टुँडिखेलमा रोपियो खरिको बोट
काठमाडौं : टुँडिखेल मैदानमा कुनै समय दुई ओटा खरीका बोट थिए। एउटा बोट राजनीतिक र प्रशासनिक आस्थासंग जोडिएको थियो। अर्कोले सांस्कृतिक पहिचान बोकेको थियो। त्यो इतिहास आज कहाँ छ? रुखसँग जोडिएका सांस्कृतिक चाडपर्वको अवस्था कस्तो छ? खरीबोटको अवशेष खोज्दै टुँडिखेल पुग्नेको मनमा यस्तै प्रश्न आउँछ। पुराना पुस्तासँग खरीबोटको सम्झना मात्र बाँकी छ। अनि नयाँ पुस्ता यसबारे पुरै अनविज्ञ छन्। अतिक्रमणको जालोमा फसेको टुँडिखेल स्वयम् पनि त्यही खरीबोटको छाया खोज्दै छ।
शनिबार बिहान तिनै पुराना र नयाँ पुस्तालाई सम्बोधन गर्दै अकुपाई टुँडिखेलका अभियान्ताले खरीका बोट रोपेका छन्। राजनीतिक परिवर्तनसँगै साघुँरिदै गएको टुँडिखेलले पछिल्लो समय आफ्नो इतिहास र संस्कृतिक पहिचान गुमाउँदै गएको छ। टुँडिखेलयको यही साखलाई जोगाउन अभियान्ताका साथै नागरिक स्तरबाट खरीको बोट रोपिएको हो। अभियानका संयोजक विजय श्रेष्ठ भन्छन्, ‘टुँडिखेलमा रहेको खरीको बोट काटिएको थियो। त्यसलाई पुनः जीवन दिन नयाँ रुख रोपिएको हो।’
नयाँ पुस्तालाई खरीबोटप्रति अपनत्व जगाउन १३ वर्षीया आरिया श्रेष्ठलाई पानीले विरुवालाई सिन्चित गर्न लगाइएको थियो। प्रकृति र संस्कृति बचाउनु पर्छ भन्दै गत हप्ताबाट सुरु भएको ‘अकुपाई टुँडिखेल’ अभियानको दोस्रो हप्ता खरीको बोट रोपिएको हो।
इ.सं. १९२४ मा टुँडिखेलमा रहेको सोही खरीको बोट मुनि उभिएर चन्द्र शमशेरले दास मुक्ति घोषणा गरेका थिए। चौतारा शैलीको आकार दिइएको उक्त बोट भएकै स्थानबाट इ.सं. १९३४ मा जुद्ध शमशेरद्वारा भूकम्प राहतको घोषणा भयो।
नेपालमा राणा शासन सुरु भएपछि टुँडिखेल सैनिकहरुको परेड मैदान बन्दै आएको छ। १८४८ जंगबहादुर राणाले राजा राजेन्द्र शाहलाई चुनौती दिन यहि खरिबोटमा सैनिक उतारेका थिए।
आफूलाई प्रधानमन्त्री घोषित गर्न वीर शमशेर १८८५ मा टुँडिखेल कै खरीबोट पुगेका थिए। साथै हिटलरको विरुद्धमा मित्रराष्ट्रहरुको सफलताको घोषणा र उत्सवको लागि पनि टुँडिखेलको खरीबोट प्रसिद्ध थियो।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, नेता गणेशमान सिंहदेखि स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरु, बेलायती माहारानी एलिजाबेथ द्वितीयलाई समेत सोही खरीबोटमा अभिनन्दन गरिएको थियो। राणाको तर्फबाट ‘कु’ भएमा सेनालाई परिचालन गर्ने थलो खरीबोट नै थियो।
सर्वसाधारणलाई खेलकुद, व्यायाम गर्न खुला छोडिएको हालको टुँडिखेलको पछिल्लो भागमा एक मुखे ठिङ्ग उभिएको दुई खरीका बोट थिए। स्थानीय नेवार ती मध्ये एउटा बोटमालाई याकः सिमा (एक्लो रुख) भन्थे। यो रुख वरपर सांस्कृतिक गतिविधि हुन्थे। भोज खाने, गुठी मनाउने, गुरुमालाई भात खुवाउने कार्य हुन्थ्यो। वरिष्ठ वातावरणविद् तीर्थबहादुर श्रेष्ठ भन्छन्, ‘यहाँ एक मुरी चामलको भात र एउटा सिंगै राँगाको मासु चढाइन्थ्यो।’ आफ्नो बालापन स्मरण गर्दै श्रेष्ठ भन्छन्, ‘किलागलदेखि टुँडिखेलसम्म कतै नबिसाइ त्यो प्रसाद गुरुमापालाई खुवाउन ल्याउँथ्यौं।’
टुँडिखेल र खरीको बोट साँस्कृतिक आस्थासँग जोडिएको छ। नेवार समुदायले प्रत्येक वर्ष घोडाजात्रा (पाःचह्रे) मा गुरुमापा रहेको स्थानमा गुठी अजिमा, कंग अजिमा लगायतको खट साट्ने गर्छन्।
श्रेष्ठ सानै छँदा टुँडिखेलमा अहिलेको जस्तो कोलाहल थिएन। यो निकै विशाल थियो। रातमा अँधेरो र सुनसान हुन्थ्यो। खरीको बोटमा गुरुमापा बस्ने भएकाले स्थानीयहरु त्यसलाई भूतप्रेतको संज्ञा दिन्थे। आफ्ना बच्चाहरुलाई त्यहाँ नजान सुझाउँथे। वास्तवमा गुरुमापा तिब्बतबाट आएका गुरु भएको विभिन्न लेखबाट पत्ता लाग्छ।
गुरुमापा मोटोघाटो र अग्ला थिए। साथै उनलाई धेरै खानु पर्थ्यो। त्यसैले बच्चालाई तर्साउनु परेमा उनैको प्रतीक देखाइन्थ्यो। स्थानीय केटाकेटी गुरुमापालाई दुःख दिन खरीबोटसँगै दुई इँटा जोडेर जान्थे। भोलिपल्ट हेर्न आउँदा त्यो छुट्टिसकेको हुन्थ्यो। वास्तवमा गुरुमापा कुनै दैत्य नभएर काठमाडौं उपत्यकामा बुद्धधर्मका बारेमा जान्न र सिक्न आएको बताइन्छ।
नागरिक अभियन्ताले काठमाडौंमा रहेको एक मात्र विशाल मैदान टुँडिखेललाई बचाउन ‘अकुपाई टुँडिखेल’को अवधारणा ल्याएका हुन्। राजनीतिक परिवर्तनसँगै सेना र सरकारद्वारा अतिक्रमणमा पर्दै आएको टुँडिखेललाई बचाउन यो अवधारणा ल्याइएको हो। खरीको बोट रोप्ने कार्यक्रम टुँडिखेलको मूर्त-अमूर्त इतिहास र संस्कृति बुझाउने माध्यम बन्ने अभियान्ताहरु बताउँछन्।
नागरिक स्तरबाट कात्तिक २३ गते शनिबार टुँडिखेल मानव साङ्लोले घेरिएको थियो। अबको तीन महिनासम्म प्रत्येक शनिबार टुँडिखेलसँग जोडिएर सचेतना अभियान संचालन गरिने अभियन्ताले बताएका छन्।