पर्यटक तान्दै गाईघाट झरना
बागलुङ : गलकोटको खुवा क्षेत्र । तारा, अर्गल, हिल, अमरभूमी जाने मार्ग। घाट पनि त्यही छेउमा ।मानिस दिवंगत भए यही अत्येष्टी गरिन्थ्यो।मोटरबाटो थिएन । वारिपारि जाने फराकिलो गोरेटो पनि थिएन । यो घाट आसपासमै पुरानो जीर्ण झोलुंगे पुल।
त्यो पुल भएर अर्गल जाँदा एउटा मात्र पाइला राखेर यात्रा गर्नुपर्ने भीर। त्यसको ठिक अघि डरलाग्दो अग्लो छहरा खस्थ्यो । ती पुल र भीरबाट कुनै दिन गाईहरु खसेर मरे । गाई मात्र होइन, अनगिन्ती खच्चड पनि खसेर मरे । अनि मान्छेले आफ्नो घाटको नाम परिवर्तन गरेर भन्न थाले 'गाईघाट' ।
समयक्रम बित्दै गयो । गाईघाट भएर मोटर दगुर्न थाले । स्थानीयमा पर्यटन जागरण बढ्दै गयो। 'गाईघाट' र त्यही छेउको पुरानो अग्लो छहरालाई झरना बनाइयो । त्यस आसपासमा बगैचा बनाएर अहिले गाईघाट झरना पर्यटक आकर्षित गर्ने जिल्लाको ताराखोला गाउँपालिकाको गन्तव्य बनेको छ।
प्राकृतिक सुन्दरयुक्त गाईघाट झरनालाई गण्डकी प्रदेश सरकारले पर्यटकीय गन्तव्यका रुपमा सूचीकृतसमेत गरेको छ । ५० मिटर अग्लो झरनाको भित्रपट्टी रहेको गुफाले पनि पर्यटकलाई लोभ्याउँछ । गुफामा पूजाआजा समेत हुन्छ । झरनादेखि नजिकै रहेको भूताह गल्छी पनि त्यहाँको अर्को आकर्षण हो ।
झरनामा छाँगावरोहण 'क्यानोनिङ' को पनि राम्रो सम्भावना रहेको छ । गर्मी याममा झरना अवलोकनसँगै छाँगावरोहण र प्राकृतिक तलाउमा पौडी खेल्ने गरी पूर्वाधार विकास गर्ने योजना बनाइएको छ ।
कहिल्यै पनि धमिलो पानी नखस्ने हुँदा झरनाको सौन्दर्य हरेक याममा उस्तै देखिन्छ । झरनालाई ताराखोला गाउँपालिका छिर्ने प्रवेशद्वारको रुपमा समेत लिइन्छ ।ताराखोला गाउँपालिका १ मा पर्ने गाईघाट झरनामा चालु आर्थिक वर्षको साउनयता १५ हजार बढीले अवलोकन भ्रमण गरेको वडाध्यक्ष यामबहादुर श्रीसले बताए।
पछिल्लो समय पूर्वाधारको विकास र प्रचार प्रसारले गर्दा गलकोट पुग्ने पर्यटक पाहुनाका लागि गाईघाट झरना रोजाइको गन्तव्यमा पर्न थालेको छ । झरनाको रेखदेख र व्यवस्थापन ताराखोला गाउँपालिकाले गर्दै आएको छ । चाडबाड र बिदाका बेला झरनामा बढी चहलपहल हुन्छ ।
दसैं, तिहारको बेलामा एक दिनमै तीन सय बढी पर्यटक गाईघाट पुगेका थिए । गत आर्थिक वर्षमा झण्डै २० हजारले झरनाको अवलोकन गरेका थिए । गाउँपालिकाले गाइघाट झरना हेर्न र तस्बिर खिच्न गत आर्थिक वर्षदेखि ३० रुपैयाँको टिकट व्यवस्था गरेको छ । विद्यार्थीलाई आधा छुट र १० वर्षमुनिको बच्चालाई निःशुल्क गरिएको छ ।
बोलपत्र प्रतिस्पर्धा मार्फत वार्षिक ५० हजारमा ठेक्का दिइएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगरले जानकारी दिए । अघिल्लो आवमा ठेक्काको रकम ३५ हजार रुपैयाँ मात्र थियो । 'हामी पर्यटकीय गन्तव्य बनाउनका लागि गाईघाटमा पूर्वाधार पनि तयार गरिरहेका छौं, मन्दिर, बगैचा, पौडी पोखरी, मन्दिर, विश्रामस्थल, रेष्टुराँलगायत पर्यटनमैत्री पूर्वाधार निर्माण गर्ने तयारी छ,' अध्यक्ष घर्तीले भने, 'नीजि क्षेत्रलाई पनि प्रोत्साहित गरेर पूर्वाधारसहित पाहुनालाई फरक स्वाद मिल्ने मिलाउने गरि काम गर्ने क्रममा छौं।'
टिकटबाट प्राप्त हुने पर्यटन रोयल्टीको रकम प्रदेश र गाउँपालिकामा बाँडफाट गरिनेछ ।शैक्षिक भ्रमण, वनभोजस्थलका रुपमा समेत गाईघाट परिचित छ । ५ वर्षअघि गलकोट घुम्टे पर्यटन विकास केन्द्रको पहलमा झरनाको संरक्षण र विकासको काम अघि बढेको थियो ।