६ सय भिक्षु-भिक्षुणी सहभागीतामा लुम्बिनीमा त्रिपिटक वाचन
लुम्बिनी : लुम्बिनीमा सामूहिक त्रिपिटक वाचन सुरू भएको छ । सामूहिक त्रिपिटक वाचनमा करिब ६ सय भिक्षु भिक्षुणी सहभागी छन् । कार्यक्रम प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र थाइल्याण्डकी पूर्वमन्त्री कुनिन सुधारतले उद्घाटन गरे ।
सो अवसरमा पोखरेलले पवित्र बुद्धभूमि र यससँग सम्बन्धित क्षेत्रको संरक्षण र विकासको काम अघि बढेको बताए । प्रदेश सरकारले ऐतिहासिक तिलौराकोट उत्खननको काम अघि बढेको बताए। सम्राट असोकको स्तम्भ रहेका स्थलको संरक्षण गर्दै पर्यटन विकासमा काम गरिने उनले बताए ।
अस्तु धातु राखिएको आठ स्थानमध्येको रामग्रामको अस्तु धातुलाई अध्ययनको काम प्रदेश सरकारले अघि बढाएको उनले जानकारी दिए । त्यहाँ संग्राहलय बनाउने समेत योजना रहेको उनले बतए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको ६ महिनामा पूर्ण रुपमा संचालनमा आउने तथा सडक समेत मर्मत छिटोभन्दा छिटो सक्न काम अघि बढाएको उनले बताए ।
सो अवसरमा बोल्दै भिक्षु मेत्रैय महाथेरले अब सरकारबाट नै कार्यक्रम आयोजनामा सहयोग गर्न जरुरी रहेको बताए । सामूहिक त्रिपिटक बाचनमा नेपाली भिक्षुहरुले सुतपिटकको शिलकखण्ड बग्ग, थाइल्याण्डका भिक्षुले महाविभंग तथा म्यानमारका भिक्षुले अभिधर्म पाठ गरिरहेका छन्।