पुस्तौंदेखि पिलर रक्षक
मधवा (महोत्तरी) : भारतीय सुरक्षाकर्मीको धम्की सहेर पनि सीमा रक्षा गर्न पाएकामा गर्व गर्छन् ५६ वर्षीय सिकेन्द्र मुसहर। ‘सीमामा बसेर हामीले पुस्तौंदेखि पिलर रक्षा गरिरहेका छौं’, उनी भन्छन्, ‘एसएसबीले बोर्डरमा बस्न दिन्नौं भन्दै घर भत्काइदिन्छ। भारतमै गएर ज्याला गरी पेट पाल्छौं।’
महोत्तरी सदरमुकाम जलेश्वरभन्दा पश्चिममा पर्छ मधवा गाउँ। मनरासिसवा नगरपालिका-१० मधवामा ६० परिवार मुसहर बस्छन्। सिकेन्द्र मात्रै होइन गाउँले सबै सरकारप्रति आक्रोशित छन्। उनीहरूको एउटै स्वर छ- ‘हामीले पटकपटक भोट दिएर नेतालाई जितायौं। उनीहरूले हाम्रा लागि केही गरेनन्। एसएसबीको धम्की खाएर हामीले पिलर जोगाइरहेका छौं।’
एक इन्च पनि सिमाना मिच्न नदिएको सिकेन्द्र सुनाउँछन्। ‘पिलर मर्मत हुँदा र नयाँ गाड्नुपर्दा भारत र नेपालका प्रशासनसँग हामी पनि हुन्छौं’, उनी भन्छन्, ‘नेपाली भूमि अतिक्रमण गरे चुप लाग्दैनौं। बरु हामीलाई भारतीय भनेर हेप्दा मन दुख्छ।’
सबै मुसहरसँग नेपाली नागरिकता छ। उनीहरूको घडेरी छैन। बस्तीमा दुईवटा चापाकल छ। पानीका लागि स्थानीय तीन सय जना यसमै निर्भर छन्। एसईईभन्दा माथि कसैले पढेका छैनन्। ‘कमाइले खान त पुग्दैन, बच्चाहरूलाई कसरी स्कुल पठाउनु ? ’, सिकेन्द्र भन्छन्, ‘सरकारले गरिबका सन्तानलाई पढाउन सहयोग गर्नुपर्छ।’
३०४÷२०,२१, २२ नम्बरका पिलरभन्दा दक्षिणतिर पनि कोही बस्छन्। दसगजा क्षेत्रमा बस्न पटक्कै मन नरहेको ७५ वर्षीय लक्ष्मी मुसहर बताउँछन्। ‘काम गर्न पनि भारतीय गाउँ पस्नुपर्छ। कमाएको खानै पुग्दैन’, उनी भन्छन्, ‘जमिन कसरी किन्ने ? घर कसरी बनाउने ? ’
मधवा गाउँनजिकै भारतले अग्लो बाँध बनाउँदा नेपालतिर डुबान हुँदै आएको स्थानीय भोला मुसहर बताउँछन्। ‘बाढी बाँधले छेकिदिन्छ। पानी बग्न नपाएर हप्तौंसम्म तालझैं रहन्छ। हामी कहींकतै निस्किन पाउँदैनौं’, उनी भन्छन्, ‘जब आकाश कालोनीलो हुन्छ तब पानी परेर डुब्छौं कि भन्ने चिन्ता हुन्छ।’ भारतले बाँध बाँधेपछि चार वर्षयता सीमावर्ती मधवा, मरुवाही, सखरी, हलखोरी डुबानमा पर्दै आएको अर्का स्थानीय लक्ष्मण मुसहरले बताए।
सीमावर्ती गाउँका स्थानीय भारतमै कमाउँछन्। त्यहाँबाट दाल, चामल, तरकारी लिएर साँझ घर फर्किंदा एसएसबीले खोसेर दुःख दिँदै आएको ३५ वर्षीय तेत्री मुसहर बताउँछिन्। ‘बाटोमै घेरेर खोसिदिन्छ। गाली गर्दै कुटेर पठाइदिन्छ’, उनी भन्छिन्, ‘सरकारले हामीलाई जग्गा दिएर घर बनाइदियोस्।’