नेपालमा धुमपान : मासिक हजार ५० रुपैयाँ चुरोटमै खर्च !
काठमाडौं : कलिलै उमेरमा धुमपान एवं मद्यपान गर्ने प्रवृत्तिले नसर्ने रोगको जोखिम बढाएको छ। टिन एजदेखि नै सुर्तीजन्य पदार्थ र मद्यपान सेवन गर्नेको संख्या बढ्दा क्यान्सर र मुटुरोगको जोखिम बढाएको हो।
नेपालमा नसर्ने रोग सम्बन्धि जोखिम तत्वको सर्वेक्षण, २०१९ अनुसार दैनिक भोजन पर्याप्त पोषणयुक्त नभएको र शारीरिक क्रियाकलापमा कमी आएको देखिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदका डा. मेघनाथ धिमालका अनुसार, चुरोट भन्दा पनि खैनी एवं गुट्का खानेको संख्या बढिरहेको छ।
परिषदले १५ वर्षदेखि ६९ वर्ष उमेर समूहका वयस्कको जनसंख्यामा आधारित सर्वेक्षणमा खराब आहारविहारकै स्वास्थ्य जोखिम बढेको तथ्य खुलेको छ। सबैभन्दा बढी प्रदेश ५ मा सुर्तीजन्य पदार्थका अम्मली फेला परेका छन्। त्यसपछि सुदूरपश्चिम क्षेत्रमा धूमपान गर्ने देखिएका छन्। सुर्तीजन्य पदार्थ सेवन गर्नेहरु प्रदेश ५ मा ३६ दशमलव ६ प्रतिशत देखिएका छन। सुदूरपश्चिम क्षेत्रमा भने ३३ दशमलव ८ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गरिरहेको पाइएको छ। प्रदेश २ र कर्णाली प्रदेशमा सुर्तीजन्य पदार्थ सेवन गर्ने २९ दशमलव ७ प्रतिशत देखिएका छन।
किशोरावस्था नै सुर्तीजन्य पदार्थको सेवन गर्ने प्रवृत्ति देखिएको डा. धिमालले जानकारी दिए। १८ वर्षपछि धुमपानको सुरुवात गर्ने बानी देखिएको छ। यसैगरी गण्डकी प्रदेशमा २५ दशमलव ९ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गरेको पाइएको छ। त्यस्तै प्रदेश १ मा २२ दशमलव ८ र प्रदेश ३ मा २२ दशमलव २ प्रतिशत धुमपानका अम्मली फेला परेका छन।
अम्मलीले महिनामा चुरोटका लागि एक हजार ५० रुपैयाँ खर्च गर्ने गरेको पाइएको छ। मद्यपान सेवन गर्नेको संख्या झण्डै ६८ प्रतिशत रहेको स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ।
धुमपान एवं मद्यपान गर्नेलाई क्यान्सर, उच्चरक्तचाप र मुटुसम्बन्धी समस्याले सताउने विज्ञ बताउँछन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) एवं स्वास्थ्य अनुसन्धान परिषदले गरेको सर्भेक्षणमा पाँच हजार ५ सय ९३ जना वयस्क सहभागी थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले वयस्क निस्क्रिय र अल्छिपना देखिएको बताए। खानपान र आहारविहारकै रक्तचापलगायतका समस्या बढेको श्रेष्ठले बताए।
डब्लूएचओका नेपाल प्रतिनिधि डा. जोस भेन्डेलरले नसर्ने रोगको जोखिमबाट जोगिन व्यवहारमा परिवर्तन गर्नुपर्ने बताए। उनले भने,‘कलिलै उमेरमा धुमपानमा खर्च गर्ने प्रवृत्तिले रोगको जोखिम बढाएको छ।’