तरुण नगर सभापति शाहलाई पाँच वर्ष कैद दावी गर्दै मुद्दा
नेपालगन्ज : तरुण दल नेपालगन्ज नगर समितिका सभापति सन्दीपजंग शाहविरुद्ध शुक्रबार जिल्ला अदालत बाँकेमा हातहतियार खरखजना मुद्दा दर्ता भएको छ। शाहलाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना माग गरिएको जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधीवक्ता ऐन बानियाँले बताए।
शाहसँगै पक्राउ परेका प्रितम थापा, माधव नेपाली र यामबहादुर बुढामगरलाई भने यसअघि जेल सजाय भुक्तान गरेको पाँच वर्ष नपुग्दै अर्को कसुर गरेकाले दोब्बर सजाय माग दाबी गरिएको छ। उनीहरुले १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुनसक्छ।
इलाका प्रहरी कार्यालय कोहलपुरले अनुसन्धान पूरा गरी मुद्दा दर्ताका लागि बुधबार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। इलाका प्रहरी कार्यालय बाँकले १४ कर्तिकका शाहसहित चार जनालाई गनापुरस्थित नमस्ते भिलेज रिसोर्टबाट पक्राउ गरेको थियो। उनीहरुबाट अमेरिकामा बनेको अटोमेटिक पेस्तोल र बा १८ च ४२११ नम्बरको गाडी बरामद गरिएको थियो। अभियोग पत्रमा बरामद गरिएको हतियार र गाडी जफत गर्न माग गरिएको छ।