सिमरा पुगेका पर्यटनमन्त्रीले भने- जग्गा अधिग्रहण गरेर भएपनि रनवे विस्तार हुन्छ
सिमरा : संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले काठमाडौंबाट छोटो हवाई दुरीमा रहेको सिमरा विमानस्थलको निरीक्षण गरेका छन्। बाराबाट काठमाडौं फर्कने क्रममा उनले रनवेसहित विमानस्थलको पूर्वाधारको निरीक्षण गरेका हुन्। निरीक्षणपछि मन्त्री भट्टाईले सिमरा विमानस्थलको स्तरोन्नती गर्न सके काठमाडौंको हवाई चापलाई कम गर्न सकिने बताए ।
काठमाडौंबाट १५ मिनेट हवाई दुरीमा रहेको सिमरा बिमानस्थल तराईको पहिलो विमानस्थल हो । यस विमानस्थलबाट सिमरा-काठमाडौं मात्रै उडान हुने गरेको छ । देशको पुरानो विमानस्थल भएपनि पूर्वाधार अभावमा देशका अन्य सहरलाई हवाईमार्गबाट जोड्न सकिएको छैन्।
मन्त्री भट्टराईले सिमरा विमानस्थलको रनवे विस्तार गर्न सकिए मात्रै पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चापलाई कम गर्न सकिने बताए । उनले काठमाडौंमा उत्रन नसकेका विमानलाई सिमरामा अवतरण गराउन सकिने गरी पूर्वाधार थप गर्न आफू गम्भीर रहेको बताए ।
'सिमरा विमानस्थल पनि एउटा विकल्प हो, यसको रनवे मात्रै पनि विस्तार गर्न सकिए ठूला जहाज अवतरण गर्न सकिने अवस्था छ, मन्त्री भट्टराईले भने, 'मैले त्यस विषयमा पनि जानकारी लिएको छु । केही जग्गा अधिग्रहण गरेर भएपनि रनवे विस्तारका लागि पहल गरिनेछ ।'
मन्त्री भट्टराई सिमराबाट पोखराको उडानका लागि मन्त्रालयले कार्यदल बनाएको समेत जानकारी दिए । लामो समयदेखि काठमाडौंमा मात्रै उडान गर्दै आएको सिमरा विमानस्थललाई अन्यत्र जोड्न आवश्यकता रहेको उनको भनाई थियो । बारामा अन्तर्राष्ट्रिय विमानस्थल बन्न पाँच वर्ष लाग्ने भएकाले पनि त्यति समयसम्म सिमरा विमानस्थललाई एउटा विकल्पको रुपमा प्रयोग गर्न सकिने मन्त्री भट्टराईको भनाई थियो ।
'अन्तर्राष्ट्रिय विमानस्थल बन्न कम्तीमा पाँच वर्ष लाग्छ । तर यस विमानस्थलमा केही पूर्वाधार मात्रै थपिए विकल्पका रुपमा प्रयोग गर्न सकिन्छ, भट्टराईले भने, 'यो विमानस्थललाई देशका अन्य सहरमा पनि जोड्नुपर्छ, त्यसका लागि तयारी गरिरहेका छौं।'
मन्त्री भट्टराई अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने क्षेत्रको स्थलगत निरीक्षण गर्न आइतबार बारा आएका थिए । उनले अन्तर्राष्ट्रिय विमानस्थल बन्न कसैले रोक्न नसक्ने भन्दै सरकार त्यसका लागि प्रतिबद्ध रहेको बताएका थिए।
काठमाडौं फर्कनुअघि मन्त्री भट्टराई बाराको बरियारपुरस्थित गढीमाई मन्दिर र सिम्रौनगढ पुगेका थिए । पञ्चवर्षिय गढीमाई मेला सुरु भएको दोस्रो दिन पुगेका भट्टराईले गढीमाईमा धार्मिक पर्यटनको सम्भावना अधिक रहेकाले यसका लागि पनि आफूले योजना बनाउने बताए । मन्त्री भट्टराईले प्रदेश २ कै एतिहासिक स्थलहरुको पहिचान गरी त्यसको संरक्षण, प्रवद्र्धन र विकास गर्न जरुरी रहेको बताए ।
'प्रदेश २ मा धार्मिक पर्यटनको सम्भावना अधिक छ । प्रदेशका आठ वटै जिल्लामा एतिहासिक स्थल छन् । ति सबैको समग्र विकास गर्न गर्न सकिए धार्मिक पर्यटनको प्रमुख आधार बन्न सक्छ,' उनले भने, 'यो प्रदेशमा आउने पर्यटक २÷३ दिन रोकिउन र सबै क्षेत्र घुमेर फर्कन सकून् । अब त्यस्तो योजनाको खाका बनाएर काम सुरु गर्ने लक्ष्य छ ।'