सडकमा आतंक
‘ट्वीँ ट्वीँ ’
टिपरले बजाएको चर्को हर्नसँगै अगाडि गुडिरहेका मोटरसाइकल, स्कुटर तर्से। एउटा रातो स्कुटर त तर्सेर बाटोमा लड्यो। धन्न छेउमा लडेकोले केही भएन। अलिकति मात्र चोट लाग्यो। अरू बाइक र स्कुटर त आफैं छेउ लागे।
टिपर आफ्नो ढाडमा टन्न बालुवा बोकेर बाटोमा तीव्र गतिमा हुइँकिरहेको थियो। उसलाई देखेर सडकका अन्य सवारीसाधनहरू आफैं छेउ लागे।
‘टिपर आयो। छेउ लाग।’ टिपरलाई देखेर एउटा बाइकले डराउँदै भन्यो र छेउ लाग्यो।
आपूmसँग बाइक र स्कुटरहरू डराएको देखेर टिपर खुसी भयो। ऊ झन् सडकको बीचमा, छेउमा जता मन लाग्यो त्यतै कुद्न थाल्यो। ठूलठूलो स्वरले हर्न बजाउन थाल्यो।
‘यो सडक मेरै हो। मलाई कसले रोक्न र छेक्न सक्छ ? ’ अभिमानले प्वाँक प्वाँक हर्न बजाउँदै उसले भन्यो।
उसलाई देखेर बाइक, स्कुटर डरले छेउ लागे। पछाडिका बाइक स्कुटर त्यसलाई उछिनेर अगाडि जान डराए।
एउटा स्कुटर आफ्नै गतिमा बिस्तारै बायाँतिरबाट अगाडि बढिरहेको थियो। पछाडिबाट द्रुत गतिमा आइरहेको त्यो टिपर देखेर त्यो झन् सचेत भयो र अझै छेउ च्याप्यो। अचानक टिपरले त्यसलाई छोयो। बिचरा स्कुटर अनियन्त्रित भयो। ऊ ढुनमुनाउँदै छेउमा रहेको बारतिर ढल्यो। त्यसलाई चोट लाग्यो। जिउ कोतरियो। पछाडिका बाइक, स्कुटर, ट्याक्सी, बस सबैले टिँ टिँ र ट्याँ ट्याँ हर्न बजाए। उनीहरू एकै स्वरमा कराए, ‘टिपरले हान्यो, टिपरले हान्यो।’ तर त्यतिबेलासम्म टिपर भागिसकेको थियो। गाडीको भीडभाडले बाटोमा जाम परेपछि ट्राफिक पनि आयो। तर टिपर भागिसकेकोले केही गर्न सकेन। कति नम्बरको टिपरले हानेको हो त्यो पनि पत्तो भएन। उनीहरूले लडेको स्कुटर उठाइदिए। त्यसपछि सबै आफ्नो बाटो लागे।
स्कुटरलाई हानेर भागेको टिपर केही समयपछि हस्याङफस्याङ गर्दै ग्यारेजमा आइपुग्यो। उसले मनमनै भन्यो,‘स्कुटरलाई के भयो होला ? धन्न भागेकोले बचेँ।’ आज मात्र होइन त्यो टिपरले धेरैपटक यस्तो दुर्घटना गरिसकेको छ। उसले बाइक, स्कुटरलाई त कतिपटक लडाइसकेको छ। ट्याक्सी, माइक्रोलाई पनि कतिचोटी हानिसकेको छ। तर अहिलेसम्म उसलाई समात्न सकेको छैन। त्यसैले पनि उसको चुरीफुरी बढेको छ।
एकदिन त्यो टिपर ढुंगा ओसार्ने काम गरिरहेको थियो। ऊ सडकै ढाकेर मनलाग्दी रूपमा कुदिरहेको थियो। तर त्यसलाई देखेर सडकमा कुदिरहेका अन्य दुईपांग्रे र चारपांग्रे सवारीसाधनहरू डरले आफैं छेउ लागिरहेका थिए। टिपरलाई धेरै टिप ढुंगा ओसार्नु थियो। त्यसैले ऊ हतारहतारमा ढुंगा टिप गर्दै ओसार्दै थियो।
ढुंगा पुर्याएर ऊ फेरि अर्को टिपको लागि फर्किरहेको थियो। त्यसैले ऊ हतारमा थियो। त्यसैले सडकमा निष्फिक्री कुदिरहेको थियो। सडकमा अरू पनि थुप्रै बस, माइक्रो, ट्याक्सी,बाइक र स्कुटरहरू आ आफ्नै लेनमा सीमित गतिमा कुदिरहेका थिए। तर टिपर आएपछि उनीहरू सतर्क भए र त्यसलाई छेउ लागेर बाटो छाड्न थाले। त्यसैक्रममा एउटा रातो स्कुटर पनि सडकको छेउ लागेर अगाडि बढिरहेको थियो। तर तेज गतिमा आएको टिपर भने बाटो ढाकेर अगाडि बढिरहेको थियो। आफू अगाडि पुग्न कहिले दायाँ त कहिले बायाँ लाग्थ्यो। ऊ स्कुटरलाई पनि उछिन्न खोज्दै थियो। त्यसैक्रममा अगाडि बढ्ने क्रममा त्यसको अगाडिको भाग(बम्पर) ले स्कुटीलाई छोयो। तेज गति अनि त्यत्रो चारी टिपरले छोएको हुनाले स्कुटर अगाडि हुत्तियो। त्यो त हावामा उडेजस्तै उड्यो र पर गएर बज्रियो। बज्रिएको स्कुटर त्यही सदाको लागि ढल्यो। यस्तो भयानक दुर्घटना भएपछि टिपर पनि आत्तिएर हडबडायो। ऊ पनि सडक छेउको बारमा ठोक्कियो।
‘टिपरले स्कुटीलाई हान्यो। त्यसलाई समात।’ टीँ टीँ गर्दै बाइकहरू कराए।
‘हो हो त्यो ज्यानमारा टिपरलाई नछाड्।’ अरू स्कुटरहरूले पनि टीँ टीँ गर्दै आक्रोश व्यक्त गरे।
‘समात समात त्यो ज्यानमारालाई।’ सडकको फुटपाथमा हिँडिरहेका मानिस पनि कराए। उनीहरूले इँटा, ढुंगा टिपेर टिपरमाथि बर्साउन थाले। सडकभरि सवारीसाधन र मानिसको आक्रोशित भीड जम्मा भयो।
‘यसलाई त आगो लाइदिनुपर्छ।’ भीडबाट कसैको आवाज आयो।
टिपरले बिन्ती गर्दै थियो। तर भीड झन् अनियन्त्रित भयो। त्यसमाथि आगो लाइदियो। आगो बिस्तारै बढ्न थाल्यो। त्यहीबेला साइरन बजाउँदै ट्राफिक पनि आइपुगे। भीडमा आक्रोश बर्सिँदै थियो। ‘टिपर आतंक बन्द गर।’ भनेर चिच्याउँदै थिए।
उनीहरूले आगो निभाउन कोसिस गरे। तर झन् दनदनी बल्यो। टायर, सिट झन् ह्वारह्वार्ती बल्न थाल्यो। बल्लतल्ल आगो नियन्त्रणमा लिन सफल भयो।
‘यसलाई हदैसम्मको कारबाही हुनुपर्छ ’ स्कुटरहरू कराए।
‘हुन्छ, हामी यसलाई कारबाही गर्छौँ। तपाईंहरू ढुक्क हुनुस्।’ ट्राफिकले जवाफ दियो।
त्यसपछि सडकमा रहेका गाडीहरू आफ्नो गन्तव्यमा लाग्न थाले। मानिस पनि आफ्नो बाटो लागे। केही समयपछि क्रेन आएर उक्त टिपरलाई उठाएर लग्यो।
प्रहरीले टिपरलाई दोषीको आरोपमा ज्यान मार्ने उद्योग गरेकोमा आजीवन कारावासको सजाय दियो र ठक्कर दिएर दुर्घटनामा परेको स्कुटरलाई क्षतिपूर्ति दिनुपर्ने निर्णय गर्यो।
सजाय पाएपछि त्यो टिपरलाई चारदोबाटोको खाली जग्गामा राख्यो। त्यसलाई मोटामोटा फलामे सिक्रीले बाँधिएको छ। ज्यानमारा टिपर भने सिक्रीले बाँधिएकोले लाजले घोप्टिएर बस्छ। त्यसको चुरीफुरी सब हराएको छ। जीवन बर्बाद भएको छ। त्यसभन्दा पनि अझ अर्को कुरा आजकल त्यो खण्डहर भएको छ। खिया लागेर खिइन थालेको छ। आजकल सडकमा गुड्ने हरेक सवारीसाधन र मानिसले सधैं त्यसलाई हेर्छन्। तर ज्यानमारा र अपराधी टिपर भने आफ्नो अपराधबोधले कसैलाई हेर्ने आँट गर्दैन। ऊ पश्चातापले जल्दै सबैले देख्ने गरी लाजले जमिनमा घोप्टिरहन्छ।