सडक अतिक्रमण गरी बनाइएका संरचना हटाइने
दोलखा : मुडे–जिरी सडकअन्तर्गत दोलखा जिल्लाभित्र पर्ने सडक अतिक्रमण गरी बनाइएका भौतिक संरचना हटाइने भएको छ। मुडे–जिरी सडक तथा पुल निर्माणमा बाधा उत्पन्न भएपछि सडक अतिक्रमण गरी बनाइएका संरचना हटाइने भएको हो।
अतिक्रमण गरी बनाइएका संरचना हटाउन गरेको आग्रहलाई बेवास्ता गरेपछि प्रशासनले भीमेश्वर नगरपालिका–५, नयाँपुलमा रहेको तामाकोसी बजार मंसिर पहिलो साताभित्र हटाउन अन्तिम पटक सम्बन्धित पक्षलाई सूचना दिइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए।
अतिक्रमण गरी बनाइएका संरचना सम्बन्धित व्यक्तिले शनिबारसम्म नहटाएमा प्रशासनले बल प्रयोग गरेर भए पनि अतिक्रमित स्थान खाली गराउने प्रजिअ रिजालले जानकारी दिए। तामाकोसी बजार मुडे–जिरी सडकसँगै जोडिएको चल्तीको बजार हो। सीताकुण्ड सामुदायिक वन क्षेत्रभित्र पर्ने तामाकोसी बजारमा निर्मित संरचनाले तामाकोसी नदीमा पुल हाल्न मात्र नभई नयाँपुल–डाँडाखर्कसम्म पुग्ने सडक विस्तारमा पनि बाधा पुगिरहेको सडक कार्यालयको भनाइ छ।
मुडे–जिरी सडक कालोपत्रेसहित दुई लेनको बनाइने क्रममा तामाकोसी नदीमा पुल हाल्ने जिप तयार गर्नसमेत अतिक्रमित संरचनाका कारण समस्या भएपछि नयाँपुलमा रहेको अतिक्रमित बस्ती हटाउनुपर्ने भएको हो। अतिक्रमण गरी बनाइएका भौतिक संरचना हटाउन पटक–पटक सूचना टाँँस गर्दासमेत बेवास्ता गरेको सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख धर्मेन्द्र झाले बताए।
बल प्रयोग गरेर भन्दा पनि सहमतिमै अतिक्रमित क्षेत्र खाली गराउन उपयुक्त हुने भीमेश्वर नगरपालिका–५ का वडाध्यक्ष रामचन्द्र बस्नेतको भनाइ छ। स्विस सरकारले लामोसाँघु–जिरी सडक निर्माण गरेदेखि नै स्थापित तामाकोसी बजारमा करिब ८० घरधुरी रहेको अनुमान गरिएको छ।