जाडोमा हृदयाघातको जोखिम धेरै
काठमाडौं : छोरा भेट्न दाङ जाँदै गरेका नेकपाका नेता झक्कुप्रसाद सुवेदीलाई थानकोट नपुग्दै असजिलो भयो। छातिमा भारीपना भएलगत्तै गाडीभित्रै वान्ता गरे। गाडीमै बेहोस भएका उनलाई चालकले उपचारका लागि काठमाडौं फर्काए। एन्जिओप्लाष्टी गर्दा पत्ता लाग्यो, ‘मुटुको दायाँतिरको रक्तनली बन्द भएको रहेछ।’ सुवेदीलाई तत्कालै अस्पताल पुर्याइएकोले ज्यान जोगिएको चिकित्सकले बताएका छन्।
सुवेदीलाई भेटेर फर्किएका नेकपाका केन्द्रीय सदस्य हिमाल शर्माले भने, ‘अलिकति ढिलो भएको भए बचाउन गाह्रो थियो। आधा घण्टाभित्रै अस्पताल पुर्याएका कारण सफल शल्यक्रिया भयो।’ नर्भिक अस्पतालमा उपचारपछि उनी स्वास्थ्यलाभ गरिरहेका छन्।
नेता सुवदीले झैं तुरुन्तै उपचार नपाउँदा सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लामा कार्यरत अभिशेख थापाको ज्यान गयो। बुधबार बिहान बेहोस भएका थापालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएको केही समयमै मृत घोषणा गरिएको थियो।
रोल्पाको सुनील स्मृति गाउँपालिका–३, मिझिङका वडाध्यक्ष जेदबहादुर विष्टको ज्यान गयो। राति टेलिभिजन हेरेर सुतेका ६२ वर्षीय विष्ट शुक्रबार बिहान मृत भेटिएका थिए। हृदयाघात हुने बित्तिकै ढिला नगर्दा धेरैेको ज्यान जोगिएको छ। जाडो बढेका बेला हृदयाघातको जोखिम हुने मुटुरोग विशेषज्ञ बताउँछन्।
०७५ माघ १४ गते पूर्व युवराज पारश शाहलाई छातिमा पीडा भयो। तत्कालै नर्भिक अस्पताल पुर्याइएका शाहको मुटुको रक्तनली (धमनी) टालिएको थियो। एन्जिओप्लाष्टी गरी रक्तनली खुलाइए पछि पीडा हट्यो। उनको मुटुमा पेसमेकर जडान गरिएको छ।
‘हृदयघात हुने वित्तिकै ड्राइभर र पत्नी मिलेर अस्पताल पुर्याएकै कारण मेरो ज्यान जोगिएको हो’, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले भने। रक्तचाप एवं मुटुको समस्या भएका व्यक्ति एक्लै नहिंड्न तथा खानपानमा सजग हुन उपाध्यायको सल्लाह छ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मी जाडो सुरु भएपछि कोरोनरि ( हृदयाघात सम्बन्धी) घटना बढ्ने बताउँछन्। ‘जाडो मौसममा रक्तचाप पनि बढ्छ। मुटुमा तनाब र दबाब बढेपछि हृदयघातको जोखिम हुन्छ।’ डा.रेग्मीले भने।
उच्च रक्तचाप नभएकालाई पनि एकैचोटी हृदयघात हुन सक्छ। चीसोका बेला रक्तप्रवाह गर्ने नसा खुम्चिन्छन्। नसामा रहेको रगतले रक्तधमनीलाई दबाब दिन्छ। यस्तो बेला उच्च रक्तचाप देखिन सक्छ।
डा. रेग्मी भन्छन, ‘रगतका नलीमा जमेर बसेको बोसो तथा कोलेस्टेरोलका कारण रक्तनली च्यातिने र ब्लक हुने संभावना बढ्छ। मुटुमा नकारात्मक असर पर्ने बेला यहीं हो।’ युरोप तथा अमेरिकामा पनि हिउँ परिरहेको समयमा सडकमा हिँडिरहँदा हृदयघात भइ सडकमै लड्ने गरेको डा. रेग्मीको भनाइ छ।
बंशाणुगत समस्या भएका व्यक्ति त झन् सजग हुनुपर्ने चिकित्सकको सुझाव छ। बिलासी जीवनशैली र खानपानकै कारण रक्तनलीमा कोलेस्टेरोल जमेको हुन्छ। कोलेस्टेरोलले रक्तनलीलाई ब्लक गरिदिन्छ। हृदयाघात हुन बेर लाग्दैन।
जाडोमा जोखिम
चकित्सकका अनुसार जाडो मौसम मुटुको रोग बढ्ने समय हो। चिसोमा रक्तनली खुम्चिन्छन्। रक्तनली खुम्चँदा मुटुमा पर्याप्त अक्सिजनयुक्त रगतको आपूर्ति हुन सक्दैन। यस्तो बेला हृदयघातको जोखिम हुने मुटुरोग विशेषज्ञको भनाइ छ। हृदयघात हुने वित्तिकै अस्पताल नपुग्ने बिरामीको ज्यान जाने संभावना बढी हुन्छ।
‘कात्तिकदेखि माघ महिनासम्म हृदयघातको दृष्टिले जोखिम समय हो’, डा.रेग्मीले भने।
मेहनत नै नगरी वा सानो काम गर्ने वित्तिकै थकान महसुस हुन्छ भने मुटुको लागि शुभ लक्षण होइन। विश्व स्वास्थ्य संघ (डब्लुएचओ) ले सन् २०२० सम्ममा विकाशोन्मुख राष्ट्रमा मुटुरोग हृदयघात भएर मर्नेको संख्या ३५ प्रतिशत भन्दा बढी हुने अनुमान गरेको छ। नेपालमा अहिले करिब १० प्रतिशत व्यक्ति मुटु रोगबाट पीडित छन्।
केही वर्षयता अधवैंशेमा मुटुको समस्या लिएर उपचार गर्न आउनेको संख्या बढेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा.उत्तमकृष्ण श्रेष्ठ बताउँछन्।
मुटुरोगका लागि एन्जियोग्राफी, एन्जियोप्लाष्टी, ओपन हार्ट सर्जरी, बाइपास सर्जरी, पेस मेकरलगायतका सुविधा स्वदेशमै उपलब्ध भएकोले उपचारका लागि विदेश जानु नपर्ने मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरका निर्देशक डा. श्रेष्ठले जानकारी दिए।