महरा उच्च अदालत पाटनमा
काठमाडौं : काठमाडौं जिल्ला अदालतको पुर्पक्षमा जेल पठाउने आदेशविरुद्ध निवर्तमान सभामुख कृष्णबहादुर महरा उच्च अदालत पाटन पुगेका छन्। बिहीबार उच्च अदालत पाटनमा पुगेर महराले काठमाडौं जिल्ला अदालतको आदेश त्रुटिपूर्ण भएको भन्दै निवेदन दिएका हुन्।
महराले निवेदनमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्नेगरी भएको आदेश गैरकानुनी भएको भन्दै अदालतमा निवेदन दिएको पाटन उच्च अदालतका प्रवक्ता मोहन सुवेदीले जानकारी दिए।
‘पुर्पक्षका लागि थुनामा राख्नेगरी भएको ओदश गैरकानुनी रहेको र बेरितको आदेश बदर गर्न माग गर्दै निवेदन दर्ता भएको छ’, प्रवक्ता सुवेदीले भने, ‘महराको निवेदनमा साधारण तारेखमा बस्न पाउनुपर्ने माग गर्नु भएको छ।’
सुवेदीका अनुसार महराको निवेदनको प्रारम्भिक सुनुवाइ शुक्रबारका लागि तोकिएको छ। उच्च अदालतले जिल्लाको आदेश र मिसिल झिकाएर शुक्रबारबाटै सुनुवाइ सुरु गर्नेछ।
महरामाथि संघीय संसद्को सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबरजस्ती करणी गरेको प्रारम्भिक प्रमाण भेटिएको भन्दै काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको हो।
महराको निवेदनको सुनुवाइ गर्दै उच्च अदालतले महरालाई जिल्ला अदालतको आदेश सदर गर्ने वा बदर गर्ने निर्णय गर्नेछ।