नेपाल-भारतबीच संशय पैदा हुनु दुबैका लागि राम्रो होइन : राप्रपा
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नेपाल-भारतबीच संशय पैदा हुनु र संशय कायम रहिरहनु दुबै देशको हितमा नहुने निष्कर्ष निकालेको छ। बुधबार बसेको पार्टी पदाधिकारी बैठकले भारतको नयाँ राजनीतिक नक्सामा रहेको गल्ति सच्याउनुपर्ने माग गरेको हो।
'दुई घनिष्ठ छिमेकीका बिचमा संशय पैदा हुनु र संशय कायम रहिरहनु निश्चितरूपमा दुबै देशको हितमा हुँदैन', राप्रपाको विज्ञप्तिमा भनिएको छ,'भारतबाट प्रकाशित राजनैतिक नक्सामा भएको त्रुटि सच्याउन र नेपालको भूभागको संरक्षण गर्नको लागि अविलम्ब कुटनैतिक पहल गर्न नेपाल सरकार समक्ष राप्रपा जोडदार माग गर्दछ।'
त्यस्तै पार्टी अध्यक्ष कमल थापा आजै अमेरिकातर्फ लागेका छन्। डिसेम्बर ४ र ५ तारिखमा अमेरिकाको वासिङ्टनमा हुने 'इन्टरनेशनल डेमोक्रेटिक युनियन'को अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ लागेका हुन्।
त्यहाँ थापाले पार्टीको भातृ संगठन प्रवासी नेपाली एकता समाज अमेरिकाको अधिवेशनलाई प्रमुख आतिथ्य प्रदान गर्ने र अमेरिकाको विभिन्न स्थानमा प्रवासी नेपाली समुदायको आयोजनामा हुने विविध कार्यक्रममा सहभागी हुनेसमेत कार्यक्रम रहेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।