अन्नपूर्ण पदमार्गमा अन्तर्राष्ट्रिय 'याक अट्याक' सुरु
बेंसीशहर : अन्नपूर्ण पदमार्गमा अन्तर्राष्ट्रिय साइकलिङ रेस 'याक अट्याक' सुरु भएको छ । यो विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइकलिङ प्रतियोगिता मध्येको एक हो । उच्च हिमाली क्षेत्रअन्तर्गत अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको 'याक अट्याक २०१९' साइकल दौड प्रतियोगिता लमजुङको बेसीशहरबाट सुरु भएको हो । याक अट्याक इन्टरनेसनल बाइकिङ सिरिजको यो १३ औं संस्करण हो ।
पहिलो दिन उनीहरुले बेंसीसहरदेखि घलेगाउँ जाने बाटो पुमागाउँ, बाग्लुङपानी, नजरेबाट चण्डिस्थान मकैडाँडा हुँदै बेंसीसहरसम्मको ३० किलोमिटरमा साइकल कुदाए । दोस्रो दिन प्रतियोगी हिमाली जिल्ला मनाङतर्फ लागेका छन् । उनीहरुले ७ दिन साइकल कुदाउनेछन् । प्रतियोगिता यसअघि काठमाडौंको शिवपुरीबाट सुरु भएर नुवाकोट, गोरखा हुँदै लमजुङ आएर चक्रीय अन्नपूर्ण पदमार्गमा प्रवेश हुने गरेको थियो ।
प्रतियोगितामा नेपालसहित बेलायत, फ्रान्स, इटाली, जर्मन, अमेरिकालगायत १२ देशका २५ जना अन्तर्राष्ट्रिय साइकल रेसरले भाग लिएका छन् । यसमा नेपाली ५ जना छन् । २ जना विदेशी महिला छन् । दोस्रो दिन चामे, तेस्रो दिन मनाङ, चौथो दिन मनाङ गाउँमा विश्राम हुने याक अट्याक कार्यक्रमका प्रवन्धक अजय पण्डित क्षेत्रीले बताए ।
उनका अनुसार छैटौं दिन पाचौं दिन थोराङ फेदी, छैठौं दिन पदमार्गमा विश्वकै अग्लो भञ्ज्याङ मानिएको थोराङला (५, ४१६ मि) पास गरेर कागवेनी, सातौं दिन कागवेनी वरपर, आठौं दिन कालोपानी पुगेर प्रतियोगिता सकिनेछ।
प्रतियोगिता अवधिभर साइकल रेसरले २ सय २० किलोमिटर पार गर्ने उनले उनले बताए । आयोजक बेलायतस्थित माउन्टेन बाइकिङ वर्ल्ड वाइडका निर्देशक फिल इभान्सले प्रतियोगितामा ५ हजार अमेरिकी डलरको पुरस्कार राखिएको बताए ।
प्रतियोगीताको सफलताको कामना गर्दै बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले साइकल पर्यटनलाई विश्वले चिनेको दाबी गरे । पैदल यात्राका लागि साहसिक मानिएको अन्नपूर्ण पदमार्गमा साइकल दौड प्रतियोगिता आयोजना हुँदा विश्वकै ध्यान केन्द्रित भएको उनले बताए । नगरपालिकाले पञ्चेबाजा बजाएर प्रतियोगिलाई स्वागत गरेको थियो ।