चौरीको निःशुल्क बिमा
हेलम्बु : हेलम्बु गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण चौंरीको बिमा गरेको छ। गाउँपालिकाको यो निर्णयबाट चौंरीपालक किसान उत्साहित भएका छन्। वर्षको नौ महिनाभन्दा बढी समय खर्क चौंरी चराउने हेलम्बु–२ का पेम्बा शेर्पा चौंरी मर्दा हुने जोखिम कम हुने भएपछि खुसी छन्।
गाउँपालिकाभित्रका फिरन्ते चौंरी गोठलाई लक्षित गर्दै खर्क र गोठमा पालिएका सबै चौंरीको निःशुल्क बिमा योजना अघि बढाइएको हो। सरकार र किसानको संयुक्त लगानीमा पशु बिमा अन्तर्गत किसानले तिर्नुपर्ने बिमांक गाउँपालिकाले उपलब्ध गराउनुपर्ने भएको छ।
७५ प्रतिशत सरकारी अनुदान र २५ प्रतिशत किसान स्वयंको लगानीमा यो बिमा कार्यक्रम आधारित छ। तर गाउँपालिकाले किसानलाई चौंरीपालनमा सक्रिय बनाउन उक्त २५ प्रतिशत आफैं तिर्ने भएपछि किसानलाई निःशुल्क चौंरी बिमाको अवसर मिलेको हो। गाउँपालिकाको निर्णय अनुसार हाल १६ गोठमा रहेका चारसय बढी चौंरीको निःशुल्क बिमा गरिएको छ।
बिमा कार्यक्रमले चौंरी खरिददेखि पालनमा खर्च गरेको आफ्नो लगानी सुरक्षित बनाएको स्थानीय चौरीपालक किसान साङ्गे शेर्पाले बर्ता। एक लाख बढी मूल्य पर्ने चौंरी मर्दा किसानले व्यहोर्नुपर्ने घाटाबाट बिमा कार्यक्रमले मुक्ति मिलेको छ। ‘गोठ सार्दै जाँदा चौंरी बिरामी भएर मर्ने जोखिम हुँन्छ। केहीगरी मरिहालेमा अब भने बिमा कार्यक्रमले लगानी जोगिनेमा ढुक्क बनायो,’ शेर्पाले भने।
पशुको मृत्युपछि घाटा व्यहोर्ने हुँदा विस्तारै चौरीपालनतर्फ किसानको आकर्षण घट्दै आएको थियो। चौंरी पकेट क्षेत्र बनाइ किसानलाई व्यावसायीक पशुपालक बनाउन बिमा कार्यक्रम निःशुल्क बनाएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए। खर्कमै पुगेर गाउँपालिकाले चौंरीको बिमा गराएको छ। बिमासँगै गाउँपालिकाले चौंरी गोठका लागि मोबाइल चार्ज र बिजुली बाल्न मिल्ने सोलार प्यानलसहित उपकरण वितरण गरेको छ।