एपिएलको उपाधी एम्स स्टारलाई
सन्धिखर्क : अर्घाखाँची प्रिमियर लिग (एपिएल) को तेस्रो संस्करणको उपाधी एम्स स्टारले जितेको छ । फाइनल खेलमा नमस्ते अर्घाखाँचीलाई २६ रनले हराउँदै एम्स स्टारले पहिलो पटक उपाधी जितेको हो । टस हारेर ब्याटिङ्गको निम्तो पाएको एम्स स्टारले १९.५ बलमा सबै विकेट गुमाउँदै ११० रन बनाएको थियो ।
एक सय ११ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नमस्ते अर्घाखाँची १८.४ बलमा ८४ रनमै अलआउट हुन पुग्यो । जितसँगै एम्स स्टारले नगद एक लाख ५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा खुम्चिएको नमस्ते अर्घाखाँचीले नगद ५५ हजारमा चित्त बुझाउनु पर्यो ।
यस्तै नमस्ते अर्घाखाँचीका सौरभ खत्री प्लेयर अफ द टुर्नामेन्टको रुपमा पुरस्कृत भएका छन् । उनले प्रतियोगीता भरी १६० रन बनाए भने १२ विकेट पनी लिएका थिए ।प्रतियोगीतामा १७५ रन बनाएका एम्स स्टारका सुवास थापा बेस्ट ब्याट्सम्यान, १७ विकेट लिएका नमस्ते अर्घाखाँचीका नवजिवन क्षेत्री बेस्ट बलर र १३ छक्का प्रहार गरेका नमस्ते अर्घाखाँचीका कप्तान मनोज सापकोटा मोस्ट सिक्सेस अफ द टुर्नामेन्ट भए ।
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी सन्धिखर्कका नगरप्रमुख कमल प्रसाद भुसालले खेल क्षेत्रका लागि नगरपालिकाले हर सम्भव प्रयास गरिरहेको बताए।खेल क्षेत्रमा नगरपालिकाले उदारता देखाएको भन्दै उनले अनुशाशित र मर्यादित भएर खेल्न तथा भविष्य बनाउन आग्रह गरे । टुडिखेलको तारबारका लागी ५ लाख छुट्टाइएको भन्दै केही महिनाभित्र काम हुने उनले जानकारी दिए ।
कार्यक्रममा नगर-उपप्रमुख ठाकुर कुमार बिक, प्रमुख प्रशाशकीय अधिकृत जीवन ज्ञवाली, सन्धिखर्क १ का वडाध्यक्ष युवराज बन्जाडेलगायतको उपस्थिति रहेको थियो।अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषिकेश भट्टराईको अध्यक्षता र लक्ष्मण घिमिरेको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।