५१ करोड लगानीमा फुटवेयर जोन
काठमाडौं : ५१ करोड लगानीमा दक्षिणकालीमा ‘दक्षिणकाली फुटवेयर जोन’ स्थापना हुने भएको छ। उक्त जोनमा एक सय ७० वटा उद्योग स्थापना हुनेछन्।
नेपाली जुत्तामा आत्मनिर्भर हुने उद्देश्यले फुटवेयर जोन स्थापना गर्न लागिएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, दक्षिणकाली नगरपालिका र फुटवेयर म्यानुफ्याक्चर्स एसोसियसनको सहकार्यमा दक्षिणकाली क्षेत्रमा ६ सय रोपनीभन्दा बढी जग्गामा फुटवेयर जोन बन्न लागेको हो।
दक्षिणकाली फुटवेयर जोनमा पूर्वाधार निर्माण गर्न टेन्डर प्रक्रिया सुरु भएको छ। बोर्ड बैठक बसेर केही दिनभित्र टेन्डर गर्ने तयारी छ। फुटवेयर जोनका लागि सरकारले पाँच करोड बजेट विनियोजन गरेको थियो। उक्त रकम खर्च गर्न केही दिनभित्र टेन्डर आह्वान गरेर पूर्वाधार निर्माण सुरु हुनेछ।
स्रोतका अनुसार हालसम्म दुई रोपनी जग्गा उद्योगीको नाममा आइसकेको छ। थप एक सय रोपनी जग्गाको स्वामित्व लिने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ। सबै जग्गा लिइसकेपछि पूर्वाधार बनाउन सुरु गर्दा समय लाग्ने भएकाले स्वामित्वमा आइसकेको जग्गामा पूर्वाधारको काम सुरु गर्ने र अरु जग्गा खोज्ने सहमति भएको छ। ३ वर्षभित्र काठमाडौं उपत्यकाभित्र विभिन्न क्षेत्रमा फैलिएर रहेका जुत्ता चप्पल उद्योग फुटवेयर जोनमा रहनेछन्।
जोनमा ४० प्रतिशत पुराना उद्योग, ३० प्रतिशत नयाँ उद्योग, २० प्रतिशत कच्चा पदार्थका सहायक उद्योग र १० प्रतिशत विदेशी लगानीका उद्योग स्थापना गर्ने योजना छ। लामो समयदेखि फुटवेयर जोनको अवधारणा ल्याए पनि प्रक्रिया अघि बढ्न सकेको थिएन।
पछिल्लो समय जुत्ताचप्पलमा नेपाल आत्मनिर्भरउन्मुख छ। स्वदेशी उत्पादनले बजारको ६५ प्रतिशत माग धानेको छ। करिब १५ सय जुत्ता उद्योग सञ्चालनमा छन्। फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका अनुसार जुत्तामा करिब ३० अर्ब लगानी छ। दक्षिणकाली जोनले स्वदेशी उत्पादनमा आत्मनिर्भर हुनुका साथै निर्यात गर्न सकिनेछ।
उद्योगको वार्षिक १२ करोड जोर जुत्ता चप्पल उत्पादन गर्न सक्ने क्षमता छ तर सञ्चालनमा आएका उद्योगले दैनिक दुई सयदेखि २५ हजार जोरसम्म जुत्ता, चप्पल उत्पादन गर्छन्। नेपालमा प्रतिव्यक्ति वार्षिक २.६६ जोर जुत्ता चप्पल खपत हुन्छ। जनसंख्याको आधारमा ८ देखि १० करोड जोडी जुत्ताचप्पलको माग छ। त्यस्तै छालाजन्य ज्याकेट, बेल्ट, पर्स, जेन्स तथा लेडिज ब्याग, किरिङ, कि ब्यागलगायतको माग बढे पनि स्वदेशमा उत्पादन हुन सकिरहेको छैन। दक्षिणकाली जोनले जुत्तामा आत्मनिर्भर हुनुका साथै निर्यात गर्न सकिने सरकार तथा उद्योगीको विश्वास छ।
२० वर्षअघि सरकारी स्वामित्वमा सञ्चालित बाँसबारी छाला जुत्ता कारखाना निजीकरण भएपश्चात जुत्ता उद्योग फस्टाउने क्रम सुरु भएको हो। पछिल्लो समय जुत्ता उद्योग क्षेत्रमा आकर्षण अझ बढ्दो क्रममा रहेको उद्योगी बताउँछन्। जोनले जुत्ता क्षेत्रमा लगानी बढ्ने र आत्मनिर्भर हुने उद्योगीको विश्वास छ। जुत्ता उद्योगमा अहिले ५० हजार जनाले रोजगारी गर्छन्। जोनले थप १० हजार रोजगारी सिर्जना गर्ने उद्योगीको भनाइ छ।
सामान्यतयाः एक जोर जुत्तामा ५० देखि ५५ प्रकारका कच्चा पदार्थ प्रयोग हुन्छ। अहिले ७५ प्रतिशतदेखि ९० प्रतिशतसम्म कच्चा पदार्थ बाहिरबाट आयात भइरहेको छ। कच्चा पदार्थको उद्योग स्थापना हुन सके थप ५० हजार रोजगारी सिर्जना हुने एसोसिएसनले दाबी गरेको छ। कच्चा पदार्थ उत्पादन तथा प्रशोधन गरी आयात घटाउन सके छिट्टै आत्मनिर्भर हुन सकिने उद्योगीहरू बताउँछन्।