दायरा बढाउँदै पुनर्बिमा कम्पनी

दायरा बढाउँदै पुनर्बिमा कम्पनी

२०५८ सालमा अमेरिकामा भएको आतंककारी आक्रमणको क्षतिपछि यसको प्रभावस्वरूप नेपालमा पनि पुनर्बिमाको अवधारणा अगाडि बढेको हो।


औपचारिक रूपमा पाँच वर्ष अघि स्थापना भएको नेपाल पुनर्बिमा कम्पनीले छोटो समयमा व्यावसायिक दायरा बढाउँदै गएको छ। यो कम्पनीमा नेपालका ३९ वटै (१९ वटा जीवन र २० वटा निर्जीवन बिमा) कम्पनीले कम्तीमा २० प्रतिशत व्यवसायको पुनर्बिमा अनिवार्य गर्नुपर्ने छ। नेपाली कम्पनीले पूर्ण दायित्वसहित बिमा गराउने र पुनर्बिमाको क्षमता वृद्धि हुँदै गएकाले स्वदेशीमात्रै नभएर विदेशी कम्पनीबाट पनि व्यवसाय गरिरहेको छ।

०७५/७६ मा मात्रै यो कम्पनीले एक अर्ब १७ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। यस्तो नाफा अघिल्लो आवको एक अर्ब ७६ लाखको तुलनामा गत आवमा ६६ करोड ८६ लाख रुपैयाँले नाफा बढेको छ। व्यावसायिक दायरा बढाएको र बिमा कम्पनीप्रतिको विश्वासका कारण गत वर्ष १७ प्रतिशतले नाफा बढाउन सकेको नेपाल पुनर्बिमा कम्पनीका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारीले बताए।

यो कम्पनीप्रतिको रुची र विश्वास नै नभएको समयमा सुरु भएको कामबाट सन्तोषजनक उपलब्धि हासिल गर्दै गएको उल्लेख छ। पछिल्लो समय यो कम्पनीले जित्दै गएको व्यावसायिक विश्वास तथा सरकारी व्यवस्था अनुसार कम्तीमा २० प्रतिशत व्यवसायलाई नेपालकै पुनर्बिमा कम्पनीमार्फत गराउनुपर्ने यो कम्पनीका लागि सकारात्मक प्रयास हुँदै गएको हो। यससँगै हाल पुनर्बिमा कम्पनीले पूर्ण दायित्वका रूपमा नेपाली कम्पनीका बिमा दायित्व स्वीकार र विभिन्न देशबाट बिमा ल्याउन सक्नु नै पछिल्लो समयको उपलब्धि हो। साथै १० अर्ब रुपैयाँको चुक्ता पुँजी र एक अर्ब ६० करोड रुपैयाँको प्राथमिक सेयर निष्कासन प्रक्रिया अगाडि बढाउनु कम्पनीको सफलता भएको पूर्व सीईओ भण्डारीको भनाइ छ।

दशकौं अगाडि स्थापना भएका विदेशी पुराना कम्पनीसँग गर्नुपर्ने प्रतिस्पर्धासँगै नयाँ कम्पनीले गरेको उपलब्धिलाई सन्तोषजनक मान्नुपर्ने यस क्षेत्रका जानकारहरूको भनाइ छ। स्वदेशी पुनर्बिमा दलाल नहुनु, विदेशीको भर पर्नु, पूर्ण दायित्वका स्वदेशी कम्पनीको दायित्व बहन क्षमता नहुनु नै नेपाल पुनर्बिमा कम्पनीको व्यावसायिक क्षेत्र बढ्न मद्दत पुगेको पूर्व सीईओ भण्डारी बताउँछन्।

विदेशबाट व्यवसाय ल्याउँदै

नेपाल पुनर्बिमा कम्पनीले पछिल्लो समय विदेशबाट ल्याउने व्यवसायलाई बढाउँदै गएका छन्। हाल विभिन्न २९ मुलुकबाट पौने एक अर्बको हाराहारीमा पुनर्बिमाले विदेशबाट व्यवसाय नेपाल भित्र्याएको छ। यो कम्पनीले २०७५/७६ मा मात्रै ८४ करोड दुई लाख रुपैयाँ विदेशी मुलुकबाट बिमा शुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ। पुनर्बिमाले भारत, माल्दिभ्स, फिलिपिन्स, बंगलादेश, संयुक्त अरब इमिरेट्स (यूएई), भेनेजुएला, भियतनाम, कतार, यमन, टर्की, ओमान, बहराइन, भुटान, कुवेत, पाकिस्तान, म्यानमारसहितका देशबाट नेपालमा पुनर्बिमा हुन थालेको नेपाल पुनर्बिमा कम्पनीले जानकारी दिएको छ। आगामी वर्ष सो दायरालाई अझै बढाउने प्रयास भइरहेको कम्पनीको दाबी छ।

नेपाली कम्पनीको शतप्रतिशत पुनर्बिमा

पछिल्लो समय नेपाल पुनर्बिमा कम्पनीले नै शतप्रतिशत दायित्व पुनर्बिमा नेपालबाटै गराउन थालेका छन्। सरकारले २० प्रतिशतको सीमा तोकिदिएको भए पनि शतप्रतिशत नै नेपाली कम्पनीबाट बिमा गराउने क्षमता पनि नेपाल पुनर्बिमा कम्पनीले बनाउँदै गएको छ। नेपाल पुनर्बिमा कम्पनीले ६ वटा जीवन बिमा कम्पनीको शतप्रतिशत पुनर्बिमा गरिसकेको जानकारी दिएको छ। अन्तर्राष्ट्रिय पुनर्बिमा कम्पनी ह्यानओभर, क्यानोपिअस, एभरेस्ट, जीआईसी लगायत कम्पनीसँग रेट्रोसेसन गर्दै आएको नेपाल पुनर्बिमाको भनाइ छ।

डेढ अर्ब रुपैयाँको प्राथमिक सेयरको तयारीमा

नेपाल पुनर्बिमा कम्पनीले सर्वसाधारणका लागि एक करोड ६० लाख कित्ता अर्थात एक अर्ब ६० करोड रुपैयाँको प्राथमिक सेयर (आईपीओ) जारी गर्दै छ। उक्त रकम बराबरको आईपीओ निष्कासन गर्ने अनुमति पुनर्बिमाले नेपाल धितोपत्र बोर्डसमक्ष गरेको छ। यो कम्पनीले सय रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँको सेयर जारी गर्ने तयारी गरिरहेको हो। कम्पनीमा नेपाल सरकारको ४४.०४ प्रतिशत सेयर स्वामित्व यो कम्पनीमा छ। अन्य जीवन, निर्जीवन तथा अन्य पब्लिक कम्पनीको ३९.९६ प्रतिशत र सर्वसाधारण तथा कर्मचारीको १६ प्रतिशत सेयर स्वामित्व यो कम्पनीमा हुने गरी पुनर्बिमाको संरचना तयार पारिएको छ।

नेपालमा पुनर्बिमा कम्पनी

औपचारिक रूपमा २०७१ सालमा मात्रै नेपालमा पुनर्बिमा कम्पनीको स्थापना भएको भए पनि यसको सुरुवात २०६१ देखि नै भएको हो। २०५८ सालमा अमेरिकामा भएको आतंककारी आक्रमणको क्षतिपछि यसको प्रभावस्वरूप नेपालमा पनि पुनर्बिमाको अवधारणा अगाडि बढेको हो। भौतिक सम्पत्तीको क्षति न्यूनीकरण गर्ने र आकस्मिक तथा भैपरी आउने क्षति बहन गर्न पुनर्बिमा सुरु भएको हो। अन्तर्राष्ट्रिय पुनर्बिमा कम्पनीले आतंकवादको जोखिमका लागि छुट्टै बिमा शुल्कसमेत निर्धारण गरको थियो।

नेपालमा पनि २०५२ देखि २०६२ सम्म द्वन्द्व उत्कर्षमा पुगेका बेला पुनर्बिमाको आवश्यकतालाई पनि थप आवश्यकता महसुस भएको थियो। सो अवधिमा विदेशी पुनर्बिमा कम्पनीले नेपाली बिमा कम्पनीको पुनर्बिमा गर्न नरुचाउने र बिमा गरिहाले पनि अधिक शुल्क लिन थालेको र तत्कालीन व्यावसायिक कम्पनीले भोग्नुपरेको समस्या समाधान गर्न सरकारले बिमा कम्पनीको सहकार्यमा २०६१ सालमा आकस्मिक बिमा कोष स्थापना गर्‍यो। सोही कम्पनीलाई यसलाई सरकारले पाँच वर्ष अगाडिसम्म बिमा पुलको रूपमा अगाडि बढाएको थियो। सोही कम्पनीलाई पाँच वर्षदेखि सरकारले पुनर्बिमा कम्पनीका रूपमा अगाडि बढाएको हो। हाल यो कम्पनीले आफ्नो व्यावसायिक महत्त्व दर्शाउन सफल भएको नेपाल पुनर्बिमा कम्पनीको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.