इम्प्याक्टविक’ मा जर्मन प्रशिक्षक
काठमाडौं : विश्व प्रसिद्ध जर्मनी कम्पनी लुप्थान्सा समूहका ६ जना वरिष्ठ प्रशिक्षक अहिले काठमाडौंमा छन्। उनीहरूले मुलुकका विभिन्न ठाउँबाट जम्मा भएका १ सय २० जनालाई निःशुल्क प्रशिक्षण दिइरहेका छन्।
एक सातासम्म सञ्चालन भएका कारण यसलाई ‘इम्प्याक्ट विक’ भनिएको छ। उद्यमशीलता र नवीनतामा आधारित उक्त कार्यशाला बिहीबारसम्म सञ्चालन हुने किङ्स कलेजका प्रमुख कार्यकारी अधिकृत नरोत्तम अर्यालले जानकारी दिए। यो कार्यक्रम दुई चरणमा सञ्चालन भएको छ। पहिलो चरणमा जर्मनीको लुफ्थान्सा समूहका ६ जना वरिष्ठ प्रशिक्षकले १८ जना नेपाली शिक्षक तथा फ्याकल्टीलाई तालिम दिएका थिए।
उनीहरूले ‘डिजाइन थिंकिङ’ विधिबारे प्रशिक्षण दिएका थिए। पहिलो चरणमा प्रशिक्षण पाएका व्यक्तिले युरोपेली प्रशिक्षकको अनुगमनमा १ सय २० जनालाई यो विधि प्रयोग गरी स्थानीय तथा राष्ट्रिय स्तरका चुनौती कसरी समाधान गर्ने भन्नेबारे तालिम दिइरहेका छन्।
जर्मनीबाट आएका लुफ्थान्सा समूहका वरिष्ठ प्रशिक्षक अलेक्जेन्डरले भने, ‘विद्यार्थीलाई फिल्ड भिजिट गरेर अध्ययन गर्दा परम्परागत विधि प्रयोग गरिँदैन। विद्यार्थीमा नवीनतम सोच विकास गर्ने यसको मुख्य लक्ष्य हो।’दोस्रो चरणको कार्यशालामा कृषि, पर्यटन, यातायात, कला तथा संस्कृति र स्वास्थ्य तथा शिक्षा गरी ६ वटा क्षेत्रसँग सम्बन्धित विषयमा अध्ययन गरिनेछ।
अध्ययनमा गएका व्यक्तिले सुरुमा सम्बन्धित विषयलाई आधार मानेर कार्यक्षेत्र (फिल्ड) मा गएर सूक्ष्म अवलोकन गर्नेछन्। यसरी अवलोकन गरेको आधारमा उनीहरूले तोकिएको विषयसँग सम्बन्धित समस्या पहिचान गर्नेछन्। ‘नेपालका शिक्षाबारे समाजले भोगिरहेका विषयमा अध्ययन गर्ने व्यक्ति सुरुमा समाजमा जान्छन्। सरोकारवालासँग अन्तर्वार्ता लिन्छन् र उनीहरूले व्यहोरिरहेका समस्या र समाधानका उपायबारे अध्ययन गर्छन्’ इम्प्याक्टविकका वरिष्ठ परामर्शदाता अमन भट्टराईले भने, ‘हरेक चरणमा उनीहरूले आफ्ना प्रशिक्षकसँग निरन्तर अन्तरक्रिया गर्छन्। र, अन्तिममा समाधानका उपाय पत्ता लगाउँछन्।’
नवीनतम उपाय प्रस्तुत गर्ने ३ वटा समूहलाई पुरस्कृत गरिने पनि भट्टराईले जानकारी दिए। कलेजका प्रमुख कार्यकारी अधिकृत अर्यालयका अनुसार ६ वटा क्षेत्रसँग सम्बन्धित समस्याका नवीन उपायका लागि इको हिमाल, नेपाल पर्यटन बोर्ड, टुटल, काठमाडौं सहर योजना आयोग, ह्याम्स अस्पताल र किंग्स कलेजसँग सम्झौता भएको छ।