गाउँगाउँमा ट्याक्सी सेवा
सन्धिखर्क : ट्याक्सी सेवा भन्नेबित्तिकै सहर नै सम्झिन्छ। तर, पहाडी जिल्ला अर्घाखाँचीमा भने यो सेवा गाउँगाउँ पुगेको छ। अन्य सवारीसाधनको रुट सेवा विस्तार नभएको क्षेत्रमा ट्याक्सी सहज साधन बनेको छ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका १ का मानबहादुर खनाल पाँच वर्षपछि मलेसियाबाट सन्धिखर्क आए। सन्धिखर्क ओर्लन नपाउँदै ट्याक्सी चाहिन्छ हजुर भन्दै झन्डै आधा दर्जन युवा बसको ढोका नजिकै आए। उनले भने, ‘ढाकाबाङको साम्ने गाउँ जाने हो। वर्षाको समयमा ट्याक्सी जान्छ’, चालकले भने, ‘अहिले सबैतिर ट्याक्सी जान्छ।’ उनी ट्याक्सीमै चढेरै घर पुगे।
अर्घाखाँचीका सबै क्षेत्र पहाडी भू–भाग भए पनि गाउँमा ट्याक्सी चढेर घुम्न पाइन्छ । बस र जिप चल्न नसक्ने सडकमा ट्याक्सी चल्छन्। एम्बुलेन्स, बस तथा जिपको काम ट्याक्सीले दिएका छन्।
रातीको १२ बजे सन्धिखर्कमा आए पनि गाउँको मानिसलाई सदरमुकाम होटलमा बस्नु पर्दैन। जुनै गाउँमा भए पनि ट्याक्सीले पुर्याउँछ। जिल्ला सदरमुकामका होटलमा बसेर रुम चार्ज र खाना खाने पैसाले घरमै पुग्छन्।
कोरियाबाट तीन वर्षमा घर आएका मालारानी ९ गोखुंगाका कमल बिक कच्ची सडकमा ट्याक्सी चढेर घरमै पुग्न पाउँदा दंग परे । ‘ श्रीमतीले बसपार्कमै कुरेर बसेकी रहिछन्’, उनले भने, ‘साँझ परेकाले होटलमै बस्नुपर्ला भनेको त, ट्याक्सीले डेढ घण्टामा घरमै लगिदियो ।’ तीन वर्षअघि उनी स्वदेश आउँदा ट्याक्सी नचले पनि अहिले सुविधा थपिएको उनले बताए ।
अर्घाखाँची सडकको हिसाबले देशकै नमुना जिल्ला मानिन्छ। जहाँ टोलैपिच्छे सडक खनिएका छन् । निजी लगानी र चन्दा उठाएर गाउँलेले आँगनमै बाटो पुर्याएका छन् । जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिकाका ६१ वडामध्ये अधिकांश गाउँका सडकमा ट्याक्सी गुड्छन् । बिरामी परेका बेला र अन्य कामले सदरमुकामबाट सबैले ट्याक्सी बोलाउँछन्। जिल्ला बाहिरबाट सन्धिखर्क आएका यात्रुले बजारमा रात बिताउनु पर्दैन ।
जिल्लामा झन्डै २ सय ट्याक्सीले सेवा दिइरहेका छन्। अर्घाखाँची ट्याक्सी व्यवसायी प्रालिमा १ सय १०, लंका यातायात प्रालिमा २९ ट्याक्सीले कालो नम्बर प्लेट राखेर यात्रुलाई सेवा दिइरहेका छन्। रातो प्लेटका ६५ ट्याक्सीले पनि सेवा दिइरहेका छन्। छिटो र छरितो भनेको ठाउँमा पुग्न सकिने भएकाले ट्याक्सीको प्रयोग बढेको अर्घाखाँची ट्याक्सी व्यवसायी प्रालिका अध्यक्ष महेन्द्र भुसालले बताए।सन्धिखर्क नगरपालिका वडा नम्बर २ चुत्राबेसीका दिनेशले जिल्लाका सबैजसो ठाउँमा ट्याक्सी कुँदाउँछन्। ‘खाल्डाखुल्डी र धूलो तर्काएर भए पनि यात्रुलाई गन्तव्यमा पुर्याउँछौं’, उनले भने, ‘गाउँका बाटा साँघुरा छन् । त्यसमा जिप तथा बस जान सक्दैनन् । हामी जान्छौं ।’ यात्रुले जतिबेला फोन गरे पनि सेवा दिन तयार रहेको उनले बताए ।
जिल्ला समन्वय समितिकाअनुसार २८ मुख्य, १६ सहायक स्तर, ५० गाउँस्तरीय र ९६ टोल स्तरीय र झन्डै आठ सय हाराहारी सडक छन् । यसबाहेक अरु चन्दा रेमिट्यान्सबाट टोल र घरआगनमा खनिएका सडक छन्। गोरुसिंगे सन्धिखर्क सडकको ६८ किलोमिटर पिच छ। सन्धिखर्क, वांगला बलकोट सडकको १५ किलोमिटर, सालझन्डी सन्धिखर्क ढोरपाटन सडकको सात किलोमिटर, धारापानी ढाकाबाङ प्युठान सडकखण्डको तीन किलोमिटर पिच छ। झन्डै दुई सय किलोमिटर ग्राभेल छ। अन्य सडक कच्ची छन्।
एक दशक अघिसम्म सन्धिखर्कमा ओर्लिएपछि भरियालाई भारी बोकाएर पैदल घर पुग्न दिनभर लाग्थ्यो । अहिले गाउँमा मोटरबाटो, बिजुली, इन्टरनेट सबै सुविधा छ ।