कारणले पूरा गर्न सकेको छैन किनकि हाम्रो सिकाइ पद्धतिले न नागिरकलाई कर्तव्यबोध गर्न सिकायो, न राज्य संयन्त्रलाई जिम्मेवार बन्न सिकायो, न प्रशासनिक निकायलाई सिर्जनात्मक बनायो, न त राजनीतिक नेतृत्वलाई नै उत्तरदायी बन्न सिकायो। कम्तीमा आधारभूत आवश्यकता गाँस, बास, कपास र सहबास (सपरिवारसँगै बस्न पाउनु) सहजरूपमा प्राप्त गर्नु मानवीय सामान्य जीविकोपार्जनका अनिवार्य शर्त हुन्। प्राचीन युगमा समेत विशिष्ट ग्रन्थ वेदले गाँस, बास, कपास र सहबासबाहेक शिक्षा र स्वास्थ्यलाई पनि मानवीय आधारभूत आवश्यकताभित्र समेटेको थियो। आजको युगमा शिक्षा र स्वास्थ्य पनि मानवीय आधारभूत आवश्यकताभित्र पर्छन् भन्ने कुरा संयुक्त राष्ट्रसंघले समेत प्रमाणित गरिसकेको छ। तर हाम्रो गलत सिकाइ पद्धतिले न हामी आफैं राम्रोसँग बाँच्न जान्यौं न त राज्यले नै सिकायो।
विभेदकारी शिक्षा प्रणाली
समाजको सिकाइ पद्धति अथवा सरकारले लिएको शिक्षा नीतिले जनतालाई वास्तवमै अन्याय गरेको छ। नेपालमा धनाढ्यले धनका आधारमा सहरहरूमा शिक्षा किन्न पाउने प्रबन्ध राज्यले नै मिलाइदिएको छ भने जतिसुकै प्रतिभावान् भए पनि ग्रामीण तथा सरकारी विद्यालयका उत्पादन आधुनिक समाजमा प्रतिस्पर्धा गर्न नसक्ने जनशक्ति उत्पादन गरेर अथवा भनौं गरिबका सन्तानलाई उत्कृष्ट शिक्षा पाउन नसक्ने गरी राज्य स्वयंले विभेदकारी शिक्षा नीति लिएर विभेद गरिरहेको छ।
प्रतिभालाई तिरस्कार
राज्यको सिकाइ पद्धतिले त आफ्नो देशभित्र भएको सिर्जनात्मक प्रतिभालाई खोजीखोजी अवसर प्रदान गरेर राज्यका हितमा बढीभन्दा बढी योगदान गर्ने मौका दिन्छ। तर अपवादबाहेक हाम्रो समाजमा राम्राले भन्दा हाम्राले मेहनत र इमानले भन्दा नातावाद, कृपावाद, चाकडी, चाप्लुसीले अवसर पाउनुका पछाडि समाजकै सिकाइ पद्धतिको उपज हो। कुनै पनि उच्च ओहोदामा अवसर पाउन कुनै नेता तथा उच्च प्रशासकसँग राम्रो सम्बन्ध नभएको प्रतिभालाई सहज छैन। चिनजान र भनसुनविना सामान्यभन्दा सामान्य काम गर्न पनि कठिन हुनुको कारणसमाजको समृद्धिमा बाधा पुगेको छ।
मानवीय पुँजी पलायन गर्न जिम्मेवार
एउटा बच्चालाई गर्भमा आएपछि जन्माउँदा, हुर्काउँदा, बढाउँदा, पढाउँदा परिवार र राज्यको लाखौं लगानी भइसकेको हुन्छ। तर देशको परिवाश हेरौं, जब माध्यमिक शिक्षा पूरा हुन्छ अथवा किशोरवस्था पार गरेर राष्ट्रलाई मानवीय पुँजीले विकास निर्माणमा योगदान गर्ने, उत्पादकत्व दिने र कर तिर्ने जनशक्ति तयार हुन्छ तब उच्च शिक्षा र विप्रेषण प्राप्तिको निहुँमा आफ्नो थातथलो अनि परिवार र देश छाडेर पराया भूमिमा विदेशीको दासदासी बन्न बाध्य हुन्छ। आफ्नो मानवीय पुँजी यसरी पलायन हुन बाध्य हुनु हाम्रो समाजको सिकाइ र राज्यको शिक्षा पद्धति जिम्मेवार छ।
विदेशीलाई फाइदा हुने शिक्षा
विकसित देशले युगौंयुगसम्म आफ्नो देशमा कुन-कुन क्षेत्रमा, केकस्ता, कति जनशक्ति उत्पादन गर्ने हो, सोहीबमोजिम पाठ्यक्रम विकास गर्छ र कार्यान्वयन गर्छ। कुशल सिकाइ पद्धति लागू गर्छ र राष्ट्रिय आवश्यकताबमोजिम जनशक्ति उत्पादन गरेर एकातर्फ आफ्ना नागरिकलाई प्रशस्त रोजगार र वृत्ति विकासको अवसर दिन्छ भने राज्यले राष्ट्र निर्माणमा भरपूर उपयोग गराउँछ। तर मेरो समाज र देशको सिकाइ पद्धति, न नागरिकका हितमा छ न त राष्ट्रकै। पूर्वप्राथमिक तहबाटै विदेशीलाई हित हुने भाषा, पाठ्यक्रम, शिक्षा र संस्कारमा अभ्यस्त छौं। आफ्ना परिवार, समाज र देशको आवश्यकता एकातिर अनि सिकाइ पद्धति अर्कोतिर। अपवादबाहेक (कि त विकसित मुलुकहरू जापान, युरोप, अस्ट्रेलिया, अमेरिका आदिमा गएर तल्लो दर्जाको श्रमिक कि त खाडी, कोरिया, मलेसिया आदि मुलुक निर्माणमा योगदान गराइरहेको छ।
व्यापारिक शिक्षा प्रणाली
नेपालको शिक्षा प्रणाली व्यापारिक छ, त्यो गलत सिकाइ पद्धतिकै उपज हो। पैसा भए आलु, दाल, चामलका पसल खोलेजस्तो विद्यालय शैक्षिक पसल खोल्न सकिन्छ। शैक्षिक पसलेको शैक्षिक विज्ञता भए पनि हुन्छ नभए पनि हुन्छ। तर लगानी गर्छ, राम्रा-राम्रा अंक भएको प्रमाणपत्र बेच्छ र अकूत नाफा कमाउन पाउँछ। त्यसैले हाम्रो व्यापारी सिकाइ पद्धति विकास बाधक छ।
राष्ट्रले असल शिक्षा नीतिले समाजको कमजोर सिकाइ पद्धतिलाई विस्थापित गरेर साँच्चै कुलिन, विशिष्ट र सम्भ्रान्त नेपाली समाज निर्माण गर्नु अपरिहार्य छ।
आफ्नो मौलिक पद्धतिलाई तिरस्कार
हिमालयको काखमा अवस्थित रहेको नेपाल, हजारौंहजार वर्ष पहिले व्याकरण र ज्ञानको भण्डार रहेको संस्कृत भाषाको विकास गर्ने, वेद, पुराण, नीति तथा गीता, रामायण, महाभारतजस्ता ग्रन्थमार्फत आध्यात्मिक, सामाजिक, राजनीतिक, आर्थिक, वैज्ञानिक, स्वास्थ्य, शिक्षा विधामा संसारमै सभ्यताको ज्योति चम्काउन सफल पवित्र देवभूमि, ब्रह्मज्ञानवेत्ता ऋषिमुनिहरूको तपोभूमि, विश्वलाई सभ्यताको मार्गदर्शन गर्नुपर्ने मेरो देश आज एक्काइसौं शताब्दीमा आएर विश्वकै गरिब, मगन्ते, विपन्न, परनिर्भर रहनुपर्ने अवस्था आउनुको पछाडि हाम्रो सिकाइ पद्धति जिम्मेवार छ।
अनुसन्धान तथा विकासलाई गौण प्राथमिकता
आजको एक्काइसौं शताब्दीमा कुनै पनि देशको उन्नतिको आधारशिला भन्नु नै अनुसन्धान तथा विकास हो। आफ्नो देशलाई उपयोगी प्रविधि भित्याउन राज्यले संसारभरको ज्ञान-विज्ञान बटुल्न सिंगो राज्यसंयन्त्र प्रयोग गरेको हुन्छ। तर संसारकै उत्कृष्ट नमुना हावापानी, जलस्रोत, जैविक विविधता, विश्वको शिर हिमालय खण्ड, संसारको सबैभन्दा बढी उपभोक्ताको नजिक, पुर्खौंपुर्खाबाट ज्ञान अनि सभ्यताको जग बसेको, सांस्कृतिक विविधता भएको अत्याधुनिक युगमा पनि अनुसन्धान तथा विकासलाई गौण प्राथमिकता दिएका कारण आफ्नै पहिचान गर्न नसकेर विकासमा बाधा गरेको छ हाम्रो सिकाइ पद्धतिले।
गलत सिकाइ पद्धति
हाम्रो अहिलेको सिकाइ पद्धति नै गलत छ। नर्सरीबाटै आफूभन्दा भारी झोला बोकाउने, सीमित नोट घोकाउने, बालबालिकाले नचाहीनचाही, कुटीकुटी, हप्कीदप्की गरी सीमित पाठ्यक्रम लाद्ने र प्रमाणपत्रमा जसरी हुन्छ धेरै अंक जोड्ने काम भएको छ। सर्वविदित कुरा सबैको एउटै क्षमता, प्रतिभा र इच्छा पनि हुँुदैन र यो संसारमा शिक्षा लिनुदिनुपर्ने करोडौं विधा हुन्छन् भन्ने जान्दाजान्दै बहुआयामिक प्रतिभाका क्षमता, इच्छा, तत्परता र सिर्जनशीलता मारेर सीमित पाठ्यक्रम गलत सिकाइ पद्धतिमा बाँध्ने हाम्रो सिकाइ पद्धति समृद्धिको बाधक छ।
गलत सिकाइको स्रोत
भनिन्छ- पाउनुभन्दा पनि संरक्षण र संवद्र्धन गर्नु ठूलो हो। हामीले विश्वको शिर सगरमाथा पायौं, शान्ति दूत महामानव गौतमबुद्ध पायौं, मानव सभ्यताको जननी वैदिक सभ्यता पायौं तर आज यी तथ्य पनि पराया समाजले उनीहरूका अनुकूलका भाषा, शैली, संस्कार र लिखतबाट अनुवाद गरिएका अनि गुगल तथा युट्युबमा उनीहरूको अनुकूल राखिएका अंशहरूबाट जान्नुपर्ने अवस्था सिर्जना भयो। उदाहरणका लागि हिन्दु शब्द ः अंग्रेजहरूले भारतलाई उपनिवेश बनाउँदा हिमालय खण्डका संस्कार र वासिन्दालाई जनाउ गरिएको शब्द। माउन्ट एभरेस्ट ः एभरेस्ट भन्ने व्यक्तिले हाम्रो सगरमाथा (सगरमाथा ः विश्वको शिर) लाई उसको आफ्नो नाउँबाट राखेको नाम घोकेर जान्नुपर्ने ( यस्ता कैयन् उदाहरण छन्। यसारी नेपाल र नेपालीबाट निकै टाढा लैजाने गलत सिकाइका स्रोतबाट प्रशिक्षित गराइरहेकाले हाम्रो सिकाइ पद्धति विकास बाधक छ।
गलत मानसिकताको विकास
देशको सिकाइ पद्धतिले नै हो कुनै पनि बालबालिका, व्यक्ति र समाजको मानसिकताको विकास गराउने। हाम्रो समाजको सिकाइ पद्धतिले सबैभन्दा ठूलो म मात्र हो भन्ने पढायो। मेरो जात मात्र ठूलो हो, मेरो धर्म मात्र ठूलो हो, मेरो क्षेत्र, प्रदेश मात्र ठूलो हो, मेरो वर्ग मात्र ठूलो हो भन्ने सिक्यो। पैसा सबैभन्दा ठूलो मान्ने अनि शिक्षा, ज्ञानविज्ञान, मेहनत र इमानलाई तुच्छ बनायो। पैसाका लागि जतिसुकै तुच्छ हर्कत पनि निभाउने भ्रष्टाचारी, घुसखोरी, अत्याचारी, दुराचारी जेजे गरे पनि छुट पाउने समाज निर्माण भयो। व्यक्तिलाई स्वार्थी बन्न सिकायो, आफ्नो अधिकार मात्र सिकायो तर आफ्नो समाज र राष्ट्रप्रति कर्तव्य र दायित्व सिकाएन। आफ्नो देश र समाजप्रति गैरजिम्मेवार नागरिक उत्पादन गरेर, भ्रष्ट नेताहरू जन्माएर, कामचोर र घुसमा बिक्ने कर्मचारी जन्माएर, कालोबजारी गर्ने स्वार्थी व्यवसायी जन्माएर ठूलो गल्ती गर्यो हाम्रो सिकाइ पद्धतिले। फेरि हाम्रो देशको सिकाइ पद्धतिले विदेश नै गतिलो राम्रो, विदेशी धर्म, संस्कार, संस्कृति, भाषा, शिक्षा, भेषभूषा, उत्पादन, ठाउँ, मान्छे राम्रोजस्ता भ्रामक एवं गलत मानसिकताको विकास गरेको छ। एउटा गोरा मान्छे आएर सोध्यो भने सबै व्यक्तिगत, पारिवारिक, सामाजिक र राष्ट्रिय गोपनीयता सुम्पिने गलत मानसिकता विकास गरेको छ हाम्रो सिकाइ पद्धतिले।
एक्काइसौं शताब्दीमा आएर संसारसामु हामी अनुदान मागेर देश चलाउन बाध्य छौं। घरमा दाल, रोटी जुटाउन, परिवारको पेट पाल्न देशका होनाहार युवा शक्ति संसारभर भौंतारिँदै रगत र पसिना बगाउँदै हिँड्नुपरेको छ। हामी किन संसारसामु असभ्य, दरिद्र, कमजोर, मगन्ते भएर हिँड्नुपरेको छ त ? हाम्रो जीवनमा पाएको सिकाइको कारणले होइन र ? हाम्रो समाज र विद्यालयले पढाएको र सिकाएको शिक्षाको कारणले होइन ? हाम्रो सिकाइ पद्धतिको कारणले होइन ? प्रकृतिले सानो देश भए पनि सम्पूर्ण आधार ः सामाजिक आधार (साम्प्रदायिक विविधता, सांस्कृतिक विविधता), भोगौलिक आधार (हिमाल, पहाड र तराई), विज्ञानको आधार (वेद), आध्यात्मिक आधार (आध्यात्मिक र दैवीस्थल, गौतमबुद्ध तथा ऋषिमुनिहरू), वातावरणीय आधार (पाँच प्रकारको हावापानी), आर्थिक आधार (प्राकृतिक संसाधन, जलस्रोत, पर्यटन, कृषि, जैविक विविधता) तथा जनसंख्यालगायत हरेकमा तत्व भरपूर सम्पन्न भए पनि हाम्रो सोच असभ्य, दरिद्र, कमजोर, मगन्ते भएर होइन त ? हो, वास्तवमा न त हामी कमजोर छौं, न खराब, न त गरिब छौं। कमजोर छ त केवल समाजको सिकाइ पद्धति ! त्यसैले राष्ट्रले असल शिक्षा नीतिले समाजको कमजोर सिकाइ पद्धतिलाई विस्थापित गरेर साँच्चै कुलिन, विशिष्ट र सम्भ्रान्त नेपाली समाज निर्माण गर्नु अपरिहार्य छ।