तरुण दलको बन्द : साइकल पनि चलाउन दिएनन्
नेपालगन्ज : नेपाली कांग्रेस निकट युवा संगठन तरुण दलले शुक्रबार बाँके बन्द गरेको छ । तरुण दल नेपालगन्ज नगर समिति सभापति सन्दीपजंग शाह हतियारसहित पक्राउ परेको विरोधमा तरुण दल बाँकेले जिल्ला बन्द गरेको हो ।
बन्दको क्रममा उनीहरूले साइकल पनि चलाउन दिएका छैनन् । सडकमा साइकल लिएर आएका यात्रु डोर्याएर मात्र जान दिइएको थियो । सवा एघार बजेतिर वीपी चोकमा साइकल चलाउँदै पुगेका नेकपा बाँकेका अध्यक्ष आइपी खरेललाई पनि साइकल डोर्याउन लगाइएको थियो ।
बन्दमा लामो तथा छोटो दुरीका सवारी साधन पूर्ण रुपमा ठप्प पारिएको छ । बजार पनि बन्द गरिएको छ । अरु समयको बन्दमा चल्ने अटो रिक्सालाई पनि चल्न दिइएको छैन ।
तरुण दल बाँकेका सचिव विनोद रिजालले बन्दमा अटेर गर्ने मोटरसाइकलको साँचो खोसेर पाँच बजे पार्टी कार्यालयमा लिन आउन भनेको बताए ।