डोटी उपनिर्वाचन : वडाअध्यक्षमा ५ जनाको उम्मेदवारी
डोटी : डोटीको आदर्श गाउँपालिका-२ मा वडा अध्यक्ष पदको उप–निर्वाचनका लागि विभिन्न पार्टी र स्वतन्त्र गरी ४ जनाको उम्मेदवारी परेको छ। स्वतन्त्रबाट भूमि खड्का, नेपाली कांग्रेसका महादेव साउद, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का रामबहादुर बोहरा र राष्ट्रिय प्रजातन्त्र पार्टीका काशीराम ओझाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकारी एवं जिल्ला न्यायाधीश विदुर काफ्लेले जानकारी दिए।
आगामी मंसिर १४ गते हुने उप–निर्वाचनमा आदर्श गाउँपालिका-२ मा १ हजार ४३ पुरुष र १ हजार ४ सय १६ महिला गरी जम्मा २ हजार ४ सय ५९ मतदाताले मतदान गर्नेछन्।
निर्वाचनका लागि उक्त वडामा ३ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय डोटीले जनाएको छ। जसमा कालिभैरव माध्यमिक विद्यालय, नमादेव माध्यमिक विद्यालय र शारदा माध्यमिक विद्यालयलाई मतदान केन्द्र तोकिएको छ।
२०७४ असार १४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष प्रेमबहादुर बोहराको सडक दुर्घटनामा २०७५ जेठ १४ गते निधन भएपछि उप–निर्वाचन हुन लागेको हो।
उम्मेदवारी दर्ता शान्तिपूर्ण तरिकामा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उम्मेदवारी दर्ताका क्रममा विभिन्न दलका केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीय स्तरका नेता तथा कार्यकर्ताहरु सहभागी भएका थिए।