टुँडिखेलबाट अतिक्रमण हटाऔं

टुँडिखेलबाट अतिक्रमण हटाऔं

टुँडिखेलस्थित खुलामञ्चसँगैको जमिन अतिक्रमणमा परेको छ। अतिक्रमणमा महानगरपालिका र गुठी संस्थान संलग्न रहेको पाइएको छ। अतिक्रमित क्षेत्रमा बनेका संरचना हटाउन गुठी संस्थान असफल देखिएपछि अतिक्रमणमा महानगर र गुठीको मिलिभगत रहेको पुष्टि हुन्छ। टुँडिखेलका अधिकांश क्षेत्र अतिक्रमणमा परेका छन्। करिब पाँच किलोमिटर लामो र तीन सय मिटर चौडामा फैलिएको टुँडिखेल निकै साँघुरिएको छ। सँगैको दुईमाजु मन्दिरपरिसरमा व्यापारका लागि टहरा बनाइएको छ। यसले राजधानीको खुला देखिने त्यस क्षेत्रको अस्तित्व संकटमा परेको छ।

टुँडिखेलसँग सांस्कृतिक आस्था पनि जोडिएको छ। नेवार समुदायले प्रत्येक वर्ष घोडाजात्रा (पाःचह्रे) मा गुरुमापामा खट साट्ने गर्छन्। कुनै समय यो क्षेत्र सांस्कृतिक र धार्मिक थलो रहे पनि पछि टुँडिखेलको रूपमा विकसित भएको हो। २०७२ सालको भूकम्पमा सर्वसाधारणको वास नै टुँडिखेललगायतका खाली ठाउँमा भएको थियो। विपत्तिका बेला मात्रै खाली ठाउँ खोज्ने हाम्रो प्रवृत्ति छ।

अतिक्रमित क्षेत्रको संरक्षणका लागि ‘अकुपाई टुँडिखेल’ भन्ने अभियानसमेत थालिएको छ। प्रत्येक शनिबार महानगरवासीले अकुपाई टुँडिखेलविरुद्ध प्रदर्शन गर्न थालेका छन्। यो पछिल्लो समयको सकारात्मक अभियान हो। यसले सरकारलाई झक्झकाउने र खबरदारी गर्छ। यो अभियान जनताका तर्फबाट भएको हो, तर टुुँडिखेललाई खाली राख्ने विषयमा सरकारको ध्यान जान सकेको छैन। सरकारले चासो नदिएकै कारण टुँडिखेललगायत खाली क्षेत्र अतिक्रमणमा भूमाफिया र दलाल सक्रिय छन्। कतै यसमा राजनीतिक दलको साइनो त जोडिएको छैन ? गुठी, मालपोत, नगरपालिकाका कर्मचारीसँग मिलेमतो गरेर भूमाफिया र दलालले जग्गा हड्पिरहेका छन्। खाली ठाउँ सकेसम्म व्यक्तिका नाममा दर्ता गराउने प्रक्रिया पछिल्लो समय तीव्र गतिमा भइरहेका छन्।

दर्ता गराउन नसकेपछि विभिन्न हतकण्डा अपनाएर अस्थायी संरचना निर्माण गरी भाडामा लगाउने कामसमेत हुँदै आएको छ। यो अभियानमा महानगरपालिकादेखि सुरक्षा निकायसम्मको मिलेमतो भएको गुनासो सर्वसाधारणको छ। कतै सरकारका अंगहरू नै भूमाफिया तथा दलालको चंगुलमा परेका त होइनन् ? सरकारले सहरका ठाउँठाउँमा खुला क्षेत्र राख्नुपर्छ भन्दै आए पनि भएकै ऐतिहासिक क्षेत्र पनि जोगाउन सकेको छैन। विपत्तिका समय आवश्यक पर्ने खुला क्षेत्र सहरको सौन्दर्यको प्रतीक पनि हो। यसले सहरको स्वरूप राम्रो बनाउँछ। खुला क्षेत्र अतिक्रमणको प्रभावमा सरकार पर्नु हुँदैन। खुला क्षेत्र अतिक्रमणसमेत जोगाउन नसक्ने सरकारको ‘सुखी नेपाली ः समृद्ध नेपाल’ को सपना निरर्थक सावित हुनेछ।

विकसित मुलुकले अति विशिष्ट व्यक्ति बस्ने क्षेत्रमा समेत खुला भाग राखेर बाहिर पर्खाल होचो र खुला झैं राख्दै त्यो खुला भागको अनुभव गर्न दिन्छन्। जस्तै– अमेरिकाको ह्वाइट हाउसअगाडिको क्षेत्र होस् या बेलायती रानी बस्ने दरबार बकिङ्घमअगाडिको भूभाग। फलामे बार त्यो पनि होचो लगाएर त्यस्तो खुला भागको अनुभव जनताले पनि गर्न सकून् भन्ने ढंगले व्यवस्थित गरिएको हुन्छ। तर यहाँ खुला रहेको जमिनमा अस्थायी बसपार्कका नाममा रत्नपार्कसँगैको क्षेत्र महानगरले ढलान गरेको छ। खुलामञ्च अस्तव्यस्त पार्किङ स्थलमा परिणत भएको छ। टुँडिखेलको दक्षिण भाग धरहरा पुनर्निर्माणका लागि ल्याइएका सामान थुपार्ने साइटजस्तै बनेको छ। रंगशालासँगैको भागमा पुलिस क्लब, सेनाका लागि पुस्तकालय, भव्य पार्टी प्यालेस छन्। हाल बीचको एक भाग मात्र सर्वसाधारणका लागि खुला छ।

ऐतिहासिक, धार्मिक, सांस्कृतिक महŒव रहेको टुँडिखेललगायत अतिक्रमण तत्काल हटाउनुपर्छ। खुला क्षेत्र जोगाउन सहरवासीसमेत सक्रिय हुनुपर्छ। स्थानीय तहलाई ठाउँठाउँमा खाली राख्न प्रोत्साहन गर्नुपर्छ। जनताका तर्फबाट खाली जग्गा अतिक्रमणविरुद्ध खबरदारी जारी राख्नुपर्छ। र, अतिक्रमणमा लाग्ने व्यक्ति वा निकायका पदाधिकारीलाई तत्काल कारबाही गर्न सरकार अग्रसर हुनुपर्छ। यो धन्दामा कुनै दलविशेषको संलग्नता भए पनि सरकारले सत्यतथ्य पत्ता लगाई त्यस्तो समूहलाई कारबाहीको दायरामा ल्याउन सक्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.