सीमाबारे कूटनीतिक वार्ताको तयारी

सीमाबारे कूटनीतिक वार्ताको तयारी

काठमाडौं : अतिक्रमित भूभाग फिर्ता गर्न नेपाल र भारतबीच कूटनीतिक तहमा वार्ता हुने भएको छ। राजनीतिक तहमा पुगेको विषय सचिवस्तरीय संयन्त्रमा लैजाने तयारी छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्रालयलाई समस्या समाधानका लागि कूटनीतिक वार्ता गर्न निर्देशन दिएका छन्। लगत्तै त्यसको पहल भएको हो। ‘काम भइरहेको छ। छलफल पनि भइरहेका छन्। हामी छिट्टै वार्ताको चरणमा प्रवेश गर्नेछौं’, परराष्ट्रसचिव शंकरदास वैरागीले अन्नपूर्णसँग भने, ‘यो विषयलाई किनारा लगाउनेतर्फ अग्रसर छौं। समस्यारहित सम्बन्ध सबैको चाहना हो। यसमा हामी लागेका छौं।’

कालापानी र सुस्ताबाहेक अन्य क्षेत्रमा दसगजा खाली गर्ने, सीमास्तम्भ राख्ने र मर्मत गर्ने काम भइरहेका छन्। अन्यत्रका काम टुंगिएकाले हस्ताक्षर गर्नुपर्ने र विवादित दुई क्षेत्रलाई राजनीतिक तवरमा टुंग्याउनुपर्ने प्रस्ताव भारतले गरेको छ। तर, नेपालले सबैमा एकैपटक हस्ताक्षर गर्नुपर्ने अडान राखेको छ।

काठमाडौंमा २०७१ साउनमा भएको विदेशमन्त्रीस्तरीय संयुक्त आयोगको तेस्रो बैठकले परराष्ट्रसचिव स्तरमा बाँकी क्षेत्र पनि टुंगोमा लैजाने आधार तयार गर्न निर्देशन दिएको थियो। त्यसपछि दुईपटक संयुक्त आयोग बैठक बसे पनि सचिवस्तरमा अतिक्रमित भूभागबारे टुंगोमा पुगेको छैन।

भारतले आफ्नो नयाँ नक्सामा कालापानी क्षेत्रसमेत पारेपछि यो विषय पुनः बहसमा आएको छ। नेपालमा भारतीय कदमको चर्को विरोध सुरु भएको छ। लामो समयदेखि सल्टिन नसकेको विषयलाई स्थायी समाधान दिने अवसर दुवै मुलुकको राजनीतिक नेतृत्वसमक्ष आएको सरोकारवाला बताउँछन्।

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले पनि समस्या समाधान गर्न कूटनीतिक तवरमा छलफल भइरहेको बताए। ‘दिल्ली र काठमाडांैमा लगातार वार्ताहरू भइरहेका छन्’, उनले दिल्लीबाट टेलिफोनमा भने, ‘नतिजा आउन बाँकी छ।’

वार्ता प्रक्रिया अघि बढाउन उनले अघिल्लो साता भारतीय विदेश सचिवलाई भेटेका थिए। ‘भारत पनि वार्ताबाट समस्या समाधान गर्न तयार छ’, उनले भने, ‘यो पुरानो विषय हो, नयाँ राजनीतिक नक्सा बाहिर आएपछि बल्झियो। यसलाई अब बल्झिरहन दिनु हुँदैन भन्ने महसुस दुवैतर्फ भएकाले समाधानको बाटो तय होला।’ भारतीय नक्सा सार्वजनिक भएपछि नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा आफ्नो भएको उल्लेख गर्दै ती भूभाग फिर्ता गर्ने विज्ञप्तिमार्फत स्पष्ट पारेको छ।

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले राजनीतिक स्तरमा वार्ता गरी समाधान गर्न सकिने सुझाव प्रधानमन्त्रीलाई दिएको बताए। नेपालसँग भएको प्रमाणका आधारमा भारतीय राजनीतिक नेतृत्वसँग वार्ता गर्न सके मात्र कालापानी र सुस्ताको समस्या सल्टिने उनको तर्क छ। ‘म परराष्ट्रमन्त्री भएका बेला प्रमाणको आधार खोजेर सम्बन्धित स्थानमा राख्न लगाएको छु’, उनले भने, ‘अहिले भारत–नेपाल दुवैतर्फ बलियो सरकार छ। दुवै सरकारले निर्णय लिन सक्छन्। त्यसैले समस्या समाधान गर्न राजनीतिक तहमा छलफल जरुरी छ। कर्मचारीले नसक्ने भएरै कालापानी र सुस्ता राजनीतिक तवरबाट समाधान गर्न छाडेका हुन्।’

उनका अनुसार विगतमा हस्ताक्षर हुने अवस्था थिएन। ‘अहिले त्यो अवस्था छ। यो अवसरलाई खेर जान दिनु हुँदैन’, उनले भने, ‘प्रधानमन्त्रीलाई जनता, सबै दल, बुद्धिजीविको साथ छ।’

पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले कूटनीतिक तवरबाट आधार तय गरी राजनीतिक तहमा वार्ता गर्नुपर्ने सुझाव दिएका छन्। ‘जसरी नाकाबन्दी नहटेसम्म भारत भ्रमण गर्दिनँ भन्ने अडान प्रधानमन्त्रीले लिएका थिए त्यसैगरी एकतर्फी नक्सा फिर्ता नलिएसम्म वार्तामा नबस्ने अडान लिनु राम्रो हुन्छ’, उनले ट्विटमा भनेका छन्, ‘अहिले वार्तामा बस्दा एकतर्फी नक्सालाई मान्यता दिएजस्तो हुन्छ।’ उनले सरकारलाई नक्साबारे विरोधपत्र लेख्न सुझाव पनि दिएका छन्। यहाँ सचिवले राजदूतलाई र दिल्लीमा राजदूतले त्यहाँको सचिवलाई दिनुपर्ने उनको सुझाव छ।

भारतले नेपालसँगको विषयभन्दा अर्को छिमेकी चीनसँगको विवादलाई बढी महत्त्व दिएर वार्ताको तयारी गरेको छ। उसले चीनसँगको सीमा विवादमा छलफल गर्न राजनीतिक तहमा वार्ता गर्न लागेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाकार र चीनका तर्फबाट विदेश राज्यमन्त्रीले वार्ताको पहल गरेका हुन्। भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको ब्राजिल भेटले सीमा समस्या सल्टाउन अर्को साता बैठक बस्ने तय गरेको हो।

पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले वार्ताबाटै समाधान गर्न सुझाएका छन्। दुवैतर्फ दरिलो सरकार रहेकाले यसलाई समाधानको बाटोमा लैजान नेतृत्व लाग्नुपर्ने उनको सुझाव छ। ‘कर्मचारी तहमा वार्ता गरी आधार तय गर्ने हो। निर्णय लिने नेतृत्वले हो’, उनले भने, ‘भारतसँग छलफल गरी कूटनीतिक दक्षताका आधारमा आफ्नो भूभाग फिर्ता गराउन सक्नुपर्छ।’ यसअघि बनेको विभिन्न समितिका प्रतिवेदन अध्ययन गरी वार्तालगायतको विश्लेषण गर्दै सरकार अगाडि बढ्नुपर्ने सुझाव उनको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.