संघर्षशील १२ वर्षीया करिना : बाबा झुन्डिए, आमा प्यारालाइसिस, बहिनीको शरीरमा गम्भीर रोग
धादिङ :‘दुःखीको घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर, दया राखी मलाई अझ दुःख दे !’ प्रसिद्ध साहित्यकार बालकृष्ण समको यो उक्ति नीलकण्ठ नगरपालिका–१२ की करिना थापा मगरसँग ठ्याक्कै मेल खान्छ। एकातिर ३ वर्षदेखि प्यारालाइसिस भएर आमा लक्ष्मी थापा मगर एउटै थलामा छिन्, अर्कोतर्फ बहिनीको शरीरभरि अनौठो रोग छ। ज्याला–मजदुरी गरेर भए पनि बिहान–बेलुकाको छाक टार्ने घरमुलीले नै आत्महत्या गरेपछि अहिले यो परिवार बिचल्लीमा परेको छ।
जन्मँदै बहिनीको जिउभरि रौँ र फोकैफोका थियो। उपचार गर्ने पैसा नभएर समस्या भइरहेका बेला आमालाई प्यारालाइसिस भएर एउटै थलामा परिन्। आमाको उपचार गर्ने पैसो नभएपछि बाबाले आत्महत्या गरे। अहिले एउटै थलामा रहेकी आमाको स्याहार सुसार र २ भाइबहिनीको पालपोषण गर्ने जिम्मा १२ वर्षीया करिनाको काँधमा आइपरेको छ।
करिनाको बाबुले ज्यामा मजदुरी गरेर हातमुख त जोरेकै थिए। तर, उपचार गराउन सम्भव भएन। एकातिर कान्छी छोरी गम्भीर बिरामी त्यसमाथि श्रीमतीलाई पक्षघात भएपछिको एउटै थला। करिनाका बाबु यमबहादुरले श्रीमती र छोरीको उपचारका लागि सक्दो प्रयास गरे तर उपचार सम्भव भएन। डिप्रेसनको औषधि खाइरहेका यमबहादुरले पनि तीन बालबालिकाको भविष्य सोच्न सकेनन् नै ! बिरामीको उपचार कसरी गर्ने भन्ने चिन्ताले गरिबीसँग जुध्नभन्दा आत्महत्यालाई रोजिदिए।
तर, पीडा र समस्या बाँच्नेहरूलाई भएको छ। तीन वर्षदेखि प्यारालाइसिस भएपछि ३३ वर्षीया लक्ष्मी थापा मगरको दिसापिसाब एकै ठाउँमा भएको छ। एउटै थलामा परेकी लक्ष्मीको स्याहार ७ वर्षीया सोममायाँ थापा मगर, १० वर्षीय काजी थापा मगर र १२ वर्षीया करिना थापामगरले गर्दै आएका छन्। उनीहरू बिहान उठेपछि ओछ्यान परेकी आमालाई गिलो भात बनाएर खुवाउने र आमाले सुरुवालमा गरेको दिसापिसाव धोइदिने गर्छन्।
करिनाकी कान्छी बहिनीको पनि अनौठो रोग छ। शरीरका सबैजसो भागमा रौँ र कालो धब्बा छ भने ढाडभरि पानीका फोकाजस्ता पौकै पोका छन्। करिनालाई उपचार गराउन कहाँ लैजाने भन्दा पनि बिहान बेलुका भाइबहिनीलाई कसरी खाना खुवाउने भन्ने चिन्ता छ। करिना अध्ययनरत विद्यालय सांकोष माविका शिक्षक नवराज सापकोटाले भने, ‘विद्यालय आउँदा पनि भोकै आएको थाहा पाएपछि शिक्षकहरू मिलेर केही रकम जुटाई तत्कालको खाद्यान्न समस्या टारेका छौँ, अरू समस्या कसरी समाधान गरिदिने चिन्ताको विषय छ।’
केही समाजसेवी र करिना अध्ययन गर्ने विद्यालयले थोरै रकम संकलन गरेर तत्कालको अभाव त टारिदिएका छन् तर करिनालाई आफ्नोभन्दा बिरामी आमा र भाइबहिनीको चिन्ता छ। स्थानीय समाजसेवी दामोदर अर्यालले भने, ‘हामीले कति दिन धानिदिऔँला र ? बालबालिकाको पढाइको पनि बन्दोबस्त गर्न सकिएला तर बिरामी आमा र छोरीको उपचार कसले गरिदिने ? यस्तो गम्भीर समस्यामा परेका परिवारको जिम्मा सरकारले नै लिनुपर्छ।’
सरकारले स्वास्थ्य र खाद्य अधिकार मौलिक हकमा व्यवस्था गरेर गरिबीका कारण उपचार अभावमा कोही मर्नु पर्दैन भने पनि करिनाको परिवारलाई भने मौलिक हकले कहीँ–कतै छुन सकेको छैन।