चुच्चेपाटी–चाबहिल–गौशाला सडक : खानेपानीको पाइप फेरिने
काठमाडौं : चुच्चेपाटी–चाबहिल–गौशाला सडकखण्डमा खानेपानीको पाइप परिवर्तन गरिने भएको छ। पुरानो पाइपबाट पानी चुहिएर सडकको पिच भत्कने भएकाले सडक डिभिजन कार्यालय काठमाडौंले नयाँ पाइप राख्न लागेको हो। चुच्चेपाटी–चाबहिल–गौशाला क्षेत्रमा महाँकालस्थित ट्यांकीबाट पानी वितरण हुँदै आएको छ।
यो खण्डमा राणाकालिन समयको पाइपबाट पानी विस्तार हुँदै आइरहेको छ। पुरानो पाइप फुट्ने, मर्किने, भाँजिनेलगायत समस्या बारम्बार देखिने गरेको छ। पाइपबाट निस्किने पानीले सडकको पिच बिग्रार्ने गरेकाले यसको दीर्घकालीन समाधान गर्न नयाँ पाइप राख्न लागिएको सडक डिभिजन कार्यालय काठमाडौंका सूचना अधिकारी सुदर्शन कार्कीले बताए। ‘पुरानो पाइपले पिच टिकाउन हुनसकेको छैन। पिच गर्र्यो पानीले भत्काइ हाल्छ। यसले धेरै दुःख दिएको छ। पाइप परिवर्तन गरेर समस्यालाई जडबाट हटाउन लागेको हो।’ नयाँ पाइप राख्दा लिकेजको समस्या कम हुने कार्यालयले विश्वास लिएको छ। यसले पिचको आयु पनि बढ्ने कार्कीको दाबी छ।
चुच्चेपाटी–चाबहिल–गौशाला खण्डमा खानेपानीको पाइप बारम्बार फुट्दा पिच दिगो बन्न सकिरहेको छैन। २०७२ सालदेखि नै चाबहिलदेखि साँखुसम्म सडक विस्तार गर्ने गरी ठेक्का लगाइएको थियो। दुई लेनको सडकलाई चारलेनमा विस्तार गर्न खोजिएको थियो। मुआब्जा विवाद, साइट क्लियर, ढल तथा खानेपानीको समस्या देखाउँदै विस्तार कार्यले गति समात्न सकेको छैन।
तर चुच्चेपाटी–चाबहिल खण्डमा विभिन्न समयमा पिच हुँदै पनि आएको छ। तर पानी चुहिएर पिच बगाउँदै आइरहेको छ।
सामान्तयाः नेपालमा खानेपानीको क्षेत्रमा प्रयोग हुने पाइपको आयु ५० वर्षसम्मको छ। अहिले पनि काठमाडौंका धेरै स्थानमा राणाकालिन समयकै खानेपानी र ढलका पाइप फेरिएका छैन। पुरान र जीर्ण पाइपका कारण काठमाडौंका सडकको खाल्टाखुल्डी पुर्न समस्या भएको सडक विभागका अधिकारी बताउँछन्। कातिक ४ गते नागढुंगा सुरुङमार्गको शिलान्यास गर्दै प्रधानमन्त्री केपी ओलीले काठमाडौंका सडकका खाल्टा तत्काल पुर्न निर्देशन दिएका थिए। पानी चुहिने समस्याको दीर्घकालीन समाधान नभएसम्म खाल्टा फुर्न सम्भव नहुने अधिकारी बताउँछन्।
कार्यालयले महाँकाल पानी ट्यांकीदेखि गौशाला खण्डमा पर्ने खानेपानीको पाइप परिवर्तन गर्न असोज १३ गते टेन्डर आह्वान गरिसकेको छ। ठेक्काका लागि एउटा कम्पनीको प्रस्ताव पनि परेको छ। उक्त कम्पनीको कार्य क्षमताको मूल्यांकन भइरहेको कार्यालयले जानकारी दिएको छ।
खानेपानीको पाइप परिवर्तनपछि चाबहिल–चुच्चेपाटीको सडक विस्तारले पनि गति लिने आयोजनाले अपेक्षा लिएको छ। ‘सडक विस्तारका लागि ठेक्का लगाइएको चार वर्ष बितिसक्यो। समयमै विस्तार गर्न नसक्दा चौतर्फी आलोचना खेप्नु परेको छ’, कार्कीले भने, ‘सडक प्रयोगकर्ताको सास्ती बढेको बढ्यै छ।’ समयमै सडक विस्तार सम्पन्न नहुँदा सरकारको पनि विरोध भइरहेको छ। सडककै दुरावस्थाका कारण ट्राफिक जाम र दुर्घटना पनि बढ्दो क्रममा छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँगको सहकार्यमा पाइप बिछ्याउन लागिएको कार्कीले जानकारी दिए। खानेपानी तथा ढल व्यवस्थापन गर्ने कार्य क्षेत्र सडक विभाग मातहतका कार्यालयमा रहँदैन। क्षेत्राअधिकार बाहिरको काम गर्नुपर्ने भएकाले काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सहकार्यमा पाइप बिछ्याउन लागिएको उनले बताए।