शान्तिस्थलको आशामा गढीमाई

शान्तिस्थलको आशामा गढीमाई

गढीमाईजस्ता मठमन्दिर एवं देवीदेवताका सबै स्थलहरूलाई शान्ति, आनन्द र परम् पावन साधनास्थल बनाउनुपर्ने खाँचो छ


धर्म–संस्कृतिका नाममा चलेका कतिपय यस्ता क्रियाकलाप छन्, जसको सूक्ष्मरूपले चिन्तन–मनन समयमा गरिएन भने संस्कृतिका नाउँमा विकृतिहरू झांगिँदै गई विकराल रूप धारण गर्न पुग्छन्। फलतः व्यक्ति, परिवार, समाज र राष्ट्रलाई त्यस्ता विकृतिले जर्जरमात्रै होइन, अनेकौं विशिष्टताले युक्त शालीन धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा र रीतिरिवाजलाई पनि भित्रभित्रै खोक्रो तुल्याउँदै लैजान्छ र अन्ततोगत्वा सबै दृष्टिकोणले शिथिल, सुस्त र पंगु बनाइदिन पुग्छ। धर्म–संस्कृतिसँग जोडिएर विश्वका सबैजसो धर्महरूमा केही न केही यस्ता मानवताविरोधी परम्परा गाँसिएका छन्, जसले त्यस धर्म–संस्कृतिमाथि नै बेलाबेलामा औंला ठड्याउने अवस्था उत्पन्न भइरहेको हुन्छ।

हिन्दु धर्म–संस्कृतिका नाममा पनि केही यस्ता विकृति समाजमा व्याप्त छन्, जसलाई समयमै परिशोधन, परिमार्जन गरिएन भने हिन्दु धर्मको महानतालाई नै धूमिल गराउने कारक तत्व सावित हुन पुग्छ। ‘पशुबलि’, ‘भाकल’ तिनीहरूमध्येको एउटा यस्तो विकृति हो, जुन नेपाली समाजमा जरो गाडेर बसेको छ। हिन्दु धर्म–संस्कृतिलाई मान्ने जनसमुदाय विश्वका अनेक मुलुकमा छन्। तिनीहरूमा संसारको सबैभन्दा धेरै हिन्दुहरू रहेको मुलुक भारतमा स्वतन्त्रता अघि र पछि गरेर उनीहरूले धर्म–संस्कृतिका नाउँमा चलेका पशुबलिजस्ता विकृतिलाई उहिल्यै हटाइसके। नेपालमा अझै पूर्णतः हटाउन सकिएको छैन। तर गढीमाई मेलामा हुने पशुबलिलाई रोक्न २०७१ सालमा परेको रिटका सन्दर्भमा २०७३ साउन २० गते सम्मानित सर्वोच्च अदालतले एउटा यस्तो परमादेश नेपाल सरकार तथा सम्बन्धित निकायहरूका नाउँमा जारी गरेको छ, जसअनुसार पशु बलि कुनै पनि अर्थमा धर्म होइन, यद्यपि यो समाजका विभिन्न समुदायमा परम्पराका नाममा चल्दै आएकाले यसलाई तुरुन्तै हटाउन कठिन भए पनि शिक्षा, दीक्षा, विवेक र ज्ञानलाई बढाउँदै सरकारले निश्चित समय तोकी यसलाई हटाउन तथा निरुत्साहित गर्न आदेश दिएको छ।

नेपाल सरकारको तर्फबाट परमादेशलाई लागू गर्ने विषयमा अरू के–के भइरहेका छन्, खुलस्त भइसकेको छैन। यही मंसिर १ गतेदेखि एक महिनासम्म बाराको गढीमाईमा हुने मेलाको सन्दर्भमा गृह मन्त्रालयका साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तर्फबाट गढीमाई मेलामा हुने पशुबलिलाई निरुत्साहित गर्ने कार्यमा सहयोग पुर्‍याउन भनी सरोकारवाला निकाय, स्थानीय, श्रद्धालु भक्तजन र सर्वसाधारण सबैमा केही पत्रपत्रिकामा सूचना जारी गरेकोसम्म देखिएको छ। यो सूचना उत्साहवद्र्घक त छ तर यतिले मात्र पुग्दैन। यसका लागि भारततिरबाट पशुपक्षी ल्याउन पूर्णतः निषेध गर्नुपर्छ। साथै तराईका ग्रामीण भेगहरूमा यस सम्बन्धमा चेतना जगाउने काम व्यापक ढंगले गर्न आवश्यक छ।

गढीमाई मेलाको भित्री रहस्य छाला र मासुको व्यापार हो। यसबाट आउने करोडौं रुपैयाँका अंशियारहरू आयोजक समितिलगायत स्थानीय विभिन्न क्लब र विभिन्न स्थानीय राजनीतिक दलहरूको भागबण्डा हुने भएकाले पत्रपत्रिकामा आएको निरुत्साहनसम्बन्धी सूचनाले मात्र कत्तिाको काम गर्ला हेर्न बाँकी छ।

पशुजगत्माथि हुँदै आएको अन्याय, अत्याचार र क्रूरतामाथि कुनै न कुनै रूपले अंकुश लगाउँदै नजाने हो भने हत्या, हिंसा र पाशविक कृत्यहरू अरू बर्बर, जर्जर बन्दै जाने कुरामा शंका छैन।

देवीदेवताका नाउँमा, धर्मका नाउँमा पशुबलि निषेध गरौं भन्ने पशु अधिकारवादीहरूको लामो समयदेखिको माग र स्वस्फूर्त रूपले गढीमाईको मेला हुने ठाउँमा वर्षौंदेखि लगातार स्थानीयलाई पशुबलिबाट हुने बेफाइदाका बारेमा जानकारी गराइसकेपछि अहिले त्यहाँ एक किसिमको सकारात्मक वातावरण तयार भएर पशुबलि होइन, मानिसमा भएको पशुता (काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यजस्ता अवगुण) को बलि दिन सकियो भने हरेक व्यक्तिको कल्याण र हित हुन्छ भन्ने सन्देशले व्यापकता पाइरहेको छ। कुनै वस्तुको बलि दिने इच्छा छ भने कुभिण्डो, नरिवल, घिरौंला, मूला, कालो दाल र गहत आदिको दिऔं भन्ने नारा पनि बुलन्द हुँदै गएको एकदमै सकारात्मक छ। हामीकहाँ भाकलका नाममा पशुबलि प्रथा विद्यमान रहनुमा मुख्यतः अज्ञानता, सामन्तवादी संस्कार, सोच, झुकाव एवं कर्मभन्दा भाग्यमा विश्वास गर्ने मनोवृत्तिले पनि यसलाई बढाउन मद्दत गरेको भन्दा अत्युक्ति हुँदैन।

गढीमाई मन्दिरको कुनै एक चौधरी पुजारी जेलमा पर्दा सपनामा सो मन्दिरमा ‘बलि’ दिए छुट्छौं भनेका भरमा विस्तारै रक्तरञ्जित हुँदै गएको यो मेला र यस्ता अनेकौं रक्तरञ्जित मेलाहरूले विश्व रंगमञ्चमा नेपालको बदनाम गरिरहेको छ। यस्ता कार्यले अहिंसाका दूत भनेर चिनिएका गौतम बुद्घको देशको शिर निहुरिएको छ। पशुपतिनाथको देशको गौरवलाई लज्जाबोध गराएको छ भन्दा फरक पर्दैन।

यो मेलामा पशुबलि मार्ग शुक्ल सप्तमी र अष्टमी तिथिका दिन पर्छ, जुन मंसिरको १७ र १८ गते पर्छ। सो दिन त्यहाँ अबोध, निरीह, लाटासुधा पशुपक्षीको रगतको खोलो बगाउन इच्छुकहरूको भीड लाग्छ। यत्रतत्र सर्वत्र पशु नै पशुहरूको छट्पटाइरहेका शरीर, कोही मरेका लास, कोही पीडा खप्न नसकेर चिच्याइ–चिच्याइ कराइरहेका पशुपक्षी मानौं कोही छौ आओ उद्घार गर भनेजस्तो मूक भाषामा तड्पिरहेका हुन्छन्। पुराणहरूमा उल्लेख पाइने नरक त यही होइन भन्ने भान त्यहाँको दृश्यले देखाउँछ। मुसादेखि राँगा, भेडा, बोका, परेवा, हाँस, कुखुरा देवीलाई अर्पण गरेको नाउँमा काटिन्छन्, मारिन्छन्। गएको पाँच वर्षअघिको मेलामा एक हजारजना त मार हान्ने मानिस चाहियो भनेर विज्ञापन आएको थियो। धन्न यसपटक त्यस्तो विज्ञापन देखिएको छैन। साथै कुहिएको मासु स्याहार्नुपर्ने डोम जातिले यसपटक मासु नसोहोर्ने विज्ञप्ति निकालिसकेका छन्।

कुनै जमानामा कसैले सपना देखेको र जेल छुटेको भन्ने अन्धविश्वासका भरमा यत्रो अमानवीय कार्य हुँदा पनि हामी तैं चुप मैं चुपको अवस्थामा थियौं। २०४७ मा जब ‘पशुपक्षीप्रति निर्दयता रोकावट समाज’ को स्थापना भयो। त्यसले पशुपक्षीप्रति हुँदै गरेका निर्दयी व्यवहार एवं पशुबलि प्रथा ईश्वरको साँचो पूजा होइन भन्ने कुराको चेतना बढाउने र यो चिन्तनलाई विभिन्न माध्यमबाट विस्तार गर्ने काम भयो। त्यसैगरी २०६४ सालमा ‘पशुबलि निषेध चेतना अभियान’ को माध्यमबाट चेतना जगाउन पुस्तक, पुस्तिका, पशु पुकारसम्बन्धी करुणा क्यासेट, विद्यालय, कलेजहरूमा उत्प्रेरणात्मक कक्षालगायत विभिन्न सकारात्मक कार्यहरू हुँदै गए। पत्रपत्रिका र मिडियाहरूले पनि यसलाई सघाए। आज आएर अनेक धार्मिक, सामाजिक एवं पशुअधिकारवादी संघसंस्थाहरूको ऐक्यबद्घता एवं सहकार्य तथा व्यक्तिगत रूपमा भएका अनेक प्रयासले गढीमाई मेलाको यथार्थ जनसमक्ष उजागर हुँदै छ। यस्तो अमानवीय, क्रूर र नृशंसनीय कार्य हुने मेलालाई कुनै बेला ‘नेपालको कुम्भमेला’ भन्न पनि चुकेनन्। यस्तो मेलामा राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरू उपस्थित भइदिने वा त्यसलाई प्रोत्साहन हुने कुनै कार्य नगरिदिए त्यसले पनि केही न केही निरुत्साहन हुन सक्छ।

एकथरी बुद्घिजीवी भन्नेहरू र देववाणी संस्कृतका धुरन्धर विद्वान् भनिनेहरूले पशुपक्षीको जन्म नै बलिका लागि भएको हो र देवीदेवताका नाउँमा काटिएपछि उनीहरूले मुक्ति पाउनेजस्तो गलत चिन्तन बाँड्नमा लागेको पनि नदेखिने होइन। निरपराध, निरीह, अबोध लाटासुधा पशुपक्षीलाई मार्नु, काट्नु, हत्या गर्नु कसरी मुक्ति हुन सक्छ ? के मानिसले कुनै प्राणीलाई मुक्ति दिन सक्छ ? मुक्ति त्यति सजिलो छ ? यति सजिलै मुक्ति पाइने भए आफ्ना परिवारका कुनै सदस्यलाई कसैले हत्या गरिदियो भने के मुक्ति पायो भनेर कोही बस्न सक्छ ? सभ्य समाजलाई दिग्भ्रमित तुल्याउने यस्ता गलत विचार बेलाबेलामा सुनिनु लाजमर्दो हो।

हिन्दु धर्मअन्तर्गतका कुनै ग्रन्थ चाहे त्यो आगम होस् वा निगम त्यहाँ ‘पशुबलि’ शब्द प्रतीकात्मक र परिसंख्याका रूपमा आएका छन्। जसको अर्थ हुन्छ– त्यसलाई नबढाउने, घटाउँदै र हटाउँदै लैजाने। पशुपक्षी आदि कुनै पनि प्राणीको हिंसालाई त्यहाँ पापकर्म बताइएको छ। महाभारत (शान्तिपर्व २७२।२) मा भनिएको छ– अहिंसा परमो धर्मः यतोधर्मस्ततो जय। अर्थात् अहिंसा नै परम धर्म हो, जहाँ यो धर्म छ, त्यहाँ नै जय–कल्याण छ। त्यहीं भनिएको छ– अहिंसा लक्षणं धर्म वेद प्रामाण्य दर्शनात्। अर्थात् अहिंसा नै धर्मको लक्षण हो भनी वेदले प्रमाण दिन्छन् (महा. अनु. ११)। यस्ता एक–दुई उदाहरण होइनन् पशुबलिलगायतका विपक्षमा हजारौं उद्घरणहरू छन्। वाराह पुराणमा भनिएको छ, ‘अहिंसा परमश्चैव सर्वभूत दयापरस्’ अर्थात् अहिंसा नै श्रेष्ठ धर्म हो, जो सबै प्राणीमा दया राख्छ, त्यही मनुष्य परम् धर्मात्मा हो। शास्त्रहरूले कतिसम्म भनेको छ भने ‘त्यजेद्घर्म दयांहीनं’ अर्थात्, दयाहीन देखिने धर्म छ भने त्यागिदिए पनि हुन्छ। यसको अर्थ हुन्छ दया नै धर्म हो। त्यसविपरीत भयो भने अधर्म हुन्छ।

हरेक मानिसको लक्ष्य परम्तत्वको प्राप्ति हो, भवद्‌साक्षात्कार, ईश्वरसाक्षात्कार गर्न वाधा बनेर काम, क्रोधादि अवगुणहरू हटाउनु बलिको रहस्य हो। तर ती सारा दुर्गुणहरू आफूसँगै राख्ने अनि निरीह, अबोध, लाटासुधा पशुपक्षीहरूलाई बलि दिएर, भाकल गरेर धर्म गरेको सम्झन्छौं भने पाप केलाई भन्ने होला ? व्यक्तिका स्वार्थ, जिब्रोको स्वाद र पेटभरणका लागि देवीदेवताका नाम भजाउने काम भइरहेको प्रति कहिले चेतना जाग्ने ? बुद्घि र विवेकका कारण सर्वोत्कृष्टताको श्रेणीमा परेका मानिसले पशुजगत्माथि गरेको अन्याय, अत्याचार र क्रूरतामाथि कुनै न कुनै रूपले अंकुश लगाउँदै नजाने हो भने हत्या, हिंसा र पाशविक कृत्य अरू बर्बर, जर्जर बन्दै जानेमा शंका छैन।

धर्म–संस्कृतिका नाउँमा पशुबलि दिने कार्य अधर्म हो, अन्धविश्वास हो र धर्मान्धता हो। साथै संस्कृतिका नाउँमा विकृति हो, कुरीति हो र मानवतामाथि नै कालो दाग हो। यस्तो विकृतिलाई ज्ञानको दिव्य प्रकाशले, चेतना र विवेकको अभिवृद्घिले हटाउने काममा सबै लाग्यौं भने मठमन्दिर एवं देवीदेवताका स्थलहरू साँच्चै शान्ति, आनन्द र परम् पावन साधनास्थल बन्न पुग्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.