सी रणनीति-भिक्षादान

सी रणनीति-भिक्षादान

नेपाली सत्ता र शासन, समाज, सस्ंथा, र संस्कृतिको ‘विनिर्माण’ गर्दै नयाँ तर बिचौलिया समाजवादतिर उन्मुख छ भने विचरा सी रणनीतिको पो के लाग्छ र ?


गत असोज महिनामा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछिको राप, ताप र तरंगपछि काठमाडौं पुनः ठण्डा र प्रदूषित हुँदै गएको छ। राष्ट्रपति सीको भ्रमण एवं बीसबुँदे सहयोग÷सम्झौताको विविध आयामबारेमा थुप्रै पण्डित्याईं अब पुराना हुन थालिसके। हुन त सीका सन्देशहरूलाई कसले केकति बुझे, त्यो आफ्नो ठाउँमा छ, परन्तु एउटा मानसिकतामा नेपाली राजनीतिमा (खासगरी वामपन्थी राजनीति) निकै जकडिएको देखिन्छ कि नेपालको समृद्धिको विकासे गोली चिनियाँसँग मात्रै छ र तिनीहरूले नै आएर नेपाल बनाइदिने छन् ? विगत ६÷७ दशकदेखि भीख माग्ने बानी लागेको नेपालको राजनीतिमा मुलुक कसरी स्वावलम्बी बाटोबाट अगाडि बढ्ने छ भनेर सोच्ने फुर्सद कसैमा देखिएन। राष्ट्रपति सीले नेपाल भ्रमणलाई महत्वपूर्ण ‘रणनीति’ का रूपमा लिएको यथार्थ उनकै भाषाबाट स्पष्ट हुन्छ, तर त्यो ‘रणनीति’ भित्र केके समेटिएका छन्, त्यो खोतल्ने काम स्वदेशका विभिन्न अंशियारहरूको हो। किनभने सरकारमा सत्तासीनहरू आफ्नोअनुकूलको मात्र भाषा बोल्छन्।

 रणनीति कसरी बुझ्ने ?

नेपाली बृहत् शब्दकोशले ‘नीति’ लाई कुनै पनि सरकार वा संस्थाले आफ्नो कार्य सञ्चालनका लागि अँगाल्ने आधारभूत सिद्धान्त वा उपाय वा युक्ति भन्छ तर ‘रणनीति’ को शब्दार्थ भने अझ गर्न बाँकी नै छ। त्यसो त ‘रण’ ले युद्धसम्बन्धी अथ्र्याउँछ। अब राष्ट्रपति सीको ‘रणनीतिक साझेदारी’ लाई नेपालका कामरेडहरूले ‘समृद्धिको चक्की’ ठान्नु तिनीहरूको ‘कुण्ड-कुण्ड दूध र मुण्ड-मुण्ड पानी’ मात्रै हो। (यससम्बन्धी विश्लेषण अर्को आलेखमा गरिनेछ )

चीनको पुरानो मित्रशक्ति राष्ट्र हो नेपाल। भलै नेपालसँग सामरिक हातहतियार थिएन र छैन। इतिहासका विभिन्न चरणमा नेपालले चीनलाई अथवा चीनले नेपाललाई भरपर्दो एवं विश्वासिलो छिमेकीका रूपमा स्थापित गरेको छ, जुन अर्थराजनीतिमा मात्रै सीमित थिएन। तर २०१७ को काण्डपछि राजा महेन्द्रले चीनलाई बढी नै विश्वास लिएको देखिन्छ भने त्यो परम्परा राजतन्त्र अन्त्य नभएसम्म व्याप्त थियो। तर संविधान लेख्ने कार्यमा एकातिर राजतन्त्र नरहेको भने अर्कोतिर पश्चिमाहरू खासगरी युरोपियनहरूको धन, मन र तनले नेपाली समाज र संविधानसभा बिटुलिँदै गएको यथार्थबाट चिनियाँहरू परिचित एवं चिन्तित देखिन्थे। फेरि संविधानसभा १ माओवादीहरूका निम्ति ‘बोकाको मुखमा कुभिण्डो’ बन्यो भने संविधानसभा २ को बीचमा अर्थात् २०७२ को वैशाखमा महाभूकम्पको एक महिनापछि २०७२ जेठ २५ को सोह्रबुँदे सहमति (कांग्रेस, एमाले, माओवादी र फोरम) को पछाडिपट्टिको पात्रका रूपमा चिनियाँहरू देखिन्थे र त्यो सहमतिको उद्देश्य ‘फास्ट ट्र्याक’ मा संविधान लेख्नु थियो, यद्यपि संविधानले लेख्ने वास्तविक पात्रहरू कहाँ-कहाँ थिए, त्यो इतिहासकै गर्भमा छ। फेरि संविधान बनाउने क्रममा चिनियाँहरूको चिन्ता ‘जातीय राज्य नरहोस्’ भन्ने थियो किनकि नेपाल एउटा जातीय रजवाडमा विभाजित भयो भने ‘तिब्बतमाथि खतरा’ झन् बढ्ने चिनियाँ सोच जायज थियो।

नेपाली लालबुझक्कडहरू बोल्दैछन् कि चीनले सित्तैमा सबथोक गर्दैछ ? संसारमा सित्तैमा केही पनि मिल्दैन चाहे त्यो हावा, पानी, वन, माटो, होस् अथवा भौतिक विकास वा मानवीय प्रेम सबैको मूल्य हुन्छ, सिर्फ कामरेडहरूमा कसले कति बुझ्छ भन्ने प्रश्न मात्र हो।

अझ चिनियाँहरूले नेपाली पात्रहरूलाई संघीयता बनाउँदा ‘हिमाल, पहाड र तराई’ मिलेको संघीय राज्य बनाउनुस् भन्ने सुझावहरू दिएकै थिए, तर त्यो आशयलाई युरोपियनको धनले खाइदियो। अन्ततः संविधानमा संघीयता र धर्मजस्ता मूलभूत मर्ममा युरोपियन पादरीहरूले चाहेजस्तै लेखियो भने चीन र भारतको रणनीति सम्भवतः प्रभावहीन देखियोे। त्यसपछि भारत पूरै बिच्किएर नेपालीलाई अक्षम्य दुःख दिएको दृश्यलाई चीनले आफ्नो रणनीति सुधार्दै भारतीय नाकाबन्दीबाट सघाउन गर्ने प्रयत्न गरिराख्यो।

अहिले जब देशमा कार्यपालिका, व्यवस्थापिका र केही हदसम्म न्यायपालिकाका सम्पूर्ण अंगहरूमा कामरेडहरूको पूर्ण वर्चस्व छ र चिनियाँहरूलाई योभन्दा सुनौलो मौका भविष्यमा नमिल्न सक्छ तब नेकपाले आफ्नो नियमित तालिम÷प्रशिक्षण चिनियाँहरूबाट गराउनु अनौठो भएन। उता अहिले चीनमा राष्ट्रपति सी चीनका एउटा उदीयमान राष्ट्रिय एवं अन्तर्राष्ट्रिय व्यापारी नेता हुन्, त्यसको उदाहरण तिनले अगाडि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’÷‘नयाँ रेशमी मार्ग’ हो। अब एउटा व्यापारीले आफ्नो व्यापार अगाडि बढाउन अर्को अंशियार÷साझेदार (पार्टनर) खोज्नु उसको व्यापारिक धर्म हो। अर्को पक्षले आफ्नो हक, हित, मुनाफा र सुरक्षा गर्न सकेन भने जिन्दगीभर साहुको ‘बन्धुवा’ भएर बाँच्नुपर्ने हुन्छ। विचरा श्रीलंका र पाकिस्तानलगायतका दर्जनौं देशहरू अहिले चीनको बन्धुवा भएर बाँचिरहेका छन्। फेरि नेपाली लालबुझक्कडहरू बोल्दैछन् कि चीनले सित्तैमा सबथोक गर्दैछ ? संसारमा सित्तैमा केही पनि मिल्दैन चाहे त्यो हावा, पानी, वन, माटो, होस् अथवा भौतिक विकास वा मानवीय प्रेम सबैको मूल्य हुन्छ, सिर्पm कामरेडहरूमा कसले कति बुझ्छ भन्ने प्रश्न मात्र हो। तसर्थ राष्ट्रपति सीका अनुसार नेपाल कस्तो ‘पार्टनर’ हो अर्थात् नेपालीलाई सुदामाको मुद्रामा देख्ने कि सुदामाको मित्रता ?

बुद्धम् शरणम् ?

जब राष्ट्रपति सी आफ्नो भाषणका क्रममा गौतम बुद्ध÷बुद्धत्वको बारेमा बोल्दै थिए, तब कुनै पनि कामरेडले ताली बजाउने दृढता गरेनन्, सायद तिनीहरूले माओको देशका राष्ट्रपतिबाट धर्मसम्बन्धी प्रवचन अपेक्षा गरेका थिएनन्। माओ त्से तुङको सांस्कृतिक क्रान्तिलाई ‘इष्टपूजा’ गर्ने नेपाली कामरेडहरूले विगतमा तिनका हिंसा, हत्या, बलात्कार र लुटपाटजस्ता कुकर्मले थोरै मात्र भए पनि आत्मग्लानी अवश्य होला। अनि त्यसको प्रायश्चित्तका खातिर अधिकांश कामरेड सन्ततिहरू अहिले देश÷विदेशमा मन्दिर निर्माणार्थ जुट्दै पितापुर्खाको पाप पखाल्ने उद्यममा देखिन्छन्, जुन अवश्य पनि राम्रै जागरण मान्नुपर्छ यदि त्यहाँ पनि थप भ्रष्टाचार भएन भने। जे होस्, माओको सांस्कृतिक क्रान्तिले समाज, संस्कृति र अवस्थामा के भयो, के भएन भनेर बुझ्न दलाई लामालाई हेर्नुपर्छ। यद्यपि नेपाली राजनीतिमा दलाई लामाको ‘द’ मात्रैको उच्चारणले पनि तिनीहरूको सर्वस्व जान सक्छ। धन्य, यसपटक शेरबहादुरले सीसमक्ष पुरानो पाप पखाल्ने मौका पाए।

सन् १९५० मा जब माओका सेनाले तिब्बतमाथि आक्रमण गरेर, तिब्बतीय समाज, संस्था र आस्थाका केन्द्रहरूलाई नियन्त्रणमा लिँदै मानवीय नरसंहार र सांस्कृतिक ज्यादती एवं वितण्डा मच्याउन थालेपछि यिनै दलाई लामाले कम्तीमा चारपटकसम्म माओलाई भेटे। तर पनि व्यक्ति र संस्कृति संहारमा कुनै कमी आएन। फलस्वरूप, तिब्बतमा चिनियाँ शासक एवं नरसंंहारको विरोधी गतिविधि बढ्दै गयो र मार्च १९५९ मा २३ वर्षीय चौौं दलाई लामाको सुरक्षार्थ, तिब्बतियनहरूले दलाई लामा लिएर तिब्बतबाट ल्हासा हुँदै भारतको तेजपुर निर्वासित भए।

त्यहींबाट एक वर्षपछि वर्तमानको धर्मशालामा तिनीलगायतको तिब्बतियन समुदाय कम्तीमा (एक करोड) अझै पनि तिब्बत फर्कने सपनामा बाँचेका छन्। यता नेपालमा यसै बेला भित्रिएका करिब १९ हजार (? ) शरणार्थीहरू र तिनका सन्तति एवं नयाँ आउने तिब्बतियनलाई लिएर चीन सधैं त्रसित हुने गर्छ। अहिलेको राष्ट्रपति सीको भिक्षादानको त्यो भित्री रहस्य बुझेर (वा नबुझेर) पनि शरणको मरण नगर्ने हाम्रो सनातनी परम्परालाई कामरेडहरूले कति निर्वाह गर्नेछन्, हेर्दै जानुपर्ने हुन्छ।

अब राष्ट्रपति सीको ‘बुद्धम् शरणम्’ को आशयगत नीति सामाजिक एवं सांस्कृतिक मूल्य र मान्यतालाई माओले जस्तै पोलेर वा ध्वस्त पारेर खान चाहँदैनन् किनकि तिनले सन् २०१८ मा एउटा नयाँ नीति ‘सिनीसाइजेसनं’ (चिनियाँकरण हुने वा बन्नुपर्ने) घोषणा गरेका छन्।

चीनमा विगत २५०० वर्षदेखिको परम्परागत आस्थाका संस्थाहरू (बुद्ध, कन्फुसियस र डाओ) माओको क्रान्तिपछि विस्थापित हुँदैछ। समाज र व्यक्तिका आस्थाका केन्द्रहरूमा माओले गरेको सांस्कृतिक आक्रमण पूर्णतः असफल हुन पुग्यो, यद्यपि मानिसमा आस्था कदापि मर्दैनन्, बरु अनास्था हुन सक्छ तर सत्ताले त्यसलाई मार्न सक्दैन। त्यसलाई नेपाली कामरेडहरूले बुझ्नसमेत चाहेनन्। राष्ट्रपति सीको ‘चिनियाँ परिकल्पना’ मा समाज, परिवार र असल शासन (कन्फुसियस); प्रकृतिसँग मिलेर बस अर्थात् ‘आर्थिक मान्छे’ होइन, नैतिकवान् बन (डाओ) र लोभ घटाऊ अनि आत्मशुद्धि÷शान्तिको प्रयत्न गर (बुद्ध) भन्ने सन्देशहरू झल्किन्छ। तर दस थरीका मुस्लिम (करिब १.७४ प्रतिशत, २ करोड ३० लाख मुस्लिम समुदाय) मा त्यो आधुनिक चिनियाँ परिकल्पनाले थोरै मात्र पनि स्थान पाउन सकेको छैन।

उता इसाईहरू पनि पीडित हुँदै गएको ठान्छन्, यद्यपि तिनीहरूको यकिन तथ्यांक विवादास्पद देखिन्छ। चिनियाँ धर्म सर्वेक्षणको पछिल्लो आँकडाअनुसार त्यहाँ करिब तीन प्रतिशत (२.२ प्रतिशत प्रोटेस्टेन्ट र बाँकी क्याथोलिक) रहेको देखिन्छ (आजको चीनमा धर्म र इसाई, २०१७ अंक २)। हुन त त्यहाँ इसाई धर्म भित्रिएको करिब ४५० वर्षजति भयो। माओका पालामा तिनीहरू पनि शिथिल नै थिए। किनकि माओका सेनाले कम्तीमा ६० हजार तिब्बतियन गब्बाहरू ध्वस्त गरेको दृश्य इसाईहरूले पनि देखेका थिए। तसर्थ यी चौधौं दलाई लामा चीनका लागि घाँटीको हाड बनिसकेको राजनीतिक यथार्थ हो।

अब वर्तमानको चौधौं दलाई लामाले ‘स्वतन्त्र तिब्बत’ नभएर एउटा ‘स्वायत्त राज्य’ को अवधारणा अघि सार्दै आफ्नो मृत्युअगावै एकपटक आफ्नो जन्मस्थल तिब्बतको दर्शन गर्ने तीव्र इच्छा राष्ट्रपति सीसमक्ष पुर्‍याइसकेका छन्। अब राष्ट्रपति सीमा बुद्ध, डायो र कन्फुसियसको सम्मि श्रणले के देखाउँछ ? तसर्थ राष्ट्रपति सीको नेपालप्रतिको भिक्षुपन र भिक्षादानमा ‘तिब्बत’ एउटा रहस्यमय रणनीति हुन्छ। किनभने नेपालको सामरिक स्थिति र संंसारमा पैmलिएका दलाई लामाको ‘तिब्बतीयन बुद्धिजम्’ का अनुयायीहरू महत्वपूर्ण आयाम हुन्।

यिनै पृष्ठभूमिमा अब के नेपालमा खोलिने ‘कन्फुसियस अध्ययन केन्द्र’ ले नेपालीमा नयाँ आस्था जगाउला ? नेपाली समाजले अर्को तथ्य पनि बिर्सन सक्दैन कि झण्डै एक वर्षअगाडि करिब १६०० जना कामरेडहरूको एउटा भीडलाई प्रधानमन्त्री स्वयंले ‘होलीवाइन’ सेवन गराएका थिए। हेर्नुस्, हजारौंको नरसंहारपछि भैंसी पुजन गरेर चोखिएको ठान्ने पाखण्ड प्रवृत्तिदेखि आराध्य महादेवले समेत राष्ट्रिय गीत सुन्नुपर्ने उर्दी अनि होलीवाइनदेखि कन्फुसियसको खोजीभित्र भौंतारिरहेको वामपन्थी नेतृत्वले नेपाली समाजको मौलिक पहिचान एवं सनातनी धर्म नष्ट गर्न जेजति कुकृत्य गरे, त्यसको उदाहरण २०७२ को नेपालको हो, जसमा ‘धर्म’ सम्बन्धी लेखिएको ‘अधर्म’ छ। के नेपाली समाज र देश माओ, लेनिन, स्टालिनदेखि वर्तमानका माहुरो (भेनेजुयला) वा किम युन (उ. कोरिया) को प्रयोगशाला हो ?

अब बुद्ध जन्मिएको देशमा कन्फुसियस र डायो नअटाउने कुरै भएन। फेरि तिनीहरू धर्म दर्शन पनि होइनन्। कन्फुसियसबाट प्रेरित राष्ट्रपति सीले आफ्नो भाषणमा ‘थोरै बोल तर धेरै काम गर’ भन्ने आशय व्यक्त गरेका थिए, जुन भावार्थ नेपालको राजनीतिसँग ठीक उल्टो छ। कन्फुसियसले खोजेको ‘आदर्श पुरुष÷मानिस’ (चुङ जु), बुद्धत्व र महाभारतका कर्मयोग (अध्याय तीन र पाँच) को आशयगत समानान्तर एवं समानता छ र ती नेपाली समाज र विद्यालयका निम्ति आवश्यक जीवनोपयोगी ज्ञान हुन्। किनभने ‘नैतिकता’ हराएको जीवनमा राष्ट्रपति सीको प्रस्तावित कन्फुसियस केन्द्रले सायद अलिकति थप संस्कार र नैतिकता पनि चीनबाट नेपाली राजनीतितिर निर्यात् अथवा थप नयाँ तालिम÷प्रशिक्षण हुने नै छ।

नेपाल दरिद्र देश होइन, तर राजनीतिक दरिद्रताले देश विक्षिप्त भएपछि भिक्षा दिनेहरूलाई पनि उत्सुकता मर्दै गएको छ। किनभने देश बनाउने पुस्तामा उमंग, उत्साह, करुणा, भद्रता र स्वधर्म भेटिँदैन। फेरि यी गुण आयात-निर्यात हुँदैनन्। हुन त अहिले जब देशमा कार्यपालिका, व्यवस्थापिका र केही हदसम्म न्यायपालिकाका सम्पूर्ण अंगमा कामरेडहरूको पूर्ण वर्चस्व छ र चिनियाँहरूलाई योभन्दा सुनौला मौका भविष्यमा नमिल्न सक्छ, तब नेकपाले आफ्नो नियमित तालिम÷प्रशिक्षण चिनियाँबाट गराउनु अनौठो भएन। साायद राजनीतिक संस्कार पनि तालिमको मुख्य विषय होला।

अब सीको भिक्षादानले ‘गुणस्तरीय समाज र स्वावलम्बी नेपाल’ कसरी बन्छ भनेर त्यसको रणनीतिगत अध्ययन पनि चीनबाट गरी दिनुपर्ने होला। किनभने अहिले नेपाली सत्ता र शासन, समाज, सस्ंथा र संस्कृतिको ‘विनिर्माण’ गर्दै नयाँ तर बिचौलिया समाजवादतिर उन्मुख छ भने विचरा सी रणनीतिको पो के लाग्छ र ? फेरि थुतुनो मात्रै चल्ने नेपाली सत्तावालहरू प्रतिकूलका शब्द÷भाषाहरू नसुन्ने नीति पनि उत्तर र झन् उत्तरबाटै आयातीत हो। नेपाल र नेपालीको नसानसा बुझेका राष्ट्रपति सीलाई थाहा छ कि नेपालको राजनीतिले भिक्षा चाल्नोमा थाप्छ र जनताले पाउने भनेको चाल्नामा अड्केको मात्रै हो र विगत ७० वर्षदेखि त्यही नै स्थापित भएको छ। नेपालीले अब सनातनी आदर्श र नैतिकताको भीक्षा पनि चिनियाँबाटै थाप्नुपर्ने ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.