वित्तीय विवरण निराशाजनक

वित्तीय विवरण निराशाजनक

काठमाडौं : वाणिज्य बैंकहरूको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरण निराशाजनक देखिएको छ। बैंकहरूले सार्वजनिक गरेको साउनदेखि असोजसम्मको अवस्था अघिल्ला वर्षभन्दा निराशाजक देखिएको हो। सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहाल यति खराब अवस्था पछिल्ला वर्ष नदेखिएको बताउँछन्।

बैंकबीच बढ्दो प्रतिस्पर्धा र राष्ट्र बैंकको कसिलो नीतिका कारण नाफा बढ्न नसकेको बैंकरको भनाइ छ। ‘राष्ट्र बैंकले तोकेअनुसार खोलिएका शाखामा त समस्या छैन’, दाहाल भन्छन्, ‘त्यसबाहेक पनि बैंकका शाखा खोल्ने प्रतिस्पर्धाले नाफामा प्रभाव असर परेको हुन सक्छ।’ अर्का बैंकरले पनि बैंकबीच अस्वस्थ प्रतिस्पर्धा देखिएका कारण नाफा घट्न पुगेको बताए। सीईओ दाहाल राष्ट्र बैंकको ब्याजदरअन्तर घटाउने नीतिगत व्यवस्थाले पनि बैंकको नाफा खुम्चिन सहयोग पुगेको बताउँछन्।

मुलुकको अर्थतन्त्र ७ प्रतिशतको फराकिलो वृद्धि पछ्याएको तथ्यांक आइरहँदा बैंकको नाफा भने घटेको छ। ‘नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस)’ अनुसार गणना गर्दा २८ वाणिज्य बैंकको नाफा ६ प्रतिशत बढेको भए पनि राष्ट्र बैंकले तोकेको मापदण्डअनुसार बैंकको नाफा घटेको छ। बैंकले सेयरधनीलाई वितरण गर्न पाउने खाताको रकम अघिल्लो वर्षको असोज मसान्तको तुलनामा ३६ प्रतिशत घटेको छ।

राष्ट्रिय वाणिज्य, एनएमबी र कुमारी बाहेक सबै बैंकको वितरणयोग्य नाफा घटेको छ। एनआईसी एसिया र सानिमा बाहेक कुनै पनि बैंकले यो नाफाबाट २० प्रतिशतभन्दा बढी लाभांश दिन सक्दैनन्। १६ बैंकको प्रतिफल दर १५ प्रतिशतभन्दा कम छ।

२८ मध्ये ११ बैंकको निष्कृय कर्जा बढेको छ। सेञ्चुरी र नेपाल इन्भेस्टमेन्ट बैंकको खराब कर्जा बढेको छ। दुई वर्षयता व्यवसायीले उधारो बिक्री बढेको बताउन थालेका थिए। त्यसको असर बैंकमा भर्खरैमात्र पर्न थालेको तथ्यांकले देखाएको छ। उधारो बढेपछि खराब कर्जा पनि थपिन थालेको छ।

बैंकको यस्तो प्रतिवेदनले राष्ट्र बैंकको वित्तीय स्थायित्व कायम गर्ने जिम्मेवारीमा चुनौती थप्छ। राष्ट्र बैंकका अधिकारी बैंकको नाफा घट्दैमा समस्या नपर्ने बताउँछन्। तर, खराब कर्जा बढ्ने र कर्जा डुब्ने अवस्थालाई भने नियामकले अझै गहिरोसँग नियाल्नुपर्ने अवस्था आएको छ।

राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले भने बैंकका सञ्चालक र व्यवस्थापकले जनताको सम्पत्ति आफ्नै पैसा जसरी खर्च गरेको भन्दै सार्वजनिक मञ्चबाटै आलोचना गरिरहेका छन्। बैंकर भने यस्तो आलोचना गर्नेभन्दा गलत काम गर्नेलाई कारबाही गर्न नियामक निकाय अग्रसर हुनुपर्ने बताउँछन्।

गत वर्ष असोज मसान्तमा २५ खर्ब निक्षेप जम्मा पारेका बैंकले यो वर्ष २८ खर्ब ७७ अर्ब पुर्‍याएका छन्। कर्जा पनि २२ खर्ब ६० अर्बबाट बढाएर २६ खर्ब २० अर्ब पुर्‍याएका छन्। प्रतिशाखा खर्च नाफामा गर्नेमा भने पुराना बैंक नै अगाडि देखिएका छन्। स्ट्यान्डर्ड चार्टर्ड, नबिल, हिमालयन र नेपाल इन्भेस्टमेस्ट बैंकको प्रतिशाखा नाफा १ करोडभन्दा बढी छ।

गएको साउनदेखि असोजसम्म तीन बैंकको नाफा १ अर्ब रुपैयाँ नाघेको छ। पहिलो त्रैमासमा अर्ब नाफा कमाउनेमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक पहिलो स्थानमा छ। निजी क्षेत्रका नबिल र एनआईसी एसिया बैंक पनि तीन महिनामै ‘विलियनर्स क्लब’मा परेका छन्। अघिल्लो साल अर्ब कमाएको नेपाल इन्भेस्टमेन्ट बैंक भने यो वर्ष उक्त समूहबाट बाहिरिएको छ।

बैंकर आफ्नो नाफा घटे पनि बजारमा केही सकारात्मक प्रभाव परेको बताउँछन्। नयाँ शाखा खुल्ने क्रम बढेको र कर्मचारी खर्चमा समेत बढी पैसा खर्चंदा नयाँ रोजगारी सिर्जना भएको उनीहरू बताउँछन्। बैंकबीचको प्रतिस्पर्धाले निक्षेकर्तालाई उच्च ब्याजदर प्राप्त भएको र ऋणीको बार्गेनिङ पनि बढेको सीईओ दाहाल बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.