अवैध जडीबुटीसहित वन उपभाेक्ता समितिका अध्यक्ष र सचिव पक्राउ
बाजुरा : अवैध रूपमा जडीबुटी संकलन गरिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हिमाली गाउँपालिका १ बामु देवीडाँडा वन उपभाेक्ता समितिका अध्यक्ष राजबहादुर भण्डारी र सचिव बियलाल रोकाया रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
अवैध रूपमा जडीबुटी संकलन भइरहेको गोप्य सूचनाका आधारमा प्रहरी चौकी विच्छायाबाट खटिएको प्रहरी टोलीले अन्दाजी एक क्विन्टल कटुकीसहित दुई जना वन उपभोक्त समितिका पदाधिकारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक उद्धवसिंह भाटले जानकारी दिए।
अवैध रूपमा संकलित जडीबुटी वन उपभोक्ता समितिका उपाध्यक्ष गोर्ख भण्डारीको जिम्मा दिएर पक्राउ परेका दुवै जनालाई जिल्ला सदरमुकाम ल्याइएको भाटले जानकारी दिए।
बाजुरा जिल्लामा पाइने सेतकचिनी जस्तै कटुकी, पाँच औँले, भुल्तेलगायत करोडौंका जटिबुडी इजाजत पत्रबिना संकलन र हुम्ला, जुम्ला र कालिकोटतिर निकासी भइरहेको पटक–पटक सूचना आइरहने गरेका प्रहरीले जनाएको छ। तस्करले चोरी वार्षिक करोडौंका जडिबुटी अवैध ढंगले निकासी गरिरहेको प्रहरीको दाबी छ।