६० मिटर पुल बन्न ८ वर्ष !
बेंसीसहर : एउटा सडक पुल बनाउन कति वर्ष लाग्ला ? लमजुङको दोर्दीखोलामा भने ६० मिटर लम्बाइको पुल बनाउन ८ वर्ष लागेको छ। दुई वर्षमा निर्माण सक्ने सम्झौता भएको पुल बनाउन ठेकेदारले ८ वर्ष लगाएको हो।
बेंसीसहर–११, चितीको चित्रे र दोर्दी गाउँपालिका–४ नौथरको शेरा जोड्ने पक्की पुल बनाउन ०६८ चैतमा शिलान्यास गरिएको थियो। सम्झौताअनुसार ०७० असार मसान्तसम्ममा निर्माण सक्नुपर्ने थियो । पुल निर्माणको जिम्मा हेटौंडाको सपना निर्माण सेवा र धादिङको जयबाबा निर्माण सेवाले लिएका थिए ।
सम्झौतापछि लामो समयसम्म निर्माण व्यवसायीले काम नगरेको स्थानीय मोहनप्रसाद घिमिरेले बताए। ‘एउटा पुल बनाउन ८ वर्ष लाग्ने भएपछि देशको विकास कसरी अघि बढ्ला ? ’, उनले भने, ‘विकासमा ढिलासुस्ती र लापरबाही गर्ने ठेकेदारलाई कारबाही नहुँदासम्म यस्तै बेथिति रहिरहन्छ।’ पुल बनेपछि गाडी गुड्न र सामान ओसारपसार गर्न सहज भएको उनले बताए ।
काम नगर्नेलाई सरकारले कालोसूचीमा राखेर कारबाही गर्ने चेतावनी दिएपछि गत जेठदेखि ठेकेदारले पुल निर्माणमा गति दिएको थियो। कारबाहीमा परिने डरले ठेकेदारले हतारहतार पुल बनाएको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताए । ‘लगातारको ताकेतापछि बल्ल पुल बनेको छ । दोर्दीवासी खुसी बनेका छन्’, उनले भने, ‘पुलले दोर्दी गाउँपालिकाका नौथर, ढोडेनी, पाचोक, श्रीमञ्ज्याङ, फलेनीलगायतका बासिन्दालाई खाद्यान्न ढुवानी र गाउँमा उत्पादित उपज निकासी गर्न सहज भएको छ ।’
६० मिटर लम्बाइ र ६ मिटर चौडाइको यो पुल २ करोड ८० लाख रुपैयाँमा ठेक्का दिएको डिभिजन सडक दमौलीका इन्जिनियर ठाकुर भण्डारीले बताए । भौतिक निर्माणलाई गति दिन गृहमन्त्रीको योजनाअनुरुप ठेकेदार र सडक कार्यालयलाई पटकपटक ताकेता गरेको भण्डारीले बताए ।
सपना र जयबाबा जेभीले संयुक्त ठेक्का लिएको पुल पछिल्लो समय जयबाबाले बनाएको थियो । जयबाबाका साइट इन्चार्ज धनबहादुर बमले भूकम्प, नाकाबन्दी, बजेट अभाव, निर्माण सामग्री अभाव, पुल निर्माणस्थलको चट्टान र बिलिङ समस्याले ढिलाइ भएको दाबी गरे ।
निर्माण सुरु भएको ७ वर्ष ८ महिना पछि गत मंसिरमा पुल ढलान भएको थियो। ढलानपछि २ महिनामा सक्ने बताएको ठेकेदार कम्पनी काम छाडेर बेपत्ता भएको थियो। सडक डिभिजनले निर्माण कम्पनीलाई सम्झौता रकमको १० प्रतिशत जरिवाना गरेको छ ।