हत्या आरोपी दुईजना १७ वर्षपछि पक्राउ
धादिङ : उत्तरी धादिङको खनियावास गाउँपालिका ३ (साविकको दार्खा गाविस वडा २) का गोम लामा तामाङ र सुक लामा तामाङ १७ वर्षअघि कर्तव्य गरि ज्यान मारेको आरोपमा पक्राउ परेका छन्।
२०५९ साल कात्तिक २९ गते साविकको दार्खा गाविस वडा नं २ देउरालीमा भारतीय सेनामा कार्यरत सोही ठाउँका २४ वर्षीय परशुराम तामाङको कुटपिटबाट हत्या भएको थियो । धारिलो हतियार प्रहार गरि कुटपिट भएलगत्तै गम्भीर घाइते भएका परशुरामलाई उनकी श्रीमती छन्दर तामाङले उपचारको लागि स्वास्थ्य चौकी पुर्याएपनि उनको मृत्यु भएको थियो ।
श्रीमानको मृत्यु भएपछि कुटपिटमा संलग्न ६ जना विरुद्ध श्रीमती छन्दर तामाङले कर्तव्य ज्यान मुद्धा दायर गरेकी थिइन् । मुद्धा दर्ता भएदेखि फरार रहेका गोम लामा र सुक लामालाइ काठमाडौंमा लुकिछिपि बसिरहेको अवस्थामा धादिङ प्रहरीको अनुरोधमा केन्द्रीय अनुसन्धान ब्यरोको टोलीले पक्राउ गरि धादिङ प्रहरीलाइ बुझाएको हो ।
पक्राउ परेकालाई सोमबार नै जिल्ला अदालत धादिङमा उपस्थित गराइ म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाइएको धादिङ प्रहरी प्रमुख एसपी राजकुमार बैदवारले बताए । उनले भने, 'हामीले त्यो बेलाको मिसिल सबै अध्ययन गरिरहेका छौँ, उनीहरुको पनि संलग्नना देखिएकाले पक्राउ गरेका हौँ ।'