हल्लाले आतंकित अर्घाखाँचीका बासिन्दा
सन्धिखर्क : अर्घाखाँची जिल्लाका विभिन्न ठाउँमा नकावधारी चोरहरू गाउँ पसेको र उनीहरूले बच्चा अपहरण गर्ने व्यक्ति आएको, घरमा ढुंगा हान्ने, ढोकामा हान्ने लगायतका हल्लाले आमनागरिकमा त्रास फैलिएको छ।
गाउँमा अफवाह फैलिएका कारण जिल्लाका सर्वसाधारण आतंकित बनेका छन्। सामाजिक सञ्जालमा प्रशस्तै पोष्ट देखिने र गाउँमा पनि केटाकेटी चोर्न अपरिचित व्यक्ति आएको हल्ला एकाएक सामाजिक सञ्जालबाट फैलिएपछि यहाँको अवस्था आतंकित बनेको छ। अग्ला र काला मानिस मुख छोपेर जंगलमा आएको र तिनीहरू गाउँभरि बालबच्चाको खोजीमा हिँडेको भन्ने हल्लाका कारण सदरमुकाम सन्धिखर्कसहित आसपासका गाउँमा युवा रातभर जाग्राम बस्ने गरेका छन्। उनीहरूले गाउँमा गस्ती पनि सुरु गरेका छन्।
हालसम्म जति हल्ला चले पनि आधिकारिक केही पनि नभेटिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए। ‘सादा पोसाकका सुरक्षाकर्मी यतिबेला गाउँटोलमा परिचालित छन्। कहीँ कतै केही भेटिएको छैन’, उनले भने। मंगलबार राति एक्कासि ७ बजेतिर अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ९ र १० मा अपरिचित व्यक्ति आएर माथिबाट टिन हाने भन्ने कुरा आएको थियो। यो कुरा सामाजिक सञ्जालदेखि स्थानीय प्रशासनसमक्ष जानकारी आयो। त्यसपछि जनप्रतिनिधिको पनि टाउको दुखाइको विषय भएको छ।
खबर सुन्नासाथ तत्काल सीडीओ पौडेलसहित सुरक्षा अधिकारी, वडाध्यक्ष लक्ष्मीनारायण चुदालीसमेत हल्ला चलेको क्षेत्रमा पुगेर गाउँले समक्ष जानकारी लिए। आधिकारिक केही थाहा हुन नसकेपछि वास्तविकता थाहा पाउन रातभर प्रजिअ पौडेल सहितका सुरक्षा अधिकारीले जाग्राम बसेर गस्ति पनि गरे। सामाजिक सञ्जालमा हल्ला पिटाएर नागरिकलाई दुःख दिनेको खोजी भइरहेको पौडेलले बताए। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पनि आतंकित नबन्न सर्वसाधारणलाई आग्रह गरेको छ। पछिल्लो समय फैलिएको हल्लाले जनतामा त्रास फैलिएपछि प्रहरीले विज्ञप्ति जारी गरी हल्लाको पछाडि नलाग्न आग्रह गरेको छ।