काष्ठमण्डपमा नयाँ प्रमाण
नेपालको राजधानी काठमाडौंको नामकरणको मूल कारण भएको ऐतिहासिक काष्ठमण्डप २०७२ सालको भूकम्पमा धराशयी भयो र हिजोआज धमाधम ठडिँदै छ। रानीपोखरीको जस्तो हविगत यसको भएन र अगाडि पनि नहोला।
पुनर्निर्माणको प्रसंगमा कतिपय मानिसले यसको इतिहासतिर पनि केही चासो देखाएका छन्, केही प्रमाण केलाएका छन्। यसै क्रममा काष्ठमण्डपको उल्लेख गर्ने अहिलेसम्म थाहा भएको सबैभन्दा पुरानो प्रमाण विसं ११६४ चैत्र शुक्ल सप्तमीको राजा सिंहदेवको पालाको हो भन्ने कुरा प्रचारमा आएको छ। त्यसैगरी काष्ठमण्डपको निर्माण र प्रयोगमा संलग्न सम्प्रदायका बारेमा पनि चर्चा-परिचर्चा भएका छन्। बौद्ध तान्त्रिक लीलावज्रले यसको निर्माण गराएका हुन् भन्ने अनु श्रुति एकातिर छ भने उपलब्ध प्रमाणहरूका आधारमा यस मण्डपसँग नाथयोगीहरूको सम्बन्ध छ भन्ने कुरा गुरु महेशराज पन्तले अघि सार्नुभएको छ। यसै प्रसंगमा एक-दुई कुरा भन्ने र कमसेकम एउटा नयाँ प्रमाण थप्ने जमर्को म गर्दैछु।
सर्वप्रथम, राजा सिंहदेवभन्दा तुरुन्तै अघिका राजा हर्षदेव (राज्यकाल ११४२-११५६÷७) का पालामा सारिएको शाक्त पश्चिमाम्नाय परम्पराको श्रीकुलरत्नोद्योत नामको एक शैव÷शाक्त तन्त्रग्रन्थको पाण्डुलिपि मैले देखेको छु, जसको पुष्पिकामा एक कुलाचार्यले काष्ठमण्डपमै बसेर यो ग्रन्थ सार्न लगाएको कुरा लेखाएका छन्। राष्ट्रिय अभिलेखालयमा संरक्षित र नेपाल-जर्मन हस्तलिखित ग्रन्थ संरक्षण परियोजनाले तयार गरेको माइक्रोफिल्म बी ११९÷३ मा उपलब्ध यस ग्रन्थको पुष्पिकाका सम्बद्ध श्लोकहरूको पाठ र अनुवाद यहाँ प्रस्तुत छ-
‘पश्चिमाम्नायबाट समुद्गत यो श्रीमत् कुलागम सबै शास्त्रहरूको हुनुपर्ने विधिअनुसार स्पष्ट सूचना दिन सक्षम छ। आश्विन महिनाको कृष्णपक्ष तृतीया तिथि मंगलबारका दिनमा समृद्धिमा लम्किरहेको र प्रजाहरूलाई महान् आनन्द प्रदान गर्ने राजा श्रीहर्षदेवको राज्यमा, नेपालदेश आइपुगेका ‘काष्ठ’नामको ‘मण्डप’ृ.काष्ठमण्डपेमा बसिरहेका श्रीमत् कुलाचार्य पण्डित विवेकरत्न स्वयंद्वारा आफ्ना शिष्यवर्गलाई बुझाउनका लागि परोपकारको उद्देश्यले प्रयत्नपूर्वक भक्तिका साथ ‘ श्रीकुलरत्न’ अगाडि भएको ‘उद्योत’ अन्तमा भएको ृ. श्रीकुलरत्नोद्योते यो ठूलो अमृतृमये आगम राम्ररी सारिएको छ।’
तिथिमिति साबूत भए पनि यस पुष्पिकावाक्यमा साल उल्लेख छैन। तर, राजा हर्षदेवको नाम आएकाले कालनिर्धारणमा सहयोग पुगेको छ। नेपाल संवत् २१० देखि २१७ (वि.सं. ११४७-११५४) सम्मका तिथिमिति भएका यी राजाका पालाका हस्तलेखहरू उपलब्ध छन्, तर यी पछिका राजाको उल्लेख भने नेपाल संवत् २२० (वि.सं ११५७) देखिका हस्तलेखमा मात्र भेटिएको छ, र हर्षदेवको राज्यकाल यही बेलासम्म वि.सं. ११५६÷७ सम्मै चलेको हुनसक्छ। त्यसैले यो पुस्तक हर्षदेवको पालामा वि.सं. ११४७ पछि र ११५७ अघि कुनै पनि समयमा सारिएको हुनुपर्छ।
यस पुष्पिकामा कुलाचार्य विवेकरत्नले काष्ठमण्डपमै बसेर ग्रन्थ सारेको उल्लेख छ, यताबाट शैवयोगीहरूसँग काष्ठमण्डपको सम्बन्ध बाह्रौं शताब्ददेखि नै थियो भन्ने देखिएको छ। विवेकरत्नको कुलपरम्परा मत्स्येन्द्रनाथबाट सुरु हुन्छ, र यही परम्पराको एउटा तुलनात्मक हिसाबले नयाँ हाँगो हो नाथयोगीहरूको परम्परा। त्यसैले, विवेकरत्नको र नाथयोगीहरूको काष्ठमण्डपसँगको सम्बन्धलाई एउटै पंक्तिमा राख्न सकिन्छ। तर यसको मतलब काष्ठमण्डपसँग शैवबाहेक अरूको सम्बन्ध थिएन भन्ने होइन। मन्त्रयानी शैव-शाक्त र वज्रयानी बौद्ध दुवै थरीले नेपाललाई पीठका रूपमा पहिचान गर्छन् र दुवै परम्पराका तन्त्रहरूमा पीठहरूका सूचीमा नेपाल समाविष्ट छ, नेपालका नामले अथवा हिमालयका नामले। तन्त्रमार्गका यी दुवै थरी अनुयायीले दीक्षा÷अभिषेकपछि पूर्वसेवारपुरश्चरणका क्रममा क्षेत्र-उपक्षेत्र आदि विविध वर्गीकरणमा बाँडिएका पीठहरूको यात्रा गर्नुपर्छ।
यिनीहरूको शौचाशौच, भक्ष्याभक्ष्य आदि आचार-विचार र चिन्तन-प्रणालीमा पनि समानता छ, यस मानेमा यिनीहरू एकआपसमा धेरै निकट छन्। वास्तवमा, मन्त्रयानी शैवको निकटता वैदिक ब्राह्मणसँग भन्दा वज्रयानी बौद्धसँग बढी छ। त्यसैले, शैव-शाक्तहरू र वज्रयानी बौद्धहरूले काष्ठमण्डपजस्ता मण्डप सत्तल आदिको उपयोग प्रयोग सँगसँगै मिलेर गर्थेजस्तो मलाई लाग्छ। यस किसिमको समन्वयलाई मध्यकालका शासकहरूले पनि बढावा दिन्थे। सूक्ष्म चिन्तनको तहमा भने उनीहरूबीच भेद अवश्य थियो, तर सांस्कृतिक तहमा उनीहरू एक थिए। प्रसंगवश भनिहालौं, आधुनिक समयको नयाँ राजनीतिको प्रभावमा हिन्दु र बौद्धलाई धेरै नै अलग देखाउने गलत अभ्यासहरू भए-भइरहेका छन्।
तीबाट सतर्क रहन र तिनलाई सच्याउन आवश्यक छ। कर्म, पुनर्जन्म र धर्मको बहुलतामा बराबर विश्वास गर्ने अनि उही वा उस्तै देवीदेवता पूज्ने हिन्दु, बौद्ध, जैनबीच समानता बढी छ। यिनीहरूबीचको भेद भनेको हिन्दु मुस्लिम र क्रिस्चियनबीचको भेदजस्तो होइन। पुनर्र्निर्मित काष्ठमण्डपमा बसी मन्त्रयानी शैव-शाक्त र वज्रयानी बौद्ध सबैले सहकार्य गर्न सकून् र सांस्कृतिक समन्वयको प्राचीन परम्परालाई बढाऊन् भन्ने शुभकामना।
(प्राध्यापन, अक्सफोर्ड विश्वविद्यालय)