'नेपालले एक इन्च जमिन नि सम्बन्ध र मित्रताको आधारमा छाड्दैन'
तानसेन : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले एक इन्च जमिन पनि सम्बन्ध र मित्रताको आधारमा नछोड्ने दावी गरेका छन्। सीमा विवाद समाधानको लागि सरकारले भारतसंग कुटनीतिक पहल सुरु गरेको बताउँदै उनले वर्तमान सरकारले सीमा विवाद विगतमा भएका सम्झौता, सन्धी, तथ्य र प्रमाणका आधारमा मित्रतापूर्ण आधारमा सल्टाउने विश्वास व्यक्त गरे।
मन्त्री ज्ञवालीले नेपालको सीमाका बारेमा नेपाली जनता, राजनीतिक दल र सरकारको भावना एक रहेको बताए। वर्तमान सरकारले नेपाली भूमि र सीमाका नेपाली जनताको रक्षाका निम्ति क्रियाशील भएर कुटनीतिक तवरले काम सुरु गरेको परराष्ट्र मन्त्री ज्ञवालीले उल्लेख गरे।
'कालापानी लिपुलेक लिम्पियाधुरा नेपालको हो। सबै प्रमाण नेपालसंग सुरक्षित रहेकोले भुमि फिर्ता हुन्छ', उनले भने। कालापानी लिपुलेकका जनताले २०१५ सालमा भोट हालेको, २०१८ सालमा जनगणना भएको, १९९७ सालमा जनताले तिरेको तिरोको रसिद नेपालसंग सुरक्षित रहेको मन्त्री ज्ञवालीले बताए।