मधेशमा दलितमाथि विभेद–विभेद

मधेशमा दलितमाथि विभेद–विभेद

घटना : १

कार्तिक २३ गते सुखीपुर नगरपालिका ४ कविलासी गाउँमा सुर्यनाथ यादवको मृत्युकर्ममा आयोजना भएको भोजमा दलित समुदायले पनि निम्तो पाएका थिए। ३० घर राम र ३ घर पासमान समुदायका सय जना भन्दा व्यक्तिहरु साँझ ७:३० बजे भोज खान पुगे। रामप्रसाद यादवको ‘खलिहान’मा भोज खान बसे। पात प¥यो। भात, दाल, तरकारी सबै पालोपालो पाए। यहाँ भोजमा खान सुरु गर्नुभन्दा अघि खानामा घ्यु दिने चलन छ। घ्यु दिइरहैकै बेलामा दलित समुदायको अगाडीको पात खोसेर केही व्यक्तिहरुले फाले। उनीहरुलाई भोज खान दिएनन्। बालबालिकाहरु रुदैँ घर फर्के।

घटना : २

गत भदौँ २५ गते सिरहा नगरपालिका ११ भलुवाही गाउँमा २५ वर्षीय विरेन्द्र महरालाई पनि मुत्युकर्मको भोज खाँदै गर्दा सोही ठाउँका जोगिन्द्र कामैतले पात खोसेका थिए। उनी भोज नखाएर घर फर्केका थिए। प्रहरीमा उजुरी दिन जाँदा गाउँलेको दबाबमा मिलापत्र गर्न पुगे।

घटना : ३

गत भदौँ ९ गते गाउँकै चिया पसलमा चिया खान बसेका ७१ वर्षीय गनौरा मोचीउपर कुटपीट भयो। सोही गाउँका किसुन यादवले उनलाई भेदभाव गर्दै हिर्काएको थियो। त्यो घटनामा पनि प्रहरीमा दर्ता भएन। गाउँमै मिलापत्र भयो।

यति मात्रै होइन, गत साउन १९ गते भुमिसुधार कार्यालयमा मोही जग्गाको नामसारीमा मुद्दामा तारिख लिन पुगेका नरहा गाउँपालिका ५ बलुवाटोलका जुगुतलाल मोचीउपर कुटपीट भयो। सानो जात भएर ठूलो जातसँग मुद्दा लड्न आउने भन्दै आफुमाथि कुटपीट भएको पीडितले बताएका छन्।

यी प्रतिनिधि घटना हुन्। जातिय आधारमा भेदभावका घटना गाउँगाउँमा हुन्छन्। कतिपय पीडित स्थानीयको दबाबमा कानूनी उपचारमा जाँदैनन्। कुनैकुनै ठाउँको पीडित प्रहरी कार्यालय सम्म पुगेपनि उनलाई अनेक प्रलोभन र दबाब दिएर घटना थामथुम पार्छन्। विगत चार वर्षमा सिरहामा जम्मा ६ वटा जातिय छुवाछुतको मुद्दा दर्ता भएका छन्। आर्थिक वर्ष ०७६/७७ मा पहिलो कविलासी गाउँका घटना दर्ता भएको हो।

कार्तिक २८ गते प्रहरीमा जातिपातिको आधारमा छुवाछुत अन्य भेदभाव व्यवहार गर्न नहुने व्यहोराका मुद्दा दर्ता भएका छन्। घटनापछि आरोपितहरु सोही गाउँका उपेन्द्र यादव, औरही गाउँपालिका ३ पोखरियाका रामचन्द्र यादव र रामपृत यादव गाउँ छाडेर फरार छन्। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराले बताए।

‘निम्तो पाएर हामी भोजमा गएका थियौँ। जसको घरमा भोज थियो उनी स्वागत गरे तर, सोही समुदायका केही व्यक्तिहरुले अपमान गरे,’ कविलासी गाउँका चन्द्रदेव पासमानले भने,‘खानै लाग्दा पात खोसेर फालिदियो। भोज नखाई घर फर्के।’ अब उपरान्त कसैको भोजमा निम्तो दिएपनि खान नजाने निधो गरेको उनले सुनाए। घटना मिलाउन गाउँमा दबाब बढ्दै गएको उनले बताए।

देशमा व्यवस्था फेरियो। तर, दलितमाथि हुने भेदभाव अझै हट्न नसकेको दलित अगुवा सँजय महरा बताउँछन्। ‘गाउँगाउँमा भोजभतेर, सार्वजानिक ठाउँमा, विद्यालय, कार्यालयमा भेदभाव भइरहेको छ,’ उनले भने,‘अधिकतर घटनामा दलित समुदाय पीडा सहेरै बस्नु परेको छ। कानून कार्यान्वयन प्रभावकारी छैन्।’ भेदभाव गर्ने कानून बमोजिम कारवाही थाले घटनामा कमी आउने उनको भनाई छ। विभेद अन्त्य गर्न दलित समुदायपनि एक हुनुपर्ने उनले तर्क गरे।

कानून प्रभावकारी लागु नभएको अर्का अधिकारकर्मी मोहन पासमानको भनाई छ। ‘व्यवस्था छ। तर व्यवहारमा लागु छैन्,’ उनले भने,‘कुनैपनि घटनामा कारवाही नहुँदा त्यस्तै प्रकृतिका घटना झन बढ्ने गरेको छ।’ मधेशी समाजमा अहिलेपनि दलितलाई छुटै बसाएर भोज खुवाउने चलन कायमै रहेको उनले सुनाए। जातको आधारमा हुने भेदभावबाट दलित समुदाय अक्रान्त भएको उनले बताए।

प्रेम गर्दापनि अपहेलित

सखुवानन्कारकट्टि गाउँपालिका ५ महेशवारी गाउँकी २२ वर्षीया सुनिता रामले कल्याणपुर नगरपालिका १० बङठियाका २३ वर्षीय आकाश भन्ने बरुणकुमार मण्डलसँग प्रेम गरे। उनले प्रेम गर्दा अपहेलित हुनुपर्छ भनेर सोचेकि थिइनन्। तर, उनीसँग त्यस्तै घटना भयो। प्रेमलाई विवाहमा परिणत गरेसँगै दुःख भोग्न बाध्य छिन्।

विहेपछि घर फर्केका बरुणलाई उनको घरपरिवारको सदस्यले भगाए। यता, सुनिता बिच्चलीतमा छिन्। उनलाई घरमा प्रवेश गर्न दिएका छैनन्। तल्लो जातकी केटी भन्दै उनीमाथि दिनहुँ कुटपीट भइरहेको छ। बरुणको आसमा उनी घर छोडेकी छैनन्। बरुणको गाईगोठमा बस्दै आएकी छिन्।

‘प्रेम गर्दापनि दलित भएका कारण सुख पाइनन,’ उनले दुखेसो पोख्दै भनिन,‘घरमा बस्न दिएको छैन्। विहे गरी घर ल्याएको पतिको अतोपतो छैन्। कहाँ जानु ? सासुले दुःख दिँदैछ।’ युवतीलाई केही नहोस भनेर प्रहरीले समय समयमा हेरचाह गर्छन्।

पे्रम विवाह गरी काठमाडौँ भागेका सुनिता र बरुणलाई बङ्ठियास्थित घरका सदस्यले बेलाएपछि घर फर्किएको गाउँलेहरु बताउँछन्। ‘घर फर्किएको दोस्रो दिनमै परिवार र आफन्तले घर बाहिर डेरा खोजेर राख्ने भन्दै फकाएर आकाशका फुपाजु गोलबजार नगरपालिका १० बेतौनाका नन्दकुमार मण्डलको घर पु¥याए’ सुनिताले भनिन,‘फुपाजुको घरमा बसेको दुई दिन नबित्दै पतिलाई कामको निहुँ देखाएर भगाए, त्यस दिनदेखि फर्किएको छैनन्।’

‘पहिले पतिलाई गयाब गरे। त्यसपछि फुपु÷फुपाजु र घरका अन्य मानिसले कुटपिट गर्दै घरबाट निकाले,’उनले भनिन्, ‘जाने ठाउँ कतै नपाएपछि बाध्य भएर पतिको घर गएकी हुँ। घरमा पस्नै नदिएपछि आँगनसँगै जोडिएको गोठमा बस्ने र गाउँघरमा मागेर हातमुख जोड्दै आएकी छु।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.