गाउँमै इन्जिनियरिङ शिक्षा
प्यूठान : लाखौं खर्चेर प्राविधिक शिक्षा पढ्न सहरमा झर्नुपर्ने झिमरुक क्षेत्रका विद्यार्थीलाई सहज भएको छ। बालशिक्षा माध्यमिक विद्यालय झिमरुक गाउँपालिका ५ मच्छी प्यूठानले यसै शैक्षिक शत्रदेखि सिभिल इञ्जिनियर तर्फको पढाइ सञ्चालनमा ल्याएपछि सहज भएको हो।
प्राविधिक धारमा कक्षा नौदेखि १२ सम्म असिस्टेन्ट सबइञ्जिनियर र सब इञ्जिनियरको पढाइ सञ्चालन भएको छ। गाउँघरमै प्राविधिक विषय पढ्न पाएपछि विद्यार्थी र अभिभावक सुखी भएका छन्। जिल्ला बाहिर गएर चार वर्षे पढाइ पूरा गर्न झन्डै ८/१० लाख रुपैयाँ खर्च लाग्ने गर्छ। अब बढीमा एक लाख रुपैयाँमा विद्यार्थीले पढाइ पूरा गर्ने विद्यालयले जनाएको छ। कक्षा ८ सम्म भृकुटी मावि लिवाङमा पढेका गौमुखी गाउँपालिका ६ लिवाङका समर्पण झाँक्रीमगरले यस वर्षदेखि प्राविधिक विषय पढिरहेका छन्। कक्षा नौदेखि उनले प्राविधिक धार रोजे।
‘भविष्यमा राम्रो सिभिल इञ्जिनियर बन्ने सोच छ’, १३ वर्षीय मगरले भने, ‘पढाइ राम्रै लागिरहेको छ।’ घरबाट आउनजान समस्या भएपछि उनी मच्छीमै बसेर पढिरहेका छन्। उनीजस्तै यस क्षेत्रमा पर्ने दर्जनबढी गाउँका विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन्। प्राविधिक शिक्षा पढ्ने चाहना र क्षमता हुँदाहुँदै पनि कैयौं बालवालिका आर्थिक अभावमा गाउँमै पिल्सिएका पनि खुसी भएका छन्। प्रधानाध्यापक विष्णुप्रसाद शर्माका अनुसार यस क्षेत्रमा पर्ने बालशिक्षासहित १४ वटा विभिन्न विद्यालयका विद्यार्थीले प्राविधिक शिक्षा पढिरहेका छन्।
‘विद्यार्थीको आकर्षण सोचेभन्दा राम्रो भयो’, उनले भने, ‘कक्षा नौबाट पढाइ सुरु भएको छ। पहिलो वर्ष ४१ जना विद्यार्थी भर्ना भएका छन्।’ २९ जना छात्र र १२ जना छात्रा भर्ना भएको उनको भनाइ छ। लक्ष्मी मावि बांगेफेदी, अमरसिंह मावि सौतामारे, हिरापोखरी निमावी बांगेमरोठ, प्रभात मावि आहालखोला, अमृतजीवन मावि नारीकोट, भृकुटी मावि लिवाङ, जनता मावि टिमुरचौर, सत्य मावि तुषारा, चिरायू मावि चिसावाङ, सिता निमावि तुषारा कुता, सर्वोदय गणेरपानी मावि बाँदीकोट, बलभद्र मावि बाँदीकोट र जनविकास आधारभूत निमावि सौतामारेफेदीका विद्यार्थीले पढ्दै आएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक विषयको पढाइ सञ्चालन गर्न ल्याब व्यवस्थापन तथा सामग्री खरिदका लागि ५० लाख रुपैयाँ अनुदान दिएको शर्माले बताए। मावि तृतीय श्रेणीमा इञ्जिनियर र निमावि तृतीय श्रेणीमा सब इञ्जिनियर गरी दुई शिक्षकको दरबन्दी छ। जिल्लामा सिभिल इञ्जिनियरसँगै कृषि, बालीविज्ञान समेत पढाइ भइरहेको छ।