भीआईपी संस्कृति छाड्ने कि ?
व्यक्तिले आफ्नो वरिपरि राखेर शक्ति सञ्चय गर्ने नेपाली राजनीतिको पुरानो रोग हो। २४० बर्से शाही शासनकाल होस् वा १०४ बर्से राणाशासन वा तीसबर्से निर्दलीय पञ्चायती व्यवस्था होस्, सबै कालमा शक्ति जोगाउने वा हत्याउने खेलमा नै शासन क्रियाशील थियो। झन् २०४६ सालको परिवर्तनपछि यदाकदाबाहेक प्राय: सबैजना आफू नै सर्वेसर्वा हुनुपर्ने मानसिकताले जरो गाडेका नेताको नै बाहुल्य रह्यो। उनीहरू राष्ट्रका बारेमा सोच्नेभन्दा आफूले आफूअनुकूल चालेका कदमलाई नै राष्ट्रका लागि हो भन्ने साबित गर्न खोजे। त्यस्ता नेतालाई सजिलो पारिदिए गैरजिम्मेवार कर्मचारीतन्त्रले। त्यसैले त भ्रष्टाचार, अन्याय, अत्याचार र अराजकता फैलिँदै गयो। यी दुष्परिणामको सम्पूर्ण जिम्मेवारी राजनीतिक नेतृत्वले लिनुपर्यो तर धमिलो पानीमा माछा मार्नेहरू र कर्मचारीहरू भने चोखै निक्लिए। आज तिनै मानिस लोकतान्त्रिक गणतन्त्रलाई असफल पार्न तानाबाना बुन्दै छन्।
लोकतान्त्रिक गणतन्त्रको विकल्प लोकतान्त्रिक गणतन्त्र नै हो। व्यक्ति परिवर्तन हुन सक्छ व्यवस्था होइन। आफ्नो व्यापार र सम्पत्ति संरक्षणको सम्झौता गरेर बसेका व्यक्तिलाई उचालेर पुन: वंशवाद कायम गर्न सकियो भने जनताकहाँ जानै नपर्ने र सोझै मन्त्री प्रधानमन्त्री हुन् पाउने मनोकांक्षा बोकेका केही व्यक्ति अझै सक्रिय छन्। दुई सय मत पनि ल्याउन नसक्ने यिनको दिवास्वप्न कहिल्यै पूरा हुने छैन। यो त जुन २००७ सालको परिवर्तनपश्चात् धेरै वर्ष पुन: राणाशासन फर्काउँछु र फर्कन्छ भनेजस्तो मात्र हो। हिजो राजालाई कू गर्न उक्साउनेहरूका कारण आफू केही महिना मन्त्री भएबापत नेपालबाट राजसंस्था सदाका लागि बिदा भएको राम्ररी बुझेका छन्। अहिले राजाका नाममा राग गाएर हिँड्नेको हुती कति छ भन्ने राम्रोसँग बुझेका छन् जनताले।
२००७ सालको राणाशासनविरुद्ध आन्दोलन वा २०१७ सालको कूपछिको निरन्तर संघर्ष एवम् आन्दोलन, वा २०३६ सालको जनमत संग्रह गराउने आन्दोलन वा २०४६ सालको बहुदलीय व्यवस्था पुनस्र्थापना गर्ने आन्दोलन होस् वा २०६२-०६३ को आन्दोलन, यी सबै आन्दोलनको नेतृत्व नेपाली कांग्रेसले गरेको थियो। मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने माओवादी सशस्त्र संघर्षबाहेक करिब सबै आन्दोलनको नेतृत्व कांग्रेसलाई सबै पार्टीले स्वीकार गरेका थिए, किनकि यसको प्रजातान्त्रिक छवि थियो। विश्व जगत्ले हेर्ने दृष्टिकोण पनि त्यही थियो तर कांगे्रसले पार्टीभित्र र सरकारमा छँदा कहिले प्रजातान्त्रिक पद्धति अँगाल्न सकेन। बीपी, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको समयभन्दा पछि कांगे्रसले राम्रो उपस्थिति देखाउन सकेन। कांगे्रसको राजनीतिक पद्धति, संस्कार र संस्कृति मौलाउने मौका पाएको भए मुलुकमा विनाप्रतिसपर्धा प्रजातन्त्रको ताज पहिरिरहन पाएको कांग्रेस कमजोर हुँदैनथ्यो।
मधेसवादी दल वर्तमानमै सबै नेता छन् भने भविष्यमा त कोही उत्तराधिकारी हुन तयार नै छैनन् र हँुदैन पनि, राप्रपा प्रजातिका त न नेता न त कार्यकर्ता।
विगत हेर्ने हो भने २०१५ सालको पहिलो संसदीय निर्वाचनमा दुईतिहाइ बहुमत ल्याएको अवस्थामा बीपी कोइरालाले सुवर्णशमशेर राणलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए। तर सुवर्णशमशेरले बीपीकै नेतृत्वमा सरकार बन्नुपर्छ भनेर त्याग गरेका थिए। त्यसैगरी गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले पनि। वर्तमानमा हेर्ने हो भन्ने त्यो कांग्रेस अब कहाँ छ त ? ठूलो प्रजातान्त्रिक पार्टी राप्रपा प्रजातिको हालतमा पुग्ने त होइन ? राप्रपा प्रजाति यही आउँदोे मंसिर १४ गतेको उपनिर्वाचनपश्चात् लोकतान्त्रिक गणतन्त्रको इतिहासमा एउटा नाम लेख्नेबाहेक केही हुनेवाला छैन। परिवर्तनका संवाहक नेपाल कम्युनिस्ट पार्टी, कांगे्रस र मधेसवादी दल हुन्। वर्तमान विश्वलाई हेर्ने हो भने प्राय: धेरैे राष्ट्रमा दुइटा पार्टी वरिपरि नै त्यो राष्ट्रको राज्यसत्ता केन्द्रित हुन्छ।
त्यसैगरी केही वर्षभित्र नेपालमा पनि नेपाल कम्युनिस्ट पार्टी र कांगे्रस दुई पार्टी मात्र हुने देखिन्छ। वर्तमान हेर्ने हो भने पार्टी रहेन तर कतै भारतको कांगे्रस आईजस्तो कांगे्रस हुने त होइन भन्ने आम चर्चाको विषय बन्न पुगेको छ। महान् विचारक, प्राध्यापक, अधिवक्ता, अवकाशप्राप्त सैनिक, राजनीतिक कार्यकर्ता एवं दर्जनौं पुस्तकका लेखक अमेरिकन राल्फ नाडरले ‘नेताले नेता जन्माउँछ कार्यकर्ता जन्माउँदैन, बाघले बाघ जन्माउँछ बाख्रा जन्माउँदैन’ भन्नुभएको छ। यदि बाघले बाघ जन्माउन छाडेर बाख्रा जन्माउन थाल्यो भने त्यो बाघ नै रहेन बाख्रा भयो। सुगाले कागको बोली बोल्यो भने त्यो सुगा नै रहेन। नेताले नेता नजन्माई कार्यकर्ता मात्र जन्मायो भने त्यो नेता नै भएन। ऊ कार्यकर्ता भयो। सांसद होला, मन्त्री होला, प्रधानमन्त्री होला तर नेता होइन र नेता जोकोही हुनै सक्दैन। त्यसैगरी व्यक्तिको प्रमुख शिक्षक नै उसको अन्तिम गल्ती हो। नेताहरू नेता जन्माउन छाडेर कता लाग्ने ? आफ्नो गल्ती सच्याउन कहिले लाग्ने ? यो जटिल प्रश्न हो, खप्तड स्वामीले भन्नुभएजस्तै जबसम्म मानिसले आफूलाई चिन्दैन र विश्व बदल्न आफू बदलिँदैन तब समाजसेवा भ्रम मात्र हो।
कांगे्रसका आम कार्यकर्ता कांगे्रसमा नेता नै भएन भन्न थालेका छन्। नेता भएको भए किन आफ्नो बहुमत हँुदाहँुदै मध्यावधि निर्वाचनमा गयो ? आफ्नै प्रधानमन्त्री किन हटायो ? कृष्णप्रसाद भट्टराईलगायत स्वाभिमानी कांगे्रस नेतालाई किन अन्तरघात गर्यो ? अहिल्यै पनि समयमा महाधिवेशन किन हुन सकेको छैन ? हो, यस्ता हजारौं प्रश्नहरूका कारण स्वाभिमानी कार्यकर्ता पलायन हँुदैछन्। यसको प्रमुख कारण केन्द्रदेखि तल्लो स्तरसम्म गुट तथा उपगुट हुनु हो। जहिले पनि कांगे्रस सरकारमा हुँदाजति नियुक्ति भए वा पार्टीको प्रमुख पदमा नियुक्ति भए ती सबै कुनै न कुनै खेमा वा गुटका व्यक्ति भए।
स्पष्ट रूपमा भन्नुपर्दा प्रथम त गुटको सदस्य हुनुपर्यो, त्यसपश्चात् मात्र कांगे्रस तसर्थ अब कांगे्रसमा नेतृत्वकर्ता आफ्नै नेता छैन भन्छन् भने उसले नेता जन्माउन गाह्रो छ। इमानदार कांगे्रसहरू अन्य पार्टीमा पलायन हुनु स्वाभाविकै हो। नेपाल कम्युनिस्ट पार्टीमा दोस्रो तहमा नेतृत्व दिन सक्ने नेता देखिएका छन्। त्यसैले त आमजनताले करिब दुईतिहाइ मतका साथ सरकारमा पठाएका हुन्। त्यो विश्वास कायम राख्न जनतासँग बढीभन्दा बढी साक्षताकार गरी भीआईपी संस्कृति र विलासी जीवन छाडी जनताकै हितमा लाग्नुपर्छ। मधेसवादी दल वर्तमानमै सबै नेता छन् भने भविष्यमा त कोही उत्तराधिकारी हुन तयार नै छैनन् र हँुदैन पनि। राप्रपा प्रजातिका त न नेता न कार्यकर्ता।