दर्शकले मलाई छुच्ची भन्छन्

दर्शकले मलाई छुच्ची भन्छन्

भाइबहिनी हो, मेरो नाम लक्ष्मी गिरी। तिमीहरूले मलाई चिनेका पनि हुन सक्छौं। टेलिसिरियलमा खेलको तिमीहरूले देखेका होलाऊ।

म काठमाडौंमै जन्मे, हुर्केको हुँ। मेरो बाल्यकाल पशुपति क्षेत्रमै बित्यो। पशुपति क्षेत्रभित्र वृद्धा श्रम अगाडि अस्पतालमा मेरो हजुरमुमाले काम गर्नुहुन्थ्यो। २०१६ सालमा स्टाफ नर्स पढेर मेरो हजुरमुमा देवकुमारी पौडल त्यो अस्पतालमा वार्ड भएर बस्नुभयो। पशुपति होमियोप्याथिकमा काम गर्न थाल्नुभयो। उहाँ नै मेरो प्रेरणाको स्रोत हो।

त्यतिबेला वागमती असाध्यै सफा थियो। वागमतीमा पौडी खेल्ने, नुहाउने गरिन्थ्यो। असला माछा नजिक आउँथे, रमाइलो लाग्दथ्यो। माछा समाउन खोज्दा एकदिन वागमतीमा डुबेको अझै बिर्सेको छैन।

गौरीघाटको एक स्कुलमा पढेँ। विजयसिंह सरले मलाई असाध्यै माया गर्नुहुन्थ्यो। त्यो स्कुल सिध्याएपछि शारदा निम्न माध्यमिक विद्यालयमा पढ्न गएँ। त्यो स्कुल अस्पताल नजिकै थियो। त्यतिबेलैदेखि म स्काउटमा सेकेन्ड ग्रुप लिडर भएर काम गर्थे।

त्यो बेला हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप हुन्थ्यो। नृत्य, गायन, वावविवादमा भाग लिन्थें। पहिलो वार्षिकोत्सवमा नेवारी र तामाङ सेलोमा डान्स गरेँ।

पढाइ र अतिरिक्त क्रियाकलाप चल्दै थियो। पढाइलाई पनि राम्रोसँग लगे। अहिलेको पढाइ ‘प्राक्टिकल’ भनिन्छ। अंग्रेजी राम्रोसँग पढ्न लगाइन्छ। तर त्यो बेलामा पढेका कतिपय कुरा अहिले आएर काम लागिरहेको छ। घोकेको कुरा कण्ठ हुँदोरहेछ, बिर्सिंदो रहेनछ। पहिलाको पढाइ केही राम्रो थियो, केही नराम्रो पनि थियो।

अहिले नैतिक शिक्षा पढाइ हुन्छ। त्यतिबेला पनि एकलव्यको कथा, पौराणिक कथा, सीताका कथा पढेर अनुशासित बन्न प्रेरित गथ्र्यो। बालबालिकालाई पिटेर, कुटेरभन्दा पनि यस्ता कथाले अनुशासित बनाउँछ। नैतिकवान् बनाउँदो रहेछ। मेरो पढाइ पनि असाध्यै राम्रो थियो। सबै विषय सजिला लाग्थे।

२०२८ सालमा नेपाल राष्ट्र बैंकमा जागिर खाएँ। पढ्न पनि पर्ने। त्यसो हँुदा मसँग भएको क्षमता दबिएको थियो। २०३८ सालमा नेपाल राष्ट्र बैंकको रजत महोत्सवमा मैले नाटक गर्ने मौका पाएँ। अडिसनमा म पहिलो भएँ। डबल ग्रेड पाएँ। राष्ट्र बैंकमा डबल ग्रेड पाउनेमा पहिलो महिला म नै होला।

त्यसपछि नाटक खेल्ने रहर जागेर आयो। २०४२ सालमा नेपाल टेलिभिजन स्थापना भयो। निजी क्षेत्रमा नाटकहरू स्थापना हुने क्रम सुरु भयो। प्रायजसो सबै नाटकमा मैले अभिनय गर्ने मौका पाएँ।

राष्ट्र बैंकमा जागिरका क्रममा समय व्यवस्थापन गर्न समस्या हुन्थ्यो। क्यासमा काम गर्ने गर्थें। हिसाब नमिले तनाव पनि हुन्थ्यो। सहकर्मी साथीहरूले रिसडाहा पनि गर्थे। सधैं बिदा लिएर नाटक खेल्न जान पनि समस्या हुन्थ्यो। अरूले बिदाको पैसा लिन्थे। मेरो बिदाको पैसा आउने अवस्था हुन्थेन।

त्यतिबेला चलचित्र उद्योग पनि व्यावसायिक बन्न सकेका थिएनन्। १५ दिन भनेर धेरै दिनसम्म झुलाउने चलन हुन्थ्यो। तर अहिले उद्योग क्षेत्र पनि व्यावसयिक बन्दै गइरहेको छ। एकदुई दिन यताउता हुनु स्वाभाविकै हो। अहिले समयमै काम सकिन्छ। यसो हुँदा समय व्यवस्थापन गर्न सजिलो हुन्छ।

सरकारले २०५० सालमा स्वेच्छिक अवकाशको अवधारणा ल्यायो। मैले कला क्षेत्रकै लागि भनेर राष्ट्र बैंकबाट अवकाश लिएँ। जागिर छोडे पनि घरमा बच्चाबच्ची हुर्काउँदै नाटक खेल्न थाले। त्यो नाटकले अमेरिका, बेलायत जाने मौका मिल्यो। मह सञ्चारमा बसेर नाटकको डाइलग कण्ठ गर्थे। मदन दाइ, हरि दाइहरूले मलाई धेरै माया गरेर सिकाउनुहुन्थ्यो।

कहिलेकाहीँ मध्यरातमा ब्यूँझिँदा पनि डाइलग कण्ठ पार्ने गर्थें। लगनशीलता, अनुशासन र धैर्यले सफलता प्राप्त हुँदो रहेछ। कला क्षेत्रले यिनै कुरा सिकाएको छ।

तर यति नै वर्ष अरू क्षेत्रमा लगाएको भए करोडपति नभए पनि लखपति हुन्थें होला जस्तो लाग्छ। नामले खान दिँदैन कि भन्ने लागेको छ। गल्ती गरियो कि भन्ने पनि कहिलेकाहीँ लाग्छ।

नेपालमा चलचित्रको बारेमा नीति बनेन। नीति बन्ने क्रममा दुई चारजना हाबी हुने भएकाले लामो समयदेखि क्रियाशील हुने कलाकार ओझेलमा परेका छन्। ३०÷३० वर्षसम्म काम गर्दा पनि मूल्यांकन नहुँदा दुःख लाग्छ।

२०४२ सालदेखि अहिलेसम्म टुक्रा सिरियल गन्ने हो भने दुई हजार पुग्छन् होला। १३ वटा मेगा सिरियलमा अभिनय गरेको छु। अहिले पनि टेलिसिरियलमा अभियन गरिरहेको छु।

तीतो सत्य, मेरी बास्सैलगायतका टेलिसिरियलमा अभियन गरेँ। कन्यादान, बलिदान, प्रेमपिण्ड, दर्पण, झोला, मुग्लान, दुनियाँ दर्पणछायाँलगायत डेढ सय फिल्ममा अभिनय गरिसकेँ। यी चलचित्र स्मरणलायक छन्। झोलाले नारी जातिमा जागरण ल्यायो। कीर्तिपुर लिजेन, सीमारेखा, रानी वसन्तीलगायत राजनीतिक पृष्ठभूमिका चलचित्र हुन्। दर्शक प्रतिक्रिया नराम्रो भेटेको छैन तर छुच्ची रोल खेल्दा दर्शकले व्यवहारमा देख्न थाल्नुभयो।

दर्शकले छुच्चीभन्दा, व्यवहार पनि त्यस्तै छ भन्दा नराम्रो लाग्छ। केही चलचित्रमा राम्रो भूमिका पनि छ। तर दर्शकले त्यो सम्झँदैनन्। कतिपयले छुच्छी भूमिका मलाई नै सुहाउँछ भनेर खोज्दै आउनुहुन्छ। अभिनयका क्रममा दीपकराज गिरी र शिव रेग्मीले भनेका कुरा अहिले मनन् गर्दैैछु। अहिले आफैंले आफैंलाई बुझ्दै छु। उनीहरूले ठीक भनेका रहेछन् भन्ने लाग्छ।

पछिल्लो समयमा बूढी मान्छेको भूमिकामा ‘स्टन्ट’ पनि गरें। रमाइलो लाग्यो। जयभोले र रातो टीकामा जस्तो छुच्चो भूमिकामा नदेखिने हो कि भन्ने सोच्दैछु। मेरो विचारमा छुच्ची पनि धेरै प्रकारका हुन्छन्। अब सभ्य छुच्चीको भूमिकामा अभियन गर्ने सोचमा छु।

भाइबहिनीहरू हो, तिमीहरूले मोबाइल खुब हेर्छाै होला। त्यसो गर्न हुँदैन। अहिलेका बच्चालाई मोबाइल नभई हुँदैन। अभिभावकले पनि फकाउनका लागि मोबाइल दिने गर्छन्। काठमाडौंमा खेल्ने ठाउँ पनि छैन। मोबाइल चलाउनुभन्दा प्रकृतिसँग खेल्न सकियो भने बालबालिका स्मार्ट बन्न सक्छन्।

सरकारले नीति बनाएर निश्चित उमेरका बच्चालाई मोबाइल नदिने नीति नल्याउने हो भने दुर्घटना हुन सक्छ। मोबाइलले बालबालिकाको आँखा बिगार्छ। मोबाइल हेर्दा ट्यालेन्ट हुन्छन्, त्यो राम्रो पक्ष पनि छ। तर छिटो बुझाइले पनि मनोविज्ञानमा असर पर्न सक्छ। मोबाइल मात्रै हेर्दा बच्चा मिक्सअप हुन सक्दैनन्। हामी प्रकृतिसँग धैरे खेल्यौं। अहिले खेल्ने ठाउँ छैन। सरकारले बालबालिकालाई खेल्ने ठाउँ बनाउनु पर्छ।

(कलाकार गिरीसँग तुलसी सुवेदीले गरेको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.