पोखरा सारै सुन्दर : राष्ट्रपति हमिद

पोखरा सारै सुन्दर : राष्ट्रपति हमिद

पोखरा : उनले पोखरा हिमालको नजिक छ भन्ने सुनेका रहेछन्। तर यति नजिक होला भन्नेचाहिँ लागेको रहेनछ। बिहानैदेखि धुम्मिएको आकाश दिउँसोपख खुलेर पहारिलो घाममा अन्नपूर्ण हिमशृंखला उघ्रियो बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदले भने, ‘पोखरा साह्रै सुन्दर रहेछ।’ पोखराको पूर्वी भागमा रहेको रुपाकोट रिसोर्टबाट दृश्यावलोकनपछि उनले बिहीबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतसँग अनुभूति साटेका थिए।

साथमा गएको टोली भोजन गर्न व्यस्त हुँदा राष्ट्रपति हमिदले हिमाल हेर्दै ग्रिन टी पिए। सामुन्ने ठोक्किन आएको हिमालसँगै तल बेगनास र रुपातालतिर पनि नजर डुलाए। अनि पोखराको सौन्दर्यले मोहित भएको अनुभूति प्रदेशका मन्त्रीसँग साटे। मन्त्री बस्नेत र आन्तरिक मामिलामन्त्री हरिबहादुर चुमान हमिदको स्वागत र बिदाइका लागि रुपाकोट पुगेका थिए।

मुस्लिमबहुल राष्ट्रका यी राष्ट्रपतिको स्वागतमा रुपाकोट गाउँपालिकाले मुस्लिम समुदायको झाँकी देखायो। त्यो देखेर उनका आँखा चम्किला भए। उनी गुरुङ समुदायको सोरठी, घाटु, मारुनी र शिल्पी समुदायको पञ्चेबाजामा रमाए। बिदाइमा रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले ठेकी उपहार दिए। ‘हाम्रो गाउँमा चँदारा जातिले १५ सय वर्षदेखि दारको ठेकी बनाउँदै आएका छन्’, अध्यक्ष ओझाले सुनाए, ‘गाउँकै सबैभन्दा पुरानो पेसाको कला र शिल्प उपहार दिन उचित सम्झियौं।’

हेलिकप्टरमा रुपाकोट पुगेका राष्ट्रपति हमिदले त्यहाँ डेढ घन्टा बिताए। त्यसअघि उनले ४० मिनेट फेवातालमा नौका विहार गरेका थिए। नेपाल प्रहरीको मोटरबोटमा राखेर उनलाई ताल सयर गराइएको थियो। बिहीबार काठमाडौंदेखि हेलिकोप्टरमा साढे १२ बजे पोखरामा उत्रँदा गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र कार्यवाहक मुख्यमन्त्री किरण गुरुङलगायत पदाधिकारीले राष्ट्रपति हमिदको स्वागत गरेका थिए।

विमानस्थलबाट सीधै फिस्टेल लज पुर्‍याइएका पाहुनालाई सोही लजमा दिवाभोज खुवाइएको थियो। भोजपछि राष्ट्रपतिसहित बंगलादेशी पाहुनाले फेवातालको पृष्ठभूमिमा तस्बिर खिचाएका थिए।

पोखराको सुन्दरताबाट राष्ट्रपति हमिद मोहित भएको गण्डकी प्रदेश सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले अन्नपूर्णलाई बताए। बंगलादेशी नागरिकमाझ नेपाल र पोखराबारे त्यति जानकारी नभएकाले बताएर भ्रमण गर्न प्रेरित गर्ने छलफल भएको उनले बताए। ​सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषण गरेर २० लाख पर्यटक भित्र याउने योजना बनाएका बेला एकपछि अर्को विदेशी विशिष्ट पाहुनाको आगमनले पर्यटन व्यवसायी उत्साहित भएका छन्। चिनियाँ राष्ट्रपतिको भ्रमणले चिनियाँ पर्यटकको आगमन बढ्न थालेको पोखरेली पर्यटन व्यवसायीले बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष मुक्तिनाथको दर्शन गरेपछि भारतीय पर्यटकको संख्या बढेको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए।

बंगलादेशका राष्ट्रपतिको नेपाल र पोखरा भ्रमणले बंगलादेशी पर्यटक पनि बढ्ने विश्वास पोखरेलले व्यक्त गरे। बंगलादेशबाट आउने पर्यटक पछिल्लो समयमा केही बढेको पनि उनले सुनाए। ५/६ वर्षअघिसम्म बंगलादेशी पर्यटक न्यून संख्यामा आउने भए पनि पछिल्ला वर्ष बढ्दै गएका बेला राष्ट्रपतिको भ्रमणले थप आकर्षण बढ्ने उनले विश्वास गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.