नेश्नल मेडिकल कलेजमा सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागको छापा
वीरगन्ज : वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजमा आइतबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारको छ ।
शिक्षा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको निवेदन अनुसार मेडिकल कलेज तथा त्यसका सञ्चालकको सम्पत्ति छानविन थालेको विभागले आइतवार नेशनल मोडिकल कलेजमा छापा मारेको हो ।
विभागबाट उपसचिवको नेतृत्वमा आएको ५ सदस्यीय टोलीले मेकिडल कलेजमा दिउँसो १ बजे नै छिरेर आवश्यक कागजातको अनुसन्धान गरिरहेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
छापा मार्न पुगेको विभागको टोलीले मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीको कार्यकक्षमै कागजात र फाइलको अनुसन्धान गरेको छ । प्रहरीका अनुसार विभागको टोली अहिले पनि मेडिकल कलेजमै छ । मेडिकल कलेजका चार्टर्ड एकाउन्टेन्ट वीरगन्ज बाहिर भए पनि उनलाई विभागको टोलीले तत्काल उपस्थित गराएको छ ।
मेडिकल कलेजले विद्यार्थीहरुबाट सरकारले तोकेभन्दा बढी असुलेको रकमबारे पनि विभागको टोलीले छानबिन गरिरहेको छ । विद्यार्र्थीहरुसँग बढी लिएको शुल्क फिर्ता गर्न शिक्षा मान्त्रालयले पटक पटक पत्रचार गर्दा पनि कलेजले अटेरी गरेकाले विभागको टोलीले शुल्क सम्बन्धी सबै फाइल पनि झिकाएर अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ ।
नेशनल मेडिकल कलेजका सञ्चालक एंव प्रबन्ध निर्देशक अन्सारी नेपाल मेडिकल कलेज एसोसिएशनका केन्द्रीय अध्यक्ष समेत हुन् । सत्तारुढ दल नेकपाका नेता समेत रहेका अन्सारीमाथि राजनीतिक आडमा विद्यार्थीमाथि शोषण गर्दै अकुत सम्पत्ति कमाएको भनी आरोप लाग्दैआएको छ ।